स्ववियु निर्वाचन प्रक्रिया शुरू

भिडन्तको भयले अखिल क्रान्तिकारी विघटन



–फागुन ४ भित्र कार्यतालिका प्रकाशित हुँदै
–सबै क्याम्पसमा निर्देशिका पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको छ । त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेलगत्तै निर्देशिका जारी भएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सो निर्देशिका ६२ वटै आंगिक क्याम्पसमा पठाएको छ । निर्देशिका पुगेलगत्तै सबै क्याम्पसले निर्वाचनको प्रक्रिया शुरु गरेका छन् । क्याम्पस प्रमुखले विद्यार्थी संघ–संगठनसँग छलफल शुरु गरेको छ । समितिका सदस्य–सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले तीन दिनअघि निर्देशिका पारित भई कार्यान्वयनमा आएको जानकारी दिनुभयो ।

१३ बुँदे निर्देशिकामा निर्वाचनको विषयमा बन्द हड्तालाई गर्न नपाइने उल्लेख छ । ‘२२ विद्यार्थी संघ, संगठन, क्याम्पस प्रुमख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकारवालासँग छलफल गरी सो विषयमा सबै पक्ष सहमत भएको अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सबैको सहमतिमा सो विषय समावेश गरेका हौं । अब विद्यार्थी चुनावी प्रचार–प्रसार वा अन्य कुनै विषयमा विवाद भए क्याम्पस बन्द गर्न पाइने छैन ।’ निर्देशिकामा निर्वाचन कार्यतालिका प्रकाशित भई निर्वाचन प्रक्रियाअघि बढेको दिनदेखि विश्वविद्यालयको प्राज्ञिक कार्यबाहेक निर्वाचनमा प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न नपाइने भनिएको छ ।

त्यस्तै, निर्वाचन कार्यतालिकाको मिति प्रकाशित गरेको दिनसम्म वार्षिक प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई मात्र मतदाता नामावलीमा समावेश गर्नुपर्ने र अन्यको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा दुई दिन अघिसम्म नियमअनुसार भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गरिने उल्लेख छ ।

कुनै तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थी निर्वाचनमा सहभागी हुन नपाइने, मतदाता नामावलीमा नाम भएका विद्यार्थीको परीक्षाका कारण परिचयपत्र तयार नभएमा तत्काल सम्पन्न भएको परीक्षाको प्रवेशपत्रको आधारमा मतदान गर्न पाइने व्यवस्था निर्देशिकाले गरेको छ ।

सदस्य–सचिव अधिकारीले निर्देशिका लागू भएलगत्तै देशैभरका क्याम्पसले निर्वाचन प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो । सबै क्याम्पस प्रमुखले स्थानीय सुरक्षा निकाय, राजनीतिक दल, विद्यार्थी संघ–संगठनहरुसँग छलफल गरी निर्वाचनको प्रक्रिया शुरु भइरहेको विश्वविद्यालयलाई जानकारी गराइरहेका छन् ।

निर्देशिकामा यदि चैत ५ गते निर्वाचन हुन नसके ३० दिनभित्र गर्ने गरी सबै क्याम्पस प्रमुखले प्रतिबद्धता जनाइसकेका छन् । अर्थात् २०७९ सालको स्ववियु निर्वाचन स्थगित भएमा २०८० वैशाख ५ गतेभित्र सम्पन्न गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

निर्देशिका जारी भइसकेको अवस्थामा कुनै पनि हालतमा निर्वाचन स्थगित हुने सम्भावना नरहेको समितिको भनाइ छ । सदस्य–सचिव अधिकारीले सबै विद्यार्थी संगठनले सहमति जनाएर आचारसंहितासहितको निर्देशिका जारी भइसकेको अवस्थामा निर्वाचन नरोकिने ठोकुवा गर्नुभयो ।

निर्देशिका जारी भएलगत्तै नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले निर्वाचन तयारी गरिरहेका छन् ।

भिडन्तको भयले अखिल क्रान्तिकारी विघटन

स्ववियु निर्वाचनको संघारमा एउटै पार्टीका विद्यार्थीबीच भिडन्त हुने भएपछि नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको वर्तमान कार्यसमिति विघटन गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रले विद्यार्थी संगठनभित्र चरम विवाद देखिएको भन्दै समस्या समाधान गर्न पञ्चा सिंह नेतृत्वका अनेरास्ववियु क्रान्तिकारी विघटन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कमिटीको बैठकमा संगठन विघटन गर्न सुझाव आएको थियो । सोही आधारमा बुधबार कार्यसमिति विघटन गरी आयोजक समिति बनाउने निर्णय भएको थियो । केन्द्रले केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियु चुनावमा लाग्ने गरी सहमति भएको छ । केन्द्रको बैठकले स्ववियु चुनाव पछाडि राष्ट्रिय सम्मेलन गर्ने तथा समानान्तर संगठन र गतिविधि गर्न रोक लगाउने निर्णय गरेको थियो ।

पवन कार्की समूहले सिंहको नेतृत्वलाई अस्वीकार गर्दै समानान्तर गतिविधि गर्दै जारी राखेका थिए । त्यसो गर्दा स्ववियु निर्वाचनमा गम्भीर समस्या आउने भन्दै संगठन विघटन गरी आयोजकक समिति बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्