फरार अभियुक्तविरुद्ध पर्सा प्रहरीको एक्सन

0
Shares

वीरगन्ज । 

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहँदै आएका प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको छ। प्रहरीले माघमा फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान नै चलाएर उनीहरूलाई पक्राउ गर्न थालेको हो।

अभियान चलाइएपछि माघमा फरार अभियुक्त र प्रतिवादीको पक्राउ संख्यामा पनि वृद्धि भएको छ। पर्सा प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार माघमा प्रहरीले विभिन्न किसिमका अपराधमा संलग्न भई फरार रहँदै आएका १ सय ९१ जना अभियुक्त र अदालतबाट सजाय पाएर फरार रहँदै आएका १६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।  पुसमा ३५ जना फरार प्रतिवादी र ८ जना अभियुक्त पक्राउ परेका थिए। माघमा पक्राउ परेका अभियुक्त र प्रतिवादीसित १८ वर्ष १० महिना २० दिन कैद र चार लाख १४ हजार २ सय ६८ रुपैयाँ जरिवाना असुलउपर गरिएको पर्सा प्रहरीले जनाएको छ।

माघमा अभियान नै चलाएर फरार रहेका अभियुक्त र प्रतिवादीलाई पक्राउ गरिएकाले यस्ता अभियुक्त र प्रतिवादी पक्राउ संख्या बढेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले फरार अभियुक्त र प्रतिवादी पक्राउ अभियान अहिले पनि जारी रहेको बताउनु भयो । ‘हामीले माघमा केही समय अन्य काम छाडेर फरार अभियुक्त र प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएर समातेका थियाँै। यो अभियान अहिले पनि जारी रहेको बताउनुभयो ।’ उहाँले भन्नु भयो।