भागेश्वर गाउँपालिकाको स्थायीमुकाम सर्वपक्षीय छलफलबाट टुंगिने 

0
Shares

डडेल्धुरा। 

हालसम्म स्थायी मुकाम तोक्न नसकेको डडेल्धुराको भागेश्वर गाउँपालिकाले सर्वपक्षीय सहमतिका आधारमा टुंग्याउने तयारी गरेको छ ।

हाल गाउँपालिकाले अस्थायी मुकाम भएको वडा नं ४ बगरकोटबाट सेवा दिइरहेको छ । सात वटा स्थानीय तह रहेको डडेल्धुरामा पालिकाको स्थायी मुकाम नतोकिएको स्थानीय तह भागेश्वर गाउँपालिकाले अगामी गाउँसभाबाट सर्वसम्मत रुपमा गाउँपालिकाको केन्द्र तोक्ने तयारी भइरहेको जनाएको छ ।

वि.सं २०७४ को स्थानीय निर्वाचनपछि गाउँसभाले पालिकाको नामाकरण गर्‍यो तर स्थायी मुकाम तोक्न सकेन । विगतमा पनि टप्पवा, गुवाडी लगायतका अन्य क्षेत्रलाई स्थायी मुकाम तोक्ने प्रयास भए तर सर्वसम्मत निर्णय हुन सकेन । वडा नं ३ का अध्यक्ष डम्बरराज जोशीले बिगतको स्थानीय सरकारले पटक–पटक कार्यपालिका बैठकबाट सहमति जुटाउन नसक्दा मतदान समेत भएको बताउँदै बहुमत कसैको नपुग्दा स्थायी केन्द्र नतोकिएको जानकारी दिनुभयो ।

पालिकाको अस्थायी मुकाम बगरकोट भौगोलिक रुपमा बिच भागमा नपर्दा अधिकाश सेवाग्राहीलाई सेवा लिन असहज भएको छ । कार्यपालिका सदस्य राजेश्वरी भट्टले बिगतको स्थानीय सरकारले यो बिषय नटुग्याएकाले सेवाग्राहीलाई समस्या भएको बताउनु भयो । पालिकाको अस्थायी मुकाम बिच भागमा नहुँदा दुई तीन दिनसम्म आवतजावतमै लाग्ने गरेको टाढाका सेवाग्राहीहरुको गुनासो छ ।

पहिलो कार्यकालमै पालिकाको स्थायी मुकाम कायम नहुँदा दोस्रो कार्यकालका लागि भएको स्थानीय निर्वाचनमा स्थायी मुकाम बनाउने जनप्रतिनिधिको प्रतिवद्धता थियो । भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले फागुनको अन्तिम साता सर्वपक्षीय छलफलबाट स्थायी मुकामको टुंगो लगाउने गरि छलफल भइरहेको बताउनु भयो ।

आगामी असार १० गतेको गाउँसभाबाट स्थायी मुकाम तोक्ने कसरतमा गाउँपालिका गृहकार्य भइरहेको उँहाले जानकारी दिनुभयो । पाँच वडा रहेको भागेश्वर गाउँपालिकाको हालको अस्थायी मुकामको प्रशासनिक भवन गरिबी निवारण कोषको र अध्यक्षको कार्यकक्ष रहेको भवन दलित मञ्चको रहेको गाउँपालिकाले जनाएको छ ।

स्थायी मुकाम नटुगिँदा गाउँपालिकालाई समेत सेवा दिन असहज भएको कर्मचारीहरु बताउछन । केन्द्र नतोकिएकाले गाँउपालिकाका भौतिक पूर्वाधार निमार्णका काम हुन नसकेको गाउँपालिकाले जनाएको छ ।