घोराही।
घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी–२०७९’ मा कृषि स्टलहरुमा कृषि सामाग्रीहरु आकर्षणको केन्द्र बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखि जारी प्रदर्शनीमा दाङको विभिन्न स्थानका कृषक समूहरुले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिएको छ ।
प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगबाट उत्पादन गरिएका वस्तुहरु राखिएको छ भने कृषकहरुले उत्पादन गरेको वस्तुहरु प्रदर्शनीका लागी राखिएको छ । साथै साना तथा घरेलु उद्योगहरु स्थापना, उत्पादन र बजारिकणका बारेमा सचेतनामूलक पर्चा पप्लेटहरु पनि प्रदान गरिएको छ ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको स्टल न. १ सय १२ मा अर्गानिक कृषि उपज तथा प्रशोधन केन्द्र घोराहीले उत्पादन गरेको अचार, कागती, खुर्सानी, लसुन, करेला, अमारो, गोभी, मुला, काक्रो कृषि बिउ बिजन राखिएको छ ।
गैरागाँउ क्वाडी कृषि समूह घोराही १७ लगायत कृषक समूहले उत्पादन गरेका कृषि सामाग्रीहरु राखिएको छ । जसमा फुलगोबी, बन्दागोबी, गाठगोबी, मूला, रायो साग, फर्सी, ब्रो–काउली, टमाटर, आलु, चुकन्दर, हरियो मकै, लसुन, स्थानीय सिमजरा धान र चामल, तिल्की धान र चामल, चिन्ने धान र चामल, दंगाली तोरी, स्थानय रैथाने मकै, तीन पाखे धान, सेतो तिल, कालो तिल, स्थानीय भैँसीको घ्यू, सिलाम, भटमास लगायतका सामाग्रीहरु अवलोकनका लागी राखिएको छ भने बिउ बिजन सम्बन्धी जानकारीमूलक फ्लेक्सहरु राखिएको छ । जसमा अवलोकनका लागी दर्शकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । स्टलमा समूहका सदस्यहरुको आलोपालो डिउटी हुने गरेको छ ।
स्टल न. १ सय ११ मा आचार्य फुड इन्डस्ट्रीज घोराहीले भांगो, तरकारी/मासु मसला, बेसार, कालो चामल, मरीचको धुलो, चिया मसला, जिरा धनियाँ, तिल्की चामल, मकैको आँटो राखेको छ ।
यस्तै जलजला पुष्प खेती घोराही १४ झिगौराले विभिन्न प्रजातिका पुष्पको बिरुवाहरु एवं पुष्पसम्बन्धी जानकारीमूलक पप्लेटहरु राखेको छ । स्टल न. ७ मा एकता महिला विकास बहुउद्देश्यीय सहकारी फुर्सेखालीले उत्पादन गरेको धुलो बेसार राखिएको छ ।
स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमिकता दिएर निःशुल्क रुपमा स्टलहरु प्रदान गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ । जसमा उद्योगी एवं कृषकहरुले उत्साहका साथ स्टलहरु सञ्चालन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
शनिवार हजारौँ दर्शकको उपस्थिति
प्रदर्शनीमा शनिवार हजारौँ दर्शकहरुको उपस्थिति रहेको छ । एघारौँ दिन शनिवार प्रदर्शनीमा १२ हजार बढी दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको सचिवालय संयोजक लव अधिकारीले जानकारी दिनुभयो । शनिवार कलाकारहरु चक्र बम, टीका सानु, रेश्मा पुन साखिरा मगर, शान्तराम सेन्चुरी लगायत कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
आइतबार शिव परियार आउने
प्रदर्शनीमा आइतबार सुगम सङ्गीतका चर्चित गायक शिव परियारको प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रिय गायक शिव परियारको प्रस्तुति आइतबार हुने सांस्कृतिक समितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो । परियारसँगै कृष क्षेत्री, अवन्तिका सुनार, प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
प्रतिक्रिया