धुलिखेलको ठुलीचौरमा आगलागी, दुई घण्टापछि सेनाको नियन्त्रणमा

0
Shares

काभ्रे ।

लामो समय सम्म पानी नपर्दा निरन्तरको हावाहुरीका कारण चर्कदो घाममा सामुदायिक वन तथा नीजि क्षेत्रमा आगलागी हुने क्रम बढ्न थालेको छ ।

जिल्ला विपद ब्यवस्थापन समितिले आगलागीका घटना हुन सक्ने भन्दै पुर्व तयारी तथा विपद ब्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको भए पनि आगो लागि सके पछि पुर्ण नष्ट नभएसम्म नियन्त्रण लिन कठिन हुन थालेको छ ।

बुधबार दिउसो सदरमुकाम धुलिखेल नगरपालिकाको वडा नम्वर ९ स्थित धोबीखोला सामुदायिक वनको ठुलीचौरमा आगलागी भएको छ । धुलिखेलमा रहेको कालीजंग गणको टोलीले उक्त क्षेत्रमा भईरहेका आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ ।

धुलिखेल नगरपालिकाको दमकल, नेपाली सेनाको कालीजंग गण तथा स्थानीयहरुको सहयोगमा दुई घण्टापछि आगलागी पूर्ण रुपमा नियन्त्रण भएको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले जानकारी दिनु भयो ।

आगलागीबाट ठुलीचौरमा रहेका विभिन्न जातका रुख विरुवाहरु नष्ट भएका छन् । जंगलसँगै जोडिएको बस्ति जान सक्ने भएकाले नेपाली सेनाको टोलीले जंगलमा लागिरहेको आगो नियन्त्रणमा लिने अथक प्रयास गरेको थियो ।