राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मितिबारे सरकारलाई जानकारी

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति क्रमशः फागुण २५ गते बिहीबार र चैत्र ३ गते शुक्रबार तोकिएको विषयमा सरकारलाई औपचारिक जानकारी दिएको छ ।

आयोगले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सरकारलाई जानकारी गराएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले निर्वाचनको मितिबारे जानकारी दिने क्रममा आयोगको लागि आवश्यक वित्तीय, सुरक्षा, कर्मचारीको प्रबन्ध गरिदिन पनि सरकारलाई आग्रह गरेको बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचनबारे सरकारलाई जानकारी दिएसँगै सरकारले आधिकारिक सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने आयोगले जनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकिएपछि आयोगले सरकारलाई औपचारिक रूपमा जानकारी दिने प्रचलन छ ।

निर्वाचनको मिति तोकिएसँगै निर्वाचन कार्यतालिका प्रकाशन गरेको आयोगले सोहीअनुरूप तयारी अघि बढाएको आयोगले जनाएको छ । शुरूमै मतदाता नामावली संकलन अघि बढाउने आयोगले जनाएको छ । त्यसपछि निर्वाचन अधिकृतहरूको नियुक्ति गरिने छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा निर्वाचनमा सम्पादन गर्नुपर्ने कामका लागि आयोगले न्यायपरिषद्को परामर्शमा उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गर्ने उल्लेख गरिएको छ । त्यसपछि निर्वाचनमा लाग्ने अनुमानित खर्च विवरण तयार गर्ने कार्यहरू क्रमशः शुरू हुने जानकारी दिँदै प्रवक्ता पौडेलले भन्नुभयो– ‘निर्वाचनको लाग्ने खर्चको हिसाब गरी सरकारलाई पठाउने छौं ।’ नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ । सो धाराको उपधारा (१) मा राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने भनिएको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ ।

मतदाता नामावलीमा प्रतिनिधिसभा सदस्य २ सय ७५ जना, राष्ट्रिय सभाका कुल सदस्य ६१ जना र सातवटै प्रदेशसभा सदस्य ५ सय ५० जना गरी कुल ८ सय ८६ जनाको नाम रहने छ । मतगणना गर्दा संघीय सांसद् र प्रदेश सांसद्को अलग अलग मतभार कायम हुने छ । त्यसै गरी २०६८ सालको जनगणनालाई कुल संघीय सांसदले भाग गरी आएअनुसार संघीय सांसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्र काठमाडौंमा बनाउने भएको छ । संघीय संसद र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गर्ने पनि आयोगले जनाएको छ ।