क्याम्पसभित्र निर्वाचन कार्यक्रम गर्न रोक

0
Shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रचारका क्रममा सरकारी कोषबाट तलबभत्ता लिने कुनै पनि व्यक्ति वा संस्थाका कार्यक्रमहरू क्याम्पस हाताभित्र गर्न प्रतिबन्ध लगाइएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको स्ववियु निर्वाचन आचारसंहितासम्बन्धी प्रस्तावित निर्देशिका–२०७९ मा सो व्यवस्था गरेको हो ।

समितिले आइतबार साँझ २२ विद्यार्थी संगठनसँग छलफल गरी १५ बुँदे निर्देशिका तयारी गरेको छ । यो महिनाको अन्तिममा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने गरी छलफल शुरू गरेको समितिले हिजो आचारसंहिताको निर्देशिका सार्वजनिक गरेको हो । ‘समितिले निर्देशिका सार्वजनिक गरेको छ, केही संशोधन गर्नुपर्ने विषयलाई समावेश गरी एक साताभित्र निर्देशिका जारी गर्नेछौं’ –समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले भन्नुभयो ।

चैत ५ गते हुने निर्वाचनका लागि तयार गरेको निर्देशिकाका आचारसंहितामा निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वाल पेन्टिङ गर्न नपाइने, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टाँस्न नपाइने, त्रिवि वा क्याम्पसलाई हानि नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार गर्न नपाइने, निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन समितिले सञ्चालन गर्ने परिचयात्मक कार्यक्रमलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्यहरू बोल्न नपाइने उल्लेख छ ।

आचारसंहिताअनुसार निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दाखिला गर्ने दिन उम्मेदवारको उमेर २८ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।
त्यसै गरी सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एक रङ भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

विद्यार्थी संगठनसँग छलफल गरी निर्देशिका तयार गरेको समितिको भनाइ छ । निर्देशिकाको विषयमा फरक धारणा देखिएको छ । नेविसंघले उमेर हद हटाउनुपर्ने धारणा राखेको थियो । नेकपा एकीकृत समाजवादी विद्यार्थी संगठनले पूर्ण समानुपातिक निर्वाचन हुनुपर्ने बताएका थियो । तर, त्रिविले गत निर्वाचनमा भएको प्रणालीअनुसार निर्वाचन गर्ने जनाएको छ ।

त्रिविले मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने, निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रमुखले एक जना निर्वाचन अधिकृत र आवश्यकताअनुसार सदस्य थपेर निर्वाचन समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

विद्यार्थी संख्याको आधारमा २ सय जना विद्यार्थी भएमा ५, २ सय १ देखि १ हजारसम्म विद्यार्थी भएमा ७, १ हजार १ देखि ३ हजार विद्यार्थी भएमा ९ र ३ हजार १ देखि ५ हजारसम्म ११ र ५ हजारदेखि माथि विद्यार्थी भएमा १३ सदस्यीय निर्वाचन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । त्रिविको ६२ आंगिकसहित करिब ७ सय सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन हुनेछ । त्रिविको तथ्यांकअनुसार देशभर १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

समितिका सदस्यसचिव अधिकारीले निर्वाचनको कार्यतालिका र अन्य विषयमा छलफल गर्न आज २ बजे उपत्यकाका क्याम्पस प्रमुख र बेलुकी ६ बजे ६२ वटै आंगिक क्याम्पसका क्याम्पस प्र्रमुखसँग अनलाइन बैठक राखेको जानकारी दिनुभयो ।