चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

११ सय बिक्रेतामार्फत बिक्री गरिने, केन्द्रसहित ८ वटै कार्यालयमा पुस्तक पुग्यो



काठमाडौं । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले हरेक हप्ता बैठक बोलाएर आगामी शैक्षिक सत्र अर्थात् २०८० साल वैशाख २ गतेबाट सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन निर्देशन दिएपछि जनक शिक्षाले चैत १५ गतेबाटै बिक्री खुला गर्न लागेको हो ।

केन्द्रले विराटनगर, जनकपुर, भरतपुर, धनगढी, नेपालगञ्ज, पोखरा, बुटवल सुर्खेत र काठमाडौंबाट बिक्री शुरू गर्न लागेको जानकारी दिँदै जनक शिक्षाका प्रवक्ता चित्रकुमार आचार्यले २४ सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु¥याउने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘दैनिक करिब १ लाख ५० हजार थान पुस्तक तयारी भइरहेको छ । त्यसले गर्दा आगामी शैक्षिक सत्रमा पुस्तक अभाव हुँदैन ।’ उहाँका अनुसार कक्षा ६ देखि १० को १ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्ने दायित्वअनुसार हालसम्म ९५ लाख थान पाठ्यपुस्तक छपाइ सकिएको बताउनुभयो । केन्द्रले दिएको जानकारीअनुसार ८८ लाख थान तयारी भइसकेको छ । ७ लाख थान तयारीको क्रममा रहेको जनाएको छ । यही आधारलाई विश्लेषण गर्दा वैशाखको पहिलो साता विद्यार्थी भर्नासँगै सबै विद्यार्थीको हातहातमा पुस्तक पुग्ने प्रवक्ता आचार्यको भनाइ छ ।

जनक शिक्षाले देशैभरका १ हजार १ सय बिक्रेतामार्फत विद्यालयमा पुस्तक बिक्री गर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तीन महिनाअगावै सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी संख्याको आधारमा रकम पठाइसकेको छ ।

केन्द्रका महानिर्देशक चुडामणि पौडेलले शैक्षिकसत्र २०८० का लागि ३ अर्ब ४० करोड रुपियाँ बजेट व्यवस्था भएको जानकारी गराउँदै विनियोजित बजेट विद्यालयमा पुग्नेगरी स्थानीय तहमा पठाइसकेको जानकारी दिनुभयो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले पछिल्लो समयमा कागज अभाव नभएको जानकारी दिँदै भन्नुभयो– ‘झण्डै २ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न करिब ८ हजार टन कागज आवश्यक पर्छ । आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने कागज अभाव छैन ।’

गत सोमबार राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा अधिकांश सांसदले शैक्षिकसत्रअगावै पाठ्यपुस्तक पु¥याउन जनक शिक्षालाई दबाब दिएका थिए । बैठमा सांसद नारायण दाहाल, कृष्णप्रसाद पौडेलले, सिंहबहादुर बिक, महेशकुमार महराले जस्तोसुकै परिस्थिति भए पनि समयमै पुस्तक पु¥याउन आग्रह गर्नुभएको थियो । शिक्षा सचिव रामकृष्ण सुवेदीले तोकेको समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने ठोकुवा गर्दै पुरानो किताबलाई पुनः प्रयोग गर्ने विषयमा पनि मन्त्रालयले छलफल चलाइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्