महानगरको मन



काठमाडौं महानगरपालिका भन्नासाथ पछिल्लो समय बालेन साहको छवि प्रकट हुन्छ । वर्षौंदेखि राजनीति गरेर आएका हस्तीहरुलाई पछि पार्दै मेयर पदमा विजय हासिल गरेका साहबाट धरैले धेरै अपेक्षा गरेका छन् । तर, अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचनाका स्वरहरु सुनिएका छन् । मेयर साहलगायतका महानगरका पदाधिकारीहरु भने बजारमा असिनासरी बर्सिएका आलोचनालाई कत्ति पनि वस्ता गरिरहेका देखिन्नन् ।

पछिल्लो आलोचनाको एउटा घटना मिडियामा छायो– ह्वीलचेयरका व्यापारी । सडकमा व्यापार गरेर गुजारा चलाएका अपाङ्गता भएका एक व्यक्तिलाई ह्वीलचेयरसहित नियन्त्रणमा लिएको महानगरको कार्य आलोचनाको विषय बन्यो । विगत दुई महिनायता महानगरले सडकमा कसैलाई बस्न दिएको छैन ।

गुजारा चलाउनै नसकेपछि ह्वील चेयरको सहायतामा मास्क बेच्दै गरेका अपाङ्गता भएका व्यक्तिलाई नियन्त्रणमा लिनुहुन्नथ्यो भन्ने आवाज आएको छ । यता कामपाले सडकमा कुनैपनि प्रकारको व्यवसाय गर्न नदिने अडान लिएको, त्यसमा अपाङगता भएका व्यक्तिलाई भिन्न व्यवस्था गर्ने अवस्था नभएको देखिन्छ । वस्तुतः सडक व्यापारका लागि होइन, आवागमनका लागि हो ।

सडकमा व्यापार गर्न पाइँदैन र हुदैनपनि । तर विकल्प नभएपछि के गर्ने, परिवार पाल्नैप¥यो, आफू पालिनै प¥यो भन्ने धारणा मानवीय भावनासम्मत छ । विश्वका समृद्ध शहरमा पनि सडक पेटीमा मगन्ते देखिन्छन्– गीत गाएर वा अन्य कुनै अभिनयका साथ गरिबहरु मागिरहेका हुन्छन् ।

ह्वीलचेयरका व्यक्तिलाई मानवीय व्यवहार देखाउनै पर्छ । तर कामपाले अपराधीकै व्यवहार गरेर नियन्त्रणमा लिइ ट्रकमा हालेर महानगर कार्यालय पु¥यायो । कामपाले भन्ने गरेको छ, बेसहारा भएकालाई मानवसेवा आश्रममा सबै व्यवस्थापन गर्नेगरी जिम्मा दिएको छ । तर परिवार पाल्न धौधौ भएका अपाङ्गता भएका व्यक्तिको परिवारको कसले जिम्मा लिने ?

हुन त महानगरप्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमाथि बल प्रयोग नगरेको जनाएको छ । उनीहरुमाथि बल प्रयोग गर्नु आवश्यक पनि हुँदैन । सरकारले अपाङ्गता भएका परिवारका सदस्यलाई जीवन धान्न सक्नेगरी व्यवस्थापन गर्नुपर्छ । यो उसको दायित्व हो । त्यसो भए उनीहरुले सडकमा सामान बेच्न आउनु नै पर्दैन । भिन्न क्षमता भएका निर्दोषलाई पक्राउ गरी कारबाही गर्नु गलत ठहरिन्छ ।

सरकारले राजधानीमा आएर बसोबास गरेका अपाङ्गता भएका व्यक्तिलाई जीवन चलाउन सक्नेगरी मासिक खर्चको व्यवस्था गर्नुपर्छ । होइन भने एउटा सामान्य नागरिकले आफ्नो जीवन धान्न गरेको सामान्य कामलाई हस्तक्षेप गर्नु महानगरको गम्भीर भूल हो । महानगरले सडकका सहयोगापेक्षीलाई उद्धार गरेर मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्नेगरेको, उनीहरुको स्वाथ्य उपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुनर्मिलन गराउने गरिएको जनाएको छ ।

मुलुक भ्रष्टाचारका कारण निर्धन बनेको सर्बविदित छ । बालेन साहलाई जति आलोचना गरेपनि उनी भ्रष्टाचारबाट मुक्त भएका कारण सबैका प्रिय नै छन् । तर, आलोचनाको पहाड यसरी नै उचालिरहने तर साह र महानगरको कार्यकारी परिवार चुपचाप बसिरहने हो भने लोकप्रियता कायम रहनेछैन । एक त, आलोचना हुने काम नै गर्नुभएन, गर्नुनै पर्नेभए पर्याप्त तर्क दिनुप¥यो । महानगरको मन अनुदार हुनुहुन्न !

प्रतिक्रिया दिनुहोस्