पदाधिकारीविरुद्ध देउवा पक्षकै नेताको मेर्चाबन्दी

0
Shares

काठमाडौं । देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र खस्कँदै गएको भन्दै सभापति शेरबहादुर देउवा पक्षकै केन्द्रीय सदस्यहरू पार्टी पदाधिकारीविरुद्ध मोर्चाबन्दीमा उत्रिएका छन् । पार्टीको निर्णय प्रक्रियामा सभापति, पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई भूमिकाविहीन बनाएको भन्दै संस्थापन पक्षका केन्द्रीय सदस्यहरू नै मोर्चाबन्दीमा उत्रिएका हुन् ।

विगत सात महिनादेखि पटकपटक सरेको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालीन बनेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा ठोस निर्णय लिन नसकेको कांग्रेस नेतृत्वप्रति केन्द्रीय समितिकै नेताहरू सन्तुष्ट छैनन् । सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका कारण चुनावी तालमेल गरेको पाँच दलीय गठबन्धन उहाँकै कारण भत्किएको र पार्टीले राज्यशक्तिका सबै निकाय गुमाउन पुगेको भन्दै संस्थापनइतर समूहले नेतृत्वको आलोचना गरिरहेको छ । यही अवस्थामा मंगलबार संस्थापन पक्षकै केन्द्रीय सदस्यहरूको छुट्टै भेला गरेर देउवालाई दबाब बढाएका छन् । सभापति देउवा पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरूले दोस्रोपटक अलग्गै भेला गरेका हुन् ।

केन्द्रीय सदस्य मीन विश्वकर्मा, नैनसिंह महर, पुष्पा भुसाललगायतले गरेको भेलामा सहभागी नेताहरूले पार्टी सभापति देउवा, पदाधिकारी र कार्यसम्पादन समितिको कब्जामा परेको गुनासो गरेका छन् । भेलामा केन्द्रीय सदस्यहरू रणबहादुर रावल, गोविन्द भट्टराई, शान्ति परियार, कुन्दन काफ्ले, चिनकाजी श्रेष्ठ, अब्दुल सतार, सरस्वती तिवारी, योगेन्द्र चौधरी, हरिशरण नेपाली, विद्या तिमिल्सिना, चन्द्र केसी, शुशिला थिङ, रूपा विक, राजिव ढुंगाना, कृष्णकिशोर घिमिरे, गणेश लामा, कर्णबहादुर बुढा, सीता देवकोटालगायत नेताहरूको सहभागिता रहेको थियो । संसदको सबैभन्दा ठूलो दल भए पनि सरकारको नेतृत्वबाट बञ्चित हुन पुगेको कांग्रेले राष्ट्रपतिको निर्वाचन अघि बैठक बोलाउन आँट गरेको छैन् । स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको निर्वाचन सकिएर सरकार गठनका प्रक्रियाहरू सकिँदा समेत केन्द्रीय समितिको बैठक बोलाएर समीक्षा समेत नगरिएको उनीहरूको आक्रोश छ ।

‘सभापति देउवा सरकारमा हुँदा र सत्ताको चाबी खोसिँदासमेत तीनवटा निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा समीक्षा हुन सकेको छैन’, भेलामा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रिय राजनीतिका सवालमा केन्द्रीय कार्यसमितिमा छलफल गराउनुपर्नेमा पार्टीभित्र पदाधिकारीहरूले मात्रै निर्णय गर्ने तर, काम नलाग्ने निर्णय गरेर पार्टीलाई अझ कमजोर बनाउँदै लगिएको छ । यसलाई सच्याउनुपर्छ भनेर हामीले दबाब दिएका हौं ।’

सभापति देउवा, पदाधिकारी र शीर्ष नेताहरूले केन्द्रीय समितिलाई बाइपास गरेको भन्दै संस्थापन पक्षकै केन्द्रीय सदस्यहरू मोर्चाबन्दी गरेरै विरोधमा उत्रिनुपरेको उनीहरूको भनाइ छ । कांग्रेसले स्थानीय तहको निर्वाचनपछि गत असार २७ देखि साउन २ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक गरेको थियो । त्यसयता अहिलेसम्म बैठक बस्न सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि त्यसबारे समीक्षा गर्न सभापति देउवाले बोलाएको बैठक तीन पटक स्थगित भइसकेको छ ।

