रघुगंगाको पाखापानीमा महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ कार्यक्रम

0
Shares

म्याग्दी ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा आज (शनिवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित ‘महिला सशक्तीकरणमा महालक्ष्मी लाइफ’ अभियानको बारेमा अन्तत्र्रिmया गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले महिलाहरुमा आर्थिक सशक्तीकरण हुन जरुरी रहेकोमा जोड दिनुभयो । उहाँले गरिबी तथा विपन्न र आर्थिक परनिर्भरताको कारण समुदायमा महिला हिंसा हुनेहुँदा हिंसाको न्युनीकरण गर्न आर्थिक रुपमा सक्षम हुनुपर्ने बताउँदै बीमाले गरिबी तथा हिंसाको न्युनीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले महिला तथा आर्थिक सशक्तीकरण, बीमाको जानकारी, बचत तथा लगानी गर्ने बानीको विकास, सचेतनालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । उहाँले एउटा गृहिणी महिलाले स–सानो बचत कसरी सङ्कलन गर्ने र त्यसलाई लगानीमा कसरी परिचालन गर्ने भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।

 

कार्यक्रममा पाखापानीका वडा सदस्य दलप्रसाद पुन र अमर माविका शिक्षक सरला पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम चेतनशील आमा समूह कोटगाउँका अध्यक्ष बेसरी पाईजाको अध्यक्षता, महालक्ष्मी लाइफ इन्स्योरेन्सका अभिकर्ता तथा भूमे आमा समूह पाखापानीका अध्यक्ष भीमा पाईजा पुनको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पाखापानीका ५० जनाले सहभागिता जनाएका थिए ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको तालिम कार्यक्रम देशका २१ जिल्लामा सम्पन्न गरी दोस्रो चरणको अन्तत्र्रिmयाको सुरुवात गरेको जनाएको छ । गएको पुस ४ गते चितवनको सौराहबाट सुरु भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘महिला सशक्तीकरणमा – महालक्ष्मी लाइफ’ तालिम कार्यक्रम म्याग्दीमा पहिलो पटक अन्नपूर्ण गाउँपालिका–६, घारबाट सुरु भएको थियो ।

इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व अन्तर्गत गत आर्थिक वर्ष २०७७/०७८ मा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रमको सञ्चालनपछि इन्स्योरेन्सले यसवर्ष ‘महिला सशक्तीकरणमा – महालक्ष्मी लाइफ’ नामक कार्यक्रम सुरु गरेको हो । समाजमा पिछडिएका र आर्थिक रुपमा कमजोर रहेका महिलालाई अगाडि बढाउन यस्ता कार्यक्रम फलदायी हुने अपेक्षा समेत गरिएको छ ।