‘राजश्व असुल र पुँजीगत खर्च हुन नसक्दा आउँदो बजेट दबाबमा’ : अर्थमन्त्री पौडेल

0
Shares

काभ्रे । 

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक बनाउने अभियान शुरु भएको बताउनु भएको छ ।

‘राजश्व परिचालन, पुँजीगत खर्च तथा अन्य सुचकांकहरु निराशाजनक छन्’–उपप्रधान एवं अर्थमन्त्री विष्णु पौड्यालले भन्नुभयो–‘सरकार गठन भए लगत्तै अर्थतन्त्रका सबै सुचक सकारात्मक बनाउन पर्ने चुनौतीलाई कार्यान्वयन गरिरहेका छौं ।’

काठमाडौ विश्वविद्यालय बलराम–तारा इनर्जी ब्लक (२८ ए) को उद्घाटन गर्दै मन्त्री पौडेलले यतिखेर राजश्व परिचालनमा पछि परेको बताउनुभयो । ‘राजश्व संकलन लक्ष्यको तुलनामा मात्रै कमी भएको छैन, गत वर्षको तुलनामा समेत कमी भएको छ’–मन्त्री पौडेलले भन्नुभयो–‘राजश्व संकलन कमी भएका कारण आउँदो वर्षको बजेटको दबाबमा छौ ।’ चालु वर्षको ६ महिनामा पुँजिगत खर्च १५ प्रतिशत मात्रै भएकाले आम्दानी र खर्च दुबै हुन नसकेको उहाँले बताउनु भयो ।

‘मुलुक आर्थिक दृष्टिकोणका हिसावले दबाबमा छौं’–उहाँले भन्नुभयो–‘नीतिगत र ब्यवहारीक समस्या समाधानका लागि यो सरकार सबै चुनौती सामना गरेर गतिविशिल र विकसित बनाउने योजना सहित काम गरिरहेका छौं ।’मन्त्री पौडेलले युवा जनशक्ति गुणस्तरीय जीवनपयोगी शिक्षाका लागि विदेशिनु पर्ने अवस्थाका अन्त्य गरी नेपालका विद्यार्थी र पूँजी बाहिरन रोक्न सरकारको तर्फबाट पहल भएको बताउनुभयो ।

‘काठमाडौं विश्वविद्यालय विश्वमै गर्व गर्ने संस्थाका रुपमा अघि बढेको छ’–मन्त्री पौडेलले भन्नुभयो–‘यो विश्वविद्यालय जस्तै नेपालका शैक्षिक संस्थामा विदेशी विद्यार्थी आउने तर नेपाली विद्यार्थी अन्य देशमा नजाने परिस्थिती निर्माण गर्नु आजको चुनौती र आवश्यकता छ ।’

श्रममा गएको ब्यक्ति नेपाल फर्किए पनि पुँजी लिएर अध्ययन गर्न गएको योग्य ब्यक्ति नेपाल नर्फकँदा नेपालका हरेक क्षेत्र प्रभावित हुन थालेको उहाँले बताउनुभयो । काठमाडौ विश्वविद्यालयको उक्त भवन निर्माणमा सहयोग पु-याउने स्व. बलराम प्रधानका बारेमा चर्चा गर्दै मन्त्री पौडेलले विकास र समाजका लागि जन्मिएका ब्यक्तिहरुले मृत्यु पर्यन्त समेत अमिट छाप राख्ने उदाहरण बनेकोमा उहाँ र उहाँको धर्मपत्नि तारा मानन्धरको प्रशंसा गर्नुभयो ।

उक्त भवन काठमाडौ विश्वविद्यालयले इनर्जीको विविध प्रयोजनका लागि प्रयोग गर्नेछ । विश्वविद्यालयको सपनाका रुपमा रहेको ग्रिन इनर्जी परियोजनामा सरकारले सहयोग गर्ने मन्त्री पौडेलले बताउनुभयो ।सोहि अवसरमा काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रो.डा. भोला थापा, रजिस्ट्रार प्रो.डा अच्युत वाग्ले लगायतले विश्वविद्यालयले शैक्षिक क्षेत्रमा पु-याएको योगदान र विश्वविद्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

नेपालको नीति तथा केहि प्रावधानका कारण नेपालमा अध्ययन गर्न चाहने विद्यार्थीहरु पनि विदेशिन बाध्य भएको बताउँदै स्वदेशमै अध्ययन गर्न सहज हुने नीति निर्माण तथा परिमार्जन गर्न उहाँहरुले सरकारलाई ध्यानार्कषण गराउनुभएको छ ।
२ करोड ६८ लाख ९१ हजार ८ सय ६४ रुपैया लागतमा निर्मित बलराम–तारा प्रधान इनर्जी ब्लकका लागि स्वर्गिय बलराम प्रधानको परिवारबाट ४५ लाख सहयोग भएको थियो । इनर्जी क्षेत्रमा लामो समय देखि नेपालमा रहेर काम गरिरहेका अमेरिकी नागरिक डान जेनतेजेनको थप ५ हजार डलर सहयोग रहेको थियो ।

अपुग श्रोत विश्वविद्यायल आफैले जुटाएको थियो । विश्वविद्यायलले प्राथमिकतामा राखेको उर्जाका क्षेत्रमा काम गर्ने गरि उक्त भवनको उपयोग गरिने छ । १५जुलाई २०२१ माशुरु भई १८ महिनामा सम्पन्न बेसमेन्ट सहित तिन तल्ले भवनको पहिलो तल्ला आधारभुत मेकानिकल इन्जिनियरिङ्गका लागी, दोश्रो तल्ला इनर्जी सिष्टमका लागि र तेश्रो तल्ला ग्रिन हाइड्रोजनका क्षेत्रमा अध्ययन र अनुसन्धानका लागी प्रयोग हुनेछन् ।

दाता व्यक्ति र संस्थासंगको सहकार्यमा विश्वविद्यालयका आधारभुत संरचनाहरु निर्माण र मर्मत गर्दै आएको काठमाडौं विश्वविद्यालयका लागी यो अर्को उदाहरण भएको र यसले अन्यदाता, व्यक्ति र संस्थाहरुलाई पनि विश्वविद्यालयसांग सहकार्य गर्न आकर्षण गने उपकुलपति थापाले बताउनु भयो ।