टर्की भूकम्प अपडेट : हालसम्म २ सयभन्दा बढीको ज्यान गयो, संकटकाल कायमै

0
Shares

टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सयभन्दा बढी मानिसले ज्यान गएको छ ।

समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्याएको छ । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ । सयौं मानिसहरू घाइते भएका छन् ।

सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ । त्यहाँ सयौं घरहरू भत्किएका छन् । टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्याएको छ ।

लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ । अहिलेसम्म २० भन्दा बढी परकम्प आइसकेको बताइएको छ । तीमध्ये एउटा परकम्प ६.६ म्याग्नेच्युडको थियो ।

स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो भने त्यहाँ संकटकाल जारी नै छ ।