पार्टीको निर्णय प्रक्रियामा पदाधिकारी र कार्यसम्पादन मात्रै हाबी हुँदा पार्टीले थुप्रै असफलताहरू बेहोरेको महरले बताउनुभयो । ‘लामो समयदेखि केन्द्रीय समितिको बैठकसमेत नराख्ने, छलफल र समीक्षा गर्ने कुराबाट टाढा भाग्ने प्रवृत्ति देखिएको छ,’ उहाँले नेतृत्वप्रति टिप्पणी गर्दै भन्न्ुभयो, ‘पार्टीको सबै निर्णय अवैधानिक पदाधिकारी बैठक र कार्यसम्पादन समितिबाट मात्रै गर्नु राम्रो होइन, त्यसै पनि उहाँहरूको असफलता छताछुल्ल भइसकेको छ । यसरी पार्टी चल्न सक्दैन ।’ भेलामा सहभागी नेताहरूले पार्टीको भ्रातृ संस्थाहरूको पुनर्गठन र संगठन विस्तारकामा समेत पार्टीले ताकेता गर्नुपर्ने जोड दिएका छन् । सभापति देउवाको गतिविधिलाई आफ्नै पक्षका केन्द्रीय सदस्यले समेत विरोध जनाउन थालेका छन् ।

सभापतिलगायत पार्टी पदाधिकारी र कार्यसम्पादन समितिले केन्द्रीय समितिलाई बेवास्था गरेकोप्रति केन्द्रीय सदस्यहरूको असन्तुष्टि भेलामा सहभागी रहेको केन्द्रीय सदस्य राजीव ढुंगानाले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘ हाम्रो छलफल पार्टीलाई कसरी गति दिने सकिन्छ भन्ने नै हो मूल ध्येय हो । तर, सभापति पदाधिकारी र कार्यसम्पादन समितिले नै सबै निर्णय गर्ने हो भने किन चाहियोर केन्द्रीय समिति ? यो त गैर लोकतान्त्रिक चरित्र भयो, हामीले त्यसैका विरुद्दमा खबरदारी गर्न थालेका हौं ।’ उहाँका अनुसार सो भेलामा पार्टी संस्थापन समूहका मात्रै केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो । संस्थापनइतर समुहको दबाब कायमै रहीरहेको अवस्थामा आफ्नै पक्षका नेताहरूले समेत छुट्टै भेला बोलाउन थालेपछि सभापति देउवालाई थप दबाब बढेको छ ।

यसअघि पनि केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गर्दै छुट्टै भेला गरेर दबाब दिएका थिए । त्यही दबाबका कारण सभापति देउवाले प्रतिनिधिसभाको चुनावपछि त्यसबारे समीक्षा गर्न पुस २२ मा बैठक बोलाएका थिए । तर, त्यो बैठक अन्तिम समयमा स्थगित गरेर २८ पुसका लागि सारिएको थियो । तर, २८ पुसमा पनि केन्द्रीय समिति बैठक बसेन । देउवाले माघ १५ कालागि बैठक स्थगित गरेका थिए । माघ १५ देखि बस्ने भनिएको बैठकसमेत नबसेपछि नेताहरूले फेरि दबाब बढाएको बताएका छन् । कांग्रेसँग गठबन्धन तोडेर एमालेलगायत सात दलसँगको सहकार्यमा सरकार गठन गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत दिनन हुने पक्षमा उभिएका संस्थनपनइतर समूहका नेताहरूको कुरा बेवास्था गर्दै सभापतिले विश्वासको मत दिने गलत निर्णय गरेको आरोप खेप्दै आउनुभएको छ ।

चुनाव पछिको सत्ता समीकरण र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका सन्दर्भमा पार्टी नेतृत्व र उहाँका निकटस्थहरूले खेलेको भूमिकका विषयलाई संस्थापनइतर समूहले बैठकका मुख्य एजेन्डा बनाउने भएका छन् । ती एजेन्डालाई बैठकमा उठाउदा संस्थापन पक्ष जवाफ दिनसक्ने अवस्थामा नरहेकाले निरन्तर बैठक सारेको संस्थापनइतर समूहका नेताहरूले आरोप लगाउँदै आएका छन् । साविकको पाँच दलीय गठबन्धन कायम राख्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत असफल भएपछि आन्तरिक विवादमा फसेको कांग्रेसभित्र पछिल्लो समयमा संस्थापन पक्ष र इतर समूहभन्दा पनि शीर्ष तहका नेताहरू र केन्द्रीय सदस्यहरूबीच दूरी बढेको एक केन्द्रीय सदस्यले बताए । राष्ट्रपतिको निर्वाचनपछि मात्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीमा रहनुभएका सभापति देउवालाई पदाधिकारी र शीर्ष नेताहरूको समेत साथ दिएको केन्द्रीय सदस्यहरूको आरोप छ ।