आठौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनी नगरपालिका च्याम्पियन (तस्बिरसहित)



म्याग्दी ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शनिवार सदरमुकाम बेनीमा सम्पन्न आठौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बेनी नगरपालिका च्याम्पियन भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित शुक्रवारदेखि बेनीमा सञ्चालित प्रतियोगितामा अन्य पालिकाहरुलाई उछिन्दै बेनी नगरपालिका च्याम्पियन बनेको हो ।

छात्र तथा छात्रा भलिबल र कबड्डी प्रतियोगिता एवं एथ्लेटिक्सतर्फका विभिन्न खेलहरुमा सहभागी भई समग्रमा कुल १५ स्वर्ण, ७ रजतपदक र ८ कास्यसहित बेनी नगरपालिका प्रथम भएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यसैगरी ५ स्वर्ण, ७ रजतपदक र ३ कास्यसहित अन्नपूर्ण गाउँपालिका द्वितीय भएको छ भने ५ स्वर्ण, ३ रजतपदक र ४ कास्यसहित मंगला गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

यसैगरी छात्र भलिबलतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्वितीय भएकोमा छात्रा भलिबलमा मंगला गाउँपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्वितीय हुन सफल भएका छन् । त्यस्तै कबड्डी प्रतियोगितामा छात्रतर्फ अन्नपूर्ण गाउँपालिका प्रथम भएको छ भने बेनी नगरपालिका द्वितीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले बताउनुभयो ।

एथ्लेटिक्सअन्तर्गत दौड प्रतियोगिता, हाईजम्प तथा लङजम्पलगायत प्रतियोगिताहरु सञ्चालन भएका थिए । एक्लेटिक्सतर्फ मंगला माध्यमिक विद्यालय बाबियाचौरको कक्षा ८ मा अध्ययनरत छात्रा रिक्जना माझी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने पालिकालाई क्रमश: २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ । विजयी हुने पालिका, खेलाडी तथा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र अफिसियलहरुलाई समेत पुरस्कृत एवं सम्मान गरिएको थियो ।

विजयी पालिका र खेलाडीहरुलाई प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, गण्डकी खेलकुद परिषदको पोखरा कार्यालय प्रमुख तोपलाल भूषाल, जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसी, पूर्व अध्यक्षद्वय कृष्णकुमार विश्वकर्मा, रमेशकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुका साथै सम्मान गर्नुभएको थियो ।

विद्यार्थीहरुमा लुकेर रहेको खेल प्रतिभाको उजागर गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा विभिन्न विधा गरी कुल ३० वटा स्वर्णमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताबाट छनोट हुने खेलाडीलाई आउँदो फागुन २० र २१ गते पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्