कछुवा गतिमा सडक निर्माण, प्रगति छब्बीस प्रतिशत मात्र

0
Shares

 नवलपरासी ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल नारायणगढ फाेर लेन सडक निर्माणमा २६ प्रतिशत प्रगति हासिल भएको छ ।
पूर्वी नवलपरासीको कावासोतीमा भएको कार्यालय प्रमुखहरूको एक बैठकमा सडक आयोजनाका इन्जिनियर धिरज ढकालले सो जानकारी दिनु भएको  हो ।

राष्ट्रिय गौरवको सडक निर्माणको ठेक्का पाएको चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ  कर्पोरेसनले थप गरिएको परीक्षण अवधिको  करिब ४ महिनामा कार्य प्रगति मासिक २ प्रतिसतले वृद्धि गर्दै लगेको छ ।

चाइना स्टेटले गत साउन २२ भित्र काम सम्पन्न गर्ने गरी आव ०७५/७६ मा फाेरलेन सडक निर्माणको ठेक्का सम्हालेको थियो ।   तोकिएको समयमा काम नसके पछि कम्पनीलाई सन्तोष जनक कार्य प्रगति देखाउने सर्तमा  ३ सय ८४ दिनको समय सीमा पुनः थप गरिएको हो ।
सडक निर्माणका क्रममा फाेरलेन सडक अन्तर्गतका १२ ठूला पुल मध्ये सवैमा फाउन्डेसन , फाइल फाउन्डेसनको काम सकिनै लागेकाे,सव स्टक्चर तथा सुपर स्टक्चरकाे काम भई रहेको बताइएको छ ।

यसै गरी माइनर ब्रिज २२ मध्ये १५ वटा सकिएको र ५ पुलमा निर्माण कार्य भई रहेको इन्जिनियर ढकालले बताउनु भयो ।
कल्भर्टहरूमा २ सय १५ मध्ये ९३ कल्भर्ट निर्माणको काम सकिनुका साथै ४२ वटा निर्माणाधीन अवस्थामा रहेको बताइन्छ ।
यसका साथै हाल सडकको कतिपय ठाउँमा माटो पुर्ने, सम्म्याउने तथा मिलाउने काम भएको लाेकाहा पुल देखि डण्डा पश्चिमकाे पथ्थर खाेला सम्मकाे करिब ८ किमी क्षेत्रमा बेस तथा सव बेसका काम भइरहेको ढकालले बताउनु भयो ।

बताए अनुसार  निर्माण कार्यमा आशातीत प्रगति नदेखिए पनि सडकमा निरन्तर काम भइरहेको र  हाल माटो तथा निर्माण सामाग्री लगायत कुनै समस्या तथा बाधा अवरोध रहेको छैन ।

यद्यपि सडक निर्माणको गति देखेर स्थानीयहरू अत्ताल्लिएकाछन् । विभिन्न बहाना बनाई पहिलो पटकको म्याद गुजारेको सडक निर्माण कम्पनीले उहीँ कछुवा गति जारी राखे फाेरलेन सडक सम्पन्न हुन झण्डै थप ३ वर्ष लाग्ने जानकारहरू बताउँछन् ।

सहरी क्षेत्रमा ६ लेन,वन तथा खाली ठाउँमा ४ लेन र दाउन्ने पहाडमा ३ लेन रहने गरी डिजाइन भएको यो सडकको दाउन्ने क्षेत्रमा  भित्तो खोतलेर सडक चौडा पार्ने काम भइरहेको छ ।

यसै बीच नारायणगडदेखि दाउन्ने सम्म करिब ६४ किमी सडक समयमा नबन्दा स्थानीय बजार तथा सडक छेउका बासिन्दा र यात्रुहरू विगत ४ वर्ष देखि धुलैधुलाेले पिराेलिएकाछन् ।

निर्माण कम्पनीले पुन ठेक्का  नपाउँदा सम्म परीक्षण र कार्य प्रगति देखाउने बहानामा सडकमा पानी छर्केर धुलो हटाए पनि हाल पानी हाल्ने काम सुस्ताएको छ ।

सडकमा समय समयमा पानी नहाल्दा धुलो उडेर सडकमा हिढ्दै गरेका सवारी साधन एक अर्को बीच नै नदेखिने स्थिति बनेको चालकहरू बताउँछन् ।