ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन सामग्री हस्तान्तरण

0
Shares

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित एक कार्यक्रमकाबीच एशोसिएसनको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसिटिभि मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्प्युटर र ५ थान माउस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले उक्त एशोसिएसनलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापनमा एशोसिएसन र ट्राफिक कार्यालयबीच सहकार्य रहने बताउनुभयो ।सो अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धिका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै आगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनिकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भबिष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडि बढ्ने सहमति समेत भएको जानकारी दिनुभयो ।