बागमती टिपर व्यवसायी संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न

0
Shares

पोखरा ।

बागमती टिपर व्यवसायी संघको ११ औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । मंगलबार पोखरामा आयोजित सभाका लागि व्यवसायीहरू काभ्रेपलान्चोक तथा विभिन्न स्थानबाट पोखरा पुगेका थिए ।

संघका अध्यक्ष सुरेश खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नवीन वैद्यले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा नेपाल ट्रक व्यवसायी यातायात महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले यातायात व्यवसायीसँग सम्बन्धित ऐन र कानुन संशोधन तथा परिमार्जन गरी व्यवसायी मैत्री बनाउन महासंघले भूमिका खेलिरहेको बताउनु भयो ।

 

कार्यक्रममा बोल्दै श्रेष्ठले व्यवसायीहरू संकटमा रहेकाले बैंकको व्याज तथा किस्तालाई सहजीकरण र सरलीकृत गर्न सरोकारवाला निकायसँग वार्ता र छलफल भइरहेको बताउनु भयो । श्रेष्ठले व्यवसायीहरू विद्यमान कानुन र व्यवस्थाका कारण मर्नु नपरोस् भन्ने उद्देश्यले देशभरका ट्रक तथा टिपरहरूको छाता संगठन नेपाल ट्रक यातायात व्यवसायी महासंघले चरणबद्ध छलफल परामर्श र सरकारलाई झकझकाउने काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, बागमती टिपर व्यवसायी संघका निवर्तमान अध्यक्ष प्रेम लामा, सल्लाहकार शेरबहादुर कुँवर, पूर्व अरनिको यातायात सेवा प्रा.लि.का अध्यक्ष केदार खत्री क्षेत्री, काभ्रे बस प्रा.लि.का अध्यक्ष वर्ण शाक्य, सिन्धु हेलम्बु यातायात प्रा.लि.का अध्यक्ष राजेशकुमार श्रेष्ठ, हेभी इक्युमेन्ट कास्कीका अध्यक्ष बालकृष्ण कोइराला, न्युभिजन ट्रक व्यवसायी संघका अध्यक्ष युवराज धामीलगायतले ट्रक तथा टिपर व्यवसायका समस्या र समाधानका लागि संघले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।

साधारण सभामा सल्लाहकारहरू सुरकृष्ण वैद्य, संस्थापक अध्यक्ष राजभक्त प्रधान, शेरबहादुर कुँवर र प्रेम लामालाई कदरपत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा अध्यक्ष सुरेश खत्रीले बागमती टिपर व्यवसायी संघले नीति नियम भित्र रहेर व्यवसायीहरुको हक हितका लागि विभिन्न सुविधा उपलब्ध गराएको बताउँदै संघको नीति नियम मान्ने व्यवसायीलाई मात्रै संघले अभिभावककत्व ग्रहण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो लाइसेन्स लिएर मान्छे मार्ने चालकको पक्षमा संघ जिम्मेवार नरहने भएकाले दुर्घटना न्यूनीकरणका लागि व्यवसायी र मजदुर जिम्मेवार हुनुपर्छ । व्यवसायबाट पलायन हुन नदिन संघले दायित्व कम सेवा बढाउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिरहेको अध्यक्ष खत्रीले बताउनुभयो ।

यस्तै सचिव राजेश खत्रीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोषाध्यक्ष नारायणकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै चालु वर्षका योजना र कार्यक्रमका बारेमा छलफल गर्दै टिपर व्यवसायीहरूका समस्या र समाधानका लागि संघले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो । प्रस्तुत प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएका छन् । सभामा संघले प्रदान गरेको सेवा र सुविधाका बारेमा छलफल भएको थियो ।

‘दुर्घटनाका बखत बागमती टिपर व्यवसायी संघले व्यवसायीले २० प्रतिशत र संघले ८० प्रतिशत खर्च उपलब्ध गराउँदै आएको थियो’– अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘दुर्घटनामा घाईते भएकाको उपचार गर्न व्यवसायीले २० प्रतिशत समेत तिर्न नसक्ने भए पछि समितिको बैठकले २०७९ माघ १९ गते देखि सम्पूर्ण खर्च संघले बेहोर्ने निर्णय गरेको थियो ।’ यो निर्णय कार्यान्वयनमा आइसकेको अध्यक्ष खत्रीले बताउनु भयो ।

‘संघले ८० प्रतिशत बेहोर्ने निर्णय नभएको भए ऋण गरेर ब्यवसाय गर्ने व्यवसायी एक्लैले कसरी त्यत्रो खर्च बेहोर्न सक्थ्यो ?’–अध्यक्ष खत्रीले भन्नुभयो–‘ब्यवसायीहरुलाई सहज बनाउन र दुर्घटना न्यूनीकरण गरी व्यवसायी र मजदुरहरूको जीवन रक्षाका लागि शतप्रतिशत खर्च बेहोर्ने निर्णय भएको हो ।’

