ट्रान्सफ्याट युक्त खानेकुरा बहिस्कार गर्नुपर्नेमा विज्ञहरुको जोड



काठमाडौँ।

ट्रान्सफ्याटयुक्त चिल्लो पदार्थ मानव शरीरको लागि कति हानिकारक छ र बजारमा पाइने जिब्रो रसाउने खानेकुरा त झन् मानव स्वास्थ्यको लागि विषादी नै प्रमाणित भइसक्दा पनि नेपाल सरकारले यस्ता खाले उद्योगलाई व्यवस्थित र मर्यादित बनाउन नसकेको विषयमा बिज्ञहरुले गम्भीर छलफल सुरु गरेका छन् ।

शुक्रवार नेपाल हृदय रोग निवारण प्रतिष्ठानले आयोजना गरेको ‘नेपालमा खाद्य पदार्थमा ट्रान्सफ्याटको मात्रा सीमित गर्ने कानुनी प्रावधानको खाँचो’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा ‘ट्रान्सफ्याट इलिमिनेशन पोलिसी एड्भोकेसी’ परियोजनाका कार्यक्रम निर्देशक एवं मुटु सर्जन डा. प्रेमराज वैद्यले गत वर्ष मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कानुन निर्माणमा भएका प्रयास र वर्तमान अवस्थाका बारेमा प्रकाश पार्नुभयो ।

उहाँले भन्नु भयो–साधारण भाषामा ट्रान्सफ्याट भनेको खाद्य पदार्थमा हुने अति खराब चिल्लो हो यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भनिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । एउटा प्राकृतिक ट्रान्सफ्याट र अर्को कृत्रिम ट्रान्सफ्याट । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ ।
जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट थोरै मात्रामा हुने भएकाले ठिक्क प्रयोग गर्दा खासै हानि हुँदैन । कृत्रिम ट्रान्सफ्याट वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पुर्‍याउँछ । यस्तो खालको चिल्लो पदार्थ कोठाको सामान्य तापक्रममा जम्ने गर्छ ।

ट्रान्सफ्याट धेरै भएको खानाबाट युवा अवस्थामा नै खराब कोलेस्ट्रोल बढ्ने, मोटोपना, उच्च रक्तचाप, मधुमेह आदि समस्या भई नसर्ने रोगहरु जस्तै हृदयाघात, मस्तिष्कघात र केही क्यान्सरका रोगहरु उत्पन्न हुन्छनन् । विश्वमा वर्षेनी ५ लाख बढी व्यक्तिको ज्यान जाने गरेको भन्दै त्यसलाई जोगाउन पनि ट्रान्सफ्याट युक्त खानेकुरा बहिस्कार गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका थिए ।

नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको निर्देशनमा टेकेर ट्रान्सफ्याटयुक्त वनस्पति घिउ र तेल उत्पादनमा नियन्त्रण गर्ने कानुन सन् २०२३ भित्र बनाइसक्ने भन्दै २०७८ माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको भएपनि हाल सम्म कानुनको ड्राफ्ट बन्दै गरेको कानुन मन्त्रालयले जनाएको छ । ‘नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१ – २५’ मा कानुन बनाउने मुद्दा समेटिएको छ । सो कार्य योजनाको एउटा बुँदामा सन् २०२३ भित्र खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य रहेको उल्लेख छ ।

डा.वैद्य भन्नुहुन्छ–‘नीति बनाउनका लागि विभागलाई सहयोग गर्दै आयौँ । विभिन्न सरोकारवाला पक्षसँग नियमित रुपमा छलफल सरसल्लाह र सुझाव लिने काम गरायौँ । अहिले विभागले नयाँ नीतिका लागि मस्यौदा तयार गरेको अवस्था छ ।’ सरकारको यो निर्णयका आधारमा नेपालमा अबको दश महिना भित्रै औद्योगिक खाद्य पदार्थहरुमा ट्रान्सफ्याटको मात्रा बढीमा २ प्रतिशतमा कायम गर्नु पर्ने हुन्छ । नसर्ने रोग गराउने प्रमुख कारकहरुमध्ये एक ट्रान्सफ्याटयुक्त अस्वस्थ कर खाना हो ।

नसर्ने रोगको प्रमुख कारणहरुमा धूमपान, मध्यपान, शारीरिक व्यायामका साथ ट्रान्सफ्याट युक्त खाना पनि भएको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरिसकेको छ । ट्रान्सफ्याट नियन्त्रणका लागि नीति कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने जिम्मेवारी कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको रहेको र सोही अनुरुप काम अघि बढेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।

उहाँले नीतिगत रुपमा भएका प्रयास र खाद्य सुरक्षाका लागि विभागले प्रतिष्ठान र विश्व स्वास्थ्य संगठनको सहयोगमा ट्रान्सफ्याट सम्बन्धी नयाँ ऐन ल्याउन मस्यौदा तयार भइसकेको जानकारी दिनुभयो ।  खाद्य सम्बन्धी ऐन २०२३ को दफा ७ मा भएको व्यवस्था अनुसार  अहिले ७७ वटै जिल्लामा खाद्य निरीक्षक तोके बमोजिम टीपीएम मेसिनबाट होटलहरुले पक्वानाका लागि प्रयोग गर्दै आएको तेलको गुणस्तर जाँच गर्ने काम सुरु गरिसकेको छ । टीपीएम मेसिनले पक्वानका लागि प्रयोग भएको तेलमा डुबाउने बित्तिकै ट्रान्सफ्याटको मात्रा कति रहेछ भनेर देखाउने पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा कानुनका विज्ञ एवं पूर्व मुख्य सचिव तीर्थमान शाक्यले ट्रान्सफ्याट सम्बन्धी कानुन निर्माण गर्नु ठुलो कुरा होइन कानुनको कार्यान्वयन महत्त्वपूर्ण कुरा हो भन्नुभयो ।

