अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा पर्वतका तीन पालिकामा सहयोग 



दुबई। 

प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका तीन वटा पालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको छ ।

समाजले पर्वतको जलजला, पैंयू र फलेबास नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको छ ।

फलेबास नगरपालिकामा समाजको सहयोगमा वडा नं १ कार्किनेटामा एम्बुलेन्स खरिद गरिनेछ । एम्बुलेन्स खरिदका लागि ८ लाख रुपैयाँ समाजले सहयोग गरेको छ भने अन्य रकम नगरपालिकाले थप गर्ने समझदारी भएको समाजका परियोजना संयोजक तथा संस्थापक महासचिव गुणराज शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी पैंयू गाउँपालिकामा शव बहान खरिदका लागि पनि समाजले ८ लाख रुपैयाँ सहयोग गरेको छ । पैंयू गाउँपालिका वडा नं ४ हुवासमा पालिकाले नै सञ्चालन गर्ने गरी समाज संग सम्झौता भएको वडा नं ५ का अध्यक्ष नारायणप्रसाद भुर्तेलले बताउनुभयो ।

समाजको सहयोगमा जलजला गाउँपालिकाले भने शिक्षालाई प्रविधिमैत्री बनाउन काम गर्ने भएको छ । गाउँपालिका भित्रका विद्यालयमा डिजिटल बोर्ड खरिद गर्नका लागि समाजले दिएको ८ लाख प्रयोग गर्ने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

पालिकाले गाउँमा रहेका सामुदायिक विद्यालयमा शैक्षिक सुधारका कार्यक्रमहरु लागू गर्दै आएको छ । त्यसका लागि सबै विद्यार्थीलाई डिजिटल बोर्डबाट अध्ययन, अध्यापन गराउने योजना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्