अध्ययन गर्दै, व्यावसायिक बन्दै

0
Shares

ओखलढुंगा ।

जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नं २ पोखरेकी पार्वती श्रेष्ठ आजभोलि व्यावसायिक बाख्रा पालनसँगै अध्ययनमा व्यस्त छिन् । उनी कुनै विद्यालयमा गएर अध्ययन गरेकी भने होइनन् । उनी आबद्ध हसेरा पशुपालन कृषक समूहले सञ्चालन गरेको वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान विषयमा अध्ययन गर्न थालेकी हुन् ।

सिद्धिचरण नगरपालिका वडा नं १ तलुवाको कोशेलीचौर महिला पशुपालन कृषक समूहकी सदस्य दिलकुमारी बस्नेत पनि समूहमा अध्ययन गर्दै आएकी छिन् । उनी समूहमा अध्ययन गर्न थालेको ३२ हप्ता भइसक्यो । उनले अध्ययनकै कारण बाख्रा संख्या ९ पु¥याएकी छिन् ।

यसरी जिल्लाका १९ वटा बाख्रा तथा तरकारी उत्पादक समूहमा आबद्ध किसानहरुले अहिले हप्ताको एक पटक समूहमै अध्ययन गर्न थालेका छन् । यो अवसर उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले जुटाइदिएको छ । समृद्धि आयोजना लागू भएपछि उक्त आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँका किसान समूहले समूहमै वित्तीय शिक्षा र व्यावसायिक ज्ञान विषयमा अध्ययन गर्न पाएका छन् ।

समृद्धि आयोजनाले हरेक समूहमा एक जना प्रशिक्षक उत्पादन गरेर हप्ताको एकदिन सञ्चालन गर्ने गरी ३५ हप्ता अध्ययन तथा तालिम चलाउने व्यवस्था गरेको छ । यो अध्ययन तथा तालिम किसान समूह आफैँले सञ्चालन गर्दै आएका छन् । समूह तथा समूह व्यवस्थापन, व्यवसाय दर्ता तथा सरोकारवाला निकाय, व्यवसायको हिसाब किताब, नाफा नोक्सानको हिसाब किताब, निर्वाहमुखी खेती, आपूर्ति श्रृंखला, व्यावसायिक खेती, व्यवसायको सम्भाव्यता अध्ययन, व्यावसायिक योजना, बजारमुखी उत्पादन तथा बजार र बजारीकरणका विषयमा समूहमै पढाइ हुन थालेपछि ग्रामीण भेगका किसान लाभान्वित भएका छन् ।

आयोजनाले किसानहरुलाई वित्तीय शिक्षा मात्रै नभएर व्यवसाय कसरी गर्ने भन्ने विषयमा पनि सिकाउँदै आएको आएको छ । ‘हामीले ३० हप्ता वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान र ५ हप्ता किसानहरुकै सिफारिसमा प्राविधिक कक्षा सञ्चालन गरिरहेका छौँ,’ समृद्धि आयोजना लागि कृषि उद्यम केन्द्रका आपूर्ति श्रृंखला सुपरीवेक्षक नवराज कार्कीले भने, ‘यो अध्ययन तथा तालिमले गर्दा किसान समूहका सदस्यहरु व्यवसायतर्फ आकर्षित भएका छन् ।’

वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान विषयमा अध्ययन हुन थालेपछि समूहका सदस्यहरु व्यावसायिक बन्दै गएको सिद्धिचरण नगरपालिका वडा नं ५ वर्णालुको कुञ्जरा बाख्रापालन कृषक समूहका अध्यक्ष ख्यामप्रसाद दाहालले बताए । यही अध्ययनकै प्रभावका कारण चिशंखुगढी गाउँपालिका वडा नं २ को सयपत्री कृषक समूहका सदस्यहरुले प्लाष्टिक टनेलमार्फत् व्यवासयिक तरकारी खेतीमा लागेको वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिमकी प्रशिक्षक लक्ष्मी घिमिरेको भनाई छ ।

समूहले सञ्चालन गरेको अध्ययनकै कारण सिद्धिचरण नगरपालिका १० बेतिनीमा रहेको नमुना बाख्रापालन समूहकी सदस्य बुद्धीकादेवी धमलाले आइतबारे बाख्रापालन फर्म नै सञ्चालन गरेकी छिन् । ‘अध्ययन गर्न थालेपछि त्यसै बस्नुभन्दा व्यावसायिक बन्नुपर्ने रहेछ भन्ने जानियो,’ धमलाले भनिन्, ‘फर्मको सञ्चालक बन्छु भन्ने रहर थियो, पूरा भयो ।’

समृद्धि आयोजनाले किसान समूहमा आपूर्ति श्रृंखलाका क्षेत्रमा काम गरिरहेको छ । आयोजनाले किसान समूहमा वित्तीय शिक्षा, प्राविधिक सेवा, प्रविधि हस्तान्तरण, बजार सञ्जाल विस्तार, घाँस खेती, खसी बोकाको नश्ल सुधार, खोर सुधार, समूहका सदस्यहरुमा वित्तीय पहुँच पु¥याउनेलगायतका विषयमा काम गर्दै आएको छ ।