बागमती टिपर व्यवसायी संघले चालक र व्यवसायीका लागि अधिकतम सुविधा उपलब्ध गराउँदै दुर्घटना कम गराउने उपायको खोजी गरिरहेको छ । पटक पटक प्रशिक्षण, उत्कृष्ट चालक तथा दुर्घटना नगराउने चालकलाई गोला प्रथाद्वारा आकर्षक उपहार सहित सम्मान गरिरहेको छ ।

राति मात्रै चल्ने गरेका कारण टिपरको पछाडि पट्टि ठोक्किएर दुर्घटना बढ्न थालेकाले प्रशासन तथा ट्राफिक प्रहरीसँगको समन्वयमा संघले रातको समयमा टल्कने स्टिकर टाँस्ने योजना बनाएको अध्यक्ष सुरेश खत्रीले बताउनु भयो । ‘राति टिप थोरै हुने भएकाले धेरै टिप गर्ने योजनाका साथ स्पिड धेरै कुदाउने, निद्रा कमी हुने भएकाले निद्राका कारण तथा अन्य विविध कारण दुर्घटना भइरहेको छ’–अध्यक्ष खत्रीले भन्नुभयो–‘अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना न्यूनीकरण मात्रै भएको छैन दुर्घटनामा हुने क्षति पनि कम भएको छ ।’

आर्थिक वर्ष २०७८-२०७९ मा १ सय १९ वटा दुर्घटनामा २ जनाले ज्यान गुमाउनु परेको थियो भने २०७९-२०८० को ६ महिनामा ५५ वटा दुर्घटना हुँदा एक जनाले पनि ज्यान गुमाउनु परेको छैन । चालकलाई दिएको प्रशिक्षण तथा दुर्घटना नगराउने चालकलाई गरिएको पुरस्कार तथा विविध कारणबाट संघमा आवद्ध टिपरहरुबाट दुर्घटना कम हुँदै गएको संघको निष्कर्ष रहेको सचिव राजेश खत्रीले बताउनुभयो ।

यस अघि संघले सवारी सञ्चालनका क्रममा दुर्घटना हुँदा चालक अपाङ्ग भएको अवस्थामा २ लाख, मृत्यु भएमा ३ लाख, काल गतिका क्रममा निधन भएमा १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यो कार्यक्रम नियमित छ । तर चालकले संघको नीति नियम नियमित पालना गरेको हुनु पर्नेछ । त्यस्तै गम्भीर प्रकृतिको रोग लागेको अवस्थामा उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

व्यवसायीका हकमा भने ३ लाख रुपैयाँ काल गतिले मृत्यु हुँदा उपलब्ध हुनेछ भने अपाङ्गता भएमा २ लाख, गम्भीर प्रकृतिको रोग लागेमा उपचार बापत ५० हजार रुपैयाँ पाउनेछ । एकाघरको सदस्यको निधन भएमा सदस्य व्यवसायीले किरिया खर्च बापत २५ हजार रुपैयाँ सहयोग पाउनेछ ।

संघका सचिव राजेश खत्रीका अनुसार उक्त ब्यवस्थाका लागि चालकले लार्पवाही नगरेको, चालकले परिचय पत्र प्राप्त गरेको, संघको वित्तिय अनुशासन पालना गरेको, बिमा शुल्क नियमित बुझाएको, संघ नीति नियम पालना गरेको व्यवसायीका हकमा उक्त निर्णय कार्यान्वयन हुनेछ ।

‘उपचार खर्चसँगै बिमा शुल्क संघले नै बेहोर्ने विषयमा पनि छलफल शुरु भएको छ’–सचिव राजेश खत्रीले भन्नुभयो–‘बिमा शुल्कमा हेरफेर गर्दै संघ मार्फत एकमुष्ट बिमा गर्ने र उपचार खर्चका लागि सहज बनाउने गरी साधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेका छौं ।’

अहिले पनि धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पताल लगायतका अस्पतालमा विरामीहरु उपचार भइरहेको, फलोअप आउँदा र जाँदा धेरै खर्च हुने गरेको, बिरामीका आफन्तले दुर्घटना भए लगत्तै महँगा अस्पतालमा बिरामी रिफर गर्न दबाब दिने गरेको, अस्प्तालहरुले पनि दुर्घटना परेको भन्ने वित्तिक्कै हेर्ने दृष्टिकोण र खर्च विवरण फरक गर्ने गरेको जस्ता विषयमा संघमा ब्यवसायीहरुले गुनासो सुनाएको सचिव खत्रीले बताउनु भयो ।

ब्यवसायीहरुको सहजताका लागि टिपर बन्द भएको अवस्थाको मासिक शुल्कमा विशेष छुट गरेको छ । पौष र माघ महिनामा बन्द भएको टिपरका कारण व्यवसायीले संघलाई बुझाउनु पर्ने मासिक शुल्क ३२५० मा २७५० छुट गरी ५ सय मात्रै लिएको कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिनुभयो ।