चिकित्सकाे लापरबाहीले मैले मेरी छोरी गुमाए



काठमाडौं ।

अढाई वर्षकी एउटी सानी बच्ची । बोली त बल्ल फुट्दै थियो । विरामी परिन् । डाक्टरले भाइरल रुघाखोकी हो भनेका थिए । विज्ञ चिकित्सकको निगरानीमा राखेर बाबुले उपचार गराइ रहेका थिए ।

समस्या सुरु भएको पाँच सात दिनमै ती बालिकाले यो संसार छाडिन् । के भाइरल रुघाखोकीले पनि कसैको ज्यान जान्छ त ? बालिकाका बाबु भन्छन् – चिकित्सकाको लापरबाहीले मैले मेरी छोरी गुमाएँ । उपचारमा संलग्न डाक्टर भन्छन् – मैले त नियमानुसार नै उपचार गरेको थिएँ । छोरी गुमाएका एक बाबु बिलापले भरिएको छन् ।

एक सानी, अढाई वर्षकी प्रशंसा गौतम अब यस दूनियाँमा छैनन् । उनी कुनै गम्भीर रोगको सिकार भएकी थिइनन् । कुनै दुर्घटनामा परेकी पनि होइनन् । सामान्य रुघाखोकी मात्रै लागेको थियो । तर चिकित्सकले ठिक भइहाल्छ, आत्तिनु पर्दैन भन्दा भन्दै यी बालिकाले सबैलाई छाडेर गइन् ।

चिकित्सकले सामान्य जाँच गरे । बालिकाका आमाबाबुले राम्ररी परिक्षण गरिदिनू भन्दा पनि चिकित्सकले सामान्य समस्या हो, वाफ लिँदै ठिक हुन्छ भनिरहे । तर त्यस्तो केही भएन । हेर्दा हेर्दै, पर्खिदा पर्खिदै एक सानी बालिकाले यो संसार छाडेर गइन् ।

मोरङ पथरीका गौरव दर्पण अर्थात गंगा गौतमकी छोरी प्रशंसाले सुरुदेखि नै विज्ञ चिकित्सकको उपचार पनि पाइन् । तर पनि उनको निधन भयो । प्रशंसाको उपचारका लापरबाही भएको दावी गर्दै उनका बाबु गौरवले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् । प्रशंसाको निधनमा बालरोग विशेषज्ञ डाक्टर जयदेव यादव मुख्य दोषी रहेको दावी गरेका छन् ।

प्रशंसाका बाबु गौरवले पत्रकार सम्मेलन र जारी गरेको विज्ञप्तिमा यस्तो छ ।

मेरी साढे दुई वर्षकी छोरी प्रशंसा चार दिनदेखि लगातार डाक्टरको निगरानीमा थिइन् । उनलाई सामान्य रुघाखोकी लागेको कमलपोखरीमा रहेको हिमाल हस्पिटलका डाक्टर जयदेव यादवले बताएका थिए ।

सुरुमा नक्सालको एउटा क्लिनिकमा देखाएर औषधि खुवाइएको थियो । दुई तीन दिनसम्म निको हुँदै फर्किदै हुन थालेपछि नक्सालकै हिमाल हस्पितालमा पुर्याइयो । त्यहाँ बालरोग विशेषज्ञ डाक्टर जयदेव यादवले माघ २३ गते प्रशंसाको उपचार सुरु गरे ।

डाक्टर यादवले भाइरल ज्वरो ठहर गरे र चार दिनको औषधि दिए । फलोअपमा चार दिनपछि बोलाए । तर प्रशंसाको अवस्था भोलिपल्टै बिग्रियो । फेरि डाक्टर यादव कहाँ प्रशंसालाई लिएर गयौं । डाक्टरले ‘औषधिको असर हो, निको हुँदैछ, झोलिलो खानेकुरा खुवाउन’ भने ।

मैले थप कुनै जाँच परिक्षण गर्नु पर्छ कि भनेर सोध्दा केही पर्दैन भन्ने जवाफ दिए । बिहान बेलुका बाफ लगाउनु भने । हामीले पनि डाक्टरको सल्लाह बमोजिम गर्दै गयौं ।

तर नानीलाई समस्याले चाप्दै गयो । छाती घ्यारघ्यार गर्ने, आलस्य हुने हुन थाल्यो । छोरीको समस्या मोबाइलले खिचेर डाक्टरलाई देखाउँदा पनि उनले त्यसलाई हल्का रुपमै लिए । त्यसपछि उनको अनुहार सुन्निन थाल्यो । पेट फुल्न थाल्यो । डाक्टरले खाना नखाएर ग्याँस भरिएर पेट फुलेको भने । मैले एउटा एक्स रे गरेर हेरौं भन्दा डाक्टरले पर्दैन भन्ने जवाफ दिए । भोलिपल्ट बाफ लगाउन जाँदा नर्सहरुले नानी सिथिल छिन् त भने । सायद डाक्टरलाई उनीहरुले रिपोर्ट गरेनन् होला ।

त्यही दिन साँझ डाक्टर कहाँ फेरि पु-यायौं । नानी बस्न सक्ने अवस्थामा थिइनन् । नानीको अवस्था यस्तो देखेपछि बल्ल डाक्टर यादवले एक्स रे र रगत जाँच लेखे ।
एक्स रे को रिपोर्टमा दुवै फोक्सोमा पानी भरिएको देखियो । अक्सिजनको लेभन पनि निकै तल देखायो ।

तर डाक्टरले हिमालमै भर्ना गर्न चाहेनन् । उनले पिआइसियु भएको हेम्समा फोन गरेर छोरीको अवस्था बताए । हेम्सले बिरामी नपठाउन भने ।

त्यसपछि डाक्टर जयदेव यादवले नाटक रचे । र उनले हामीलाई झुक्याउँदै भने – कान्ति बाल अस्पताल लैजानु । त्यहाँ मैले भनिदिएको छु । मेरो नाम लिनु ।’

यादवले छोरीका कागजातहरु दिएनन् । नर्सलाई लुकाउन लगाए । मैले डाक्टरको आँखा छलेर नर्सबाट रिपोर्टहरु खोसेर लिएँ । अक्सिजन जोडेरै कान्ति अस्पताल पु¥याएपछि थाहा भयो, त्यहाँ डाक्टर यादवले कसैसँग केही कुरै गरेका रहेनछन् ।

कान्तिले पनि बेड खाली छैन भन्दै भर्ना लिन मानेन । हतार हतार मेट्रो अस्पताल पु¥यायौं । त्यो बेलासम्म अक्सिजनको लेभल ५० मा झरिसकेको थियो । छोरीको उपचार सुरु भयो । उपचार सुरु भएको एक घण्टापछि मलाई भित्र बोलाईयो । म भित्र गए । छोरीलाई हेरेँ । छोरी थिइन् । तर फेरि बाबा भनेर बोलाउन नसक्ने अवस्थामा । फेरि कहिल्यै पनि नबोल्ने अवस्थामा । फेरि कहिल्यै पनि नफर्किने गरी छोरीले यो संसार छाडिसकेकी रहिछन् ।’

प्रतिक्रिया दिनुहोस्