सोही अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्ष दीपेन्द्र पुरुष ढकालले भारत र बङ्गलादेशले ट्रान्सफ्याट सम्बन्धी नीतिमा कार्यान्वयनमा ल्याइसकेकोले नेपाललाई नीति बनाई लागू गर्न सहज हुने बताउनुभयो ।

प्रतिष्ठानका पूर्व अध्यक्ष एवं कार्यक्रम निर्देशक डा प्रकाशराज रेग्मीले कानुन बनाउन प्रतिष्ठानले सरकारलाई लामो समय देखि दबाब दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपानेले प्रतिष्ठानले नसर्ने रोगविरुद्धका अभियानमा पैरवी गर्दै आएको बताउनुभयो ।

डा. वैद्यले सहभागीहरलाई ट्रान्सफ्याटका बारेमा विस्तृत जानकारी गराउँने क्रममा भन्नुभयो–फ्याट अर्थात् फ्याटि एसिड दुई किसिमका हुन्छन् । एउटा स्याचुरेटेड र अर्को अनस्याचुरेटेड । तेललाई जति धेरै तताइन्छ स्याचुरेटेड फ्याट त्यति धेरै वृद्धि हुँदै जान्छ । घिउ, बोसोमा भने नतताईकन नै स्याचुरेटेड फ्याट हुन्छ । अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुन्छ । एउटा पोलीअनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनोअनस्याचुरेटेड फ्याटी एसिड ।  मोनोअनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिसफ्याट । यसमध्ये ट्रान्सफ्याट धेरै हानिकारक हुन्छ ।

ट्रान्सफ्याट मिसिएका खाना खाँदा मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पुर्‍याउने गरेको र यसले मानिसको मृत्युदर बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध लगाउने अभियान विश्वभर सुरु गरिएको हो । पहिले हामी अनस्याचुरेटेड फ्याट वा वनस्पति तेलहरुलाई राम्रो भन्थ्यौँ । यही तेलहरुमा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई वनस्पति घिउ (डाल्डा) भन्ने गरिन्छ । यो वनस्पति घिउ निकै खराब हुन्छ । त्यसमा ट्रान्सफ्याट ३५ देखि ६५ प्रतिशतसम्म हुन्छ । यसले मानव स्वास्थ्यमा प्रत्यक्ष हानि पुर्‍याउँछ ।

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातनिकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई मिलाएर खानु सुरक्षित मानिन्छ । ट्रान्सफ्याट धेरै भएको खानेकुराले मानिसको शरीरमा कोलेस्ट्रोल मात्रा बढ्ने गर्छ । जस्तै मानवलाई फाइदा गर्ने कोलेस्ट्रोल एचडीएल घटाउँछ र खराब गर्ने कोलेस्ट्रोल एलडीएल बढाउँछ ।

अहिलेसम्म पत्ता लागे अनुसार वृद्धि भएको यही कोलेस्ट्रोल जमेर धमनीमा अवरोध गर्छ र हृदयाघात पनि हुन सक्छ । २ प्रतिशत भन्दा कम ट्रान्सफ्याट भएको तेल खान मिल्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यता कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने गरेको डा वैद्य बताउँनुहुन्छ । उहाँले ट्रान्सफ्याट युक्त तेल – घिउमा बनाइएका मिठाई, सेल, माल्पुवा, ग्वारमरी, पुरी, जेरी, स्वारी, हलुवा लगायत अन्य तयारी जंक फुडहरू नखानु नै राम्रो हुने बताउनुभयो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ट्रान्सफ्याट सबैभन्दा धेरै प्रयोग हुने १० वटा देशहरुमा नेपाल पनि पर्दछ । सन् २०१० मा नसर्ने रोगहरुबाट मर्नेहरुको संख्या कुल मृत्युको ५१ प्रतिशत थियो भने सन् २०१६ मा यो बढेर ६६ प्रतिशत पुगेको छ । उपलब्ध तत्थ्यांक अनुसार ३० प्रतिशत मृत्यु मुटुका रोगहरुबाट, ९ प्रतिशत क्यान्सरबाट, ३ प्रतिशत मधुमेहबाट, १० प्रतिशत दम खोकीबाट र १३ प्रतिशत अन्य प्रकारका नसर्ने रोगबाट हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्म विश्व बजारमा उपलब्ध भएका खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम बनाउने लक्ष्य तय गरेको उल्लेख गरिएको छ । अहिलेसम्म विश्वका ४५ भन्दा बढी मुलुकहरुले नीति कार्यक्रम र कानुनी प्रावधान मार्फत यो लक्ष्य पुरा गरेका छन् । दक्षिण एसियामा पनि भारत र बङ्गलादेशले ट्रान्सफ्याटलाई २ प्रतिशतमा सीमित गर्ने नीति पारित गरिसकेका छन् । नेपालले भने भर्खर कानुनको मस्यौदा कोर्दै छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्