टर्की भूकम्पमा तीन नेपाली सम्पर्क विहीन, हजारौंको मृत्यु 

0
Shares

काठमाडौं  ।

टर्की र सिरियाको सीमा नजिकै गएको शक्तिशाली भूकम्पमा परेर तीन जना नेपाली सम्पर्क विहीन भएको पाइएको छ ।  सम्पर्क विहीन भएका नेपाली कहाँका हुन भन्ने खुलेको छैन् ।

टर्कीस्थित नेपाली दूतावास नभएको कारण त्यहाँ कति संख्यामा नेपालीहरु रहेका छन् भन्ने एकिन तथ्याङक नभएको टर्कीलाई हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले जानकारी दिएको छ । पछिल्लो समाचार अनुसार वैध र अवैध रुपमा गरेर नेपालीहरु ४ हजार देखि ५ हजारको हाराहारीमा नेपालीहरु त्यहाँ रहेको अनुमान गरिएको छ ।

सोमवार बिहानको विनाशकारी भूकम्पका कारण टर्की र सिरियामा  ठुलो मानवीय र भौतिक क्षति भएको छ । हजारौँको संख्यामा भवनहरू भत्किएका छन् भने अहिले सम्म टर्कीमा ५ हजार २ सयको शव निकालिएको छ भने २० हजार भन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भूकम्पका कारण जनजीवन अस्तव्यस्त बनेको छ । ७ दशमलव ८ म्याग्नेच्युटको भूकम्प पछि त्यहाँ लगातार वर्षा भइरहेको र हिउँ पर्ने क्रम नरोकिएकाले बाँचेका मानिसहरुको जीवन झन् कष्टकर बन्दै गएको बिबिसीले जनाएको छ ।  टर्की र सिरियाको सीमा नजिक गएको भूकम्पका कारण सिरियामा पनि ठुलो जनधनको क्षति भएको छ । पछिल्लो रिपोर्ट अनुसार सिरियामा भूकम्पका कारण १ हजार ७ सय जनाको मृत्यु भएको छ भने ७ हजार भन्दा बढी घाइते भएका छन् ।

टर्की सरकारले देशमा सङ्कटकाल घोषणा गरेर उद्धारको कामलाई तीव्रता दिएको भएपनि उक्त भूकम्प पछिको लगातारको पराकम्पका कारण उद्धारमा समेत कठिनाइ भएको टर्कीका राष्ट्रपति रेतेप तथ्य एर्दोआनाले जानकारी गराउनु भएको छ । अहिले विश्वका २५ देशका उद्धारकर्मीहरू टर्की र सिरिया पुगेका छन् । छिमेकी मुलुक भारतले उद्धारकर्ता र चिकित्सकको टोली टर्की पुर्‍याएको जानकारी दिएको छ ।