टर्कीमा भूकम्पको ११५ घण्टापछि जीवितै उद्धार, मृत्यु हुनेको सङ्ख्या २४ हजार नाघ्यो

0
Shares

काठमाडौँ।

टर्कीमा विनाशकारी भूकम्प गएको पाँच दिनसम्म पनि भत्किएका भवन र संरचनाका भग्नावशेषबाट मानिसहरूको जीवितै उद्धार भइरहेको छ।

बीबीसीका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा एक जना गर्भवती महिला र उनकी सानी छोरीको ११५ घण्टापछि जीवित उद्धार गरिएको हो।

भत्किएको भवनबाट ती महिला र बालिकालाई निकाल्दै गरेको भिडिओ सामाजिक सञ्जालमा शेयर भइरहेका छन्। यसअघि भूकम्प प्रभावित क्षेत्रहरूबाट ११० घण्टा पछिसम्म पनि एक जना किशोरी सहित कैयौँ मानिसहरू जीवितै उद्धार गरिएको थियो। जर्मन विपद् प्रतिकार्य संस्थाले भग्नावशेषमा च्यापिएकी एकजना बालिकालाई ११० घण्टापछि जीवितै उद्धार गरेको भिडिओ सार्वजनिक गरेको छ।

टर्कीमा गत सोमवार बिहानै ७.८ म्याग्निच्युडको भूकम्प आएको थियो।अपराह्न पुन ७.५ म्याग्निच्युडको दोस्रो भूकम्पले थप क्षति पुर्‍याएको थियो।

दुवै भूकम्पमा परि टर्की र सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या २४,००० नाघेको छ।

पहिलो र सबैभन्दा शक्तिशाली भूकम्पको केन्द्रबिन्दु रहेको गाजियान्टेपमा शनिवार समेत परकम्पहरू महसुस भएका छन्।

पछिल्लो परकम्प ४.६ म्याग्निच्युड मापन गरिएको छ।

-बीबीसी