नयाँ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते

0
Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीको पदावधि सकिने चार दिनअघि आगामी फागुन २५ गते बिहीबार नयाँ राष्ट्रपतिको निर्वाचन गराउने भएको छ ।

आयोगले सरकारसँग छलफल गरी निर्वाचनको मिति सोमबार घोषणा गरेको हो । र उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते शुक्रबार तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचनको सम्बन्धमा संविधान र कानून बाझिएको भन्ने बहस भएपछि मिति तोक्ने विषय आयोगले ढिलाइ गर्दै आएको थियो । राष्ट्रपति तथा उपनिर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार बहालवाला राष्ट्रपतिको पदावधि सकिनुभन्दा भन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था रहेको छ ।

संविधानमा संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने भनिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन– २०७४ को दफा ४ ले राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । ऐनअनुसार एक महिना अघि निर्वाचन गर्दा दुई जना राष्ट्रपति हुने तर्क गर्दै आयोगले बहालवाला राष्ट्रपति भण्डारीको पदावधि सकिने चार दिनअघि नयाँ राष्ट्रपति निर्वाचनको मिति तय गरेको थियो । ‘समयसीमा केही यताउति भए पनि बहालवाला राष्ट्रपति भण्डारीको पदावधि सकिनुअगावै आयोगले मिति तय गरेका छौं’–आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

२०७४ साल चैत्र ४ गते पदबहाली गर्नुभएका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ निर्वाचित हुनुभएकाले सो अगावै उपराष्ट्रपतिको मिति तोकिएको पनि आयोगले जनाएको छ ।

निर्वाचनको मिति तोकिएसँगै आयोगले निर्वाचन कार्यतालिका प्रकाशित गरेको छ । राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली स्वीकृत गर्ने, सो दिन १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिने र छानबिन गर्ने र फागुन १२ गते मतदाताको अन्तिम नामावली प्रकाशित गर्ने छ ।

फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तय गरिएको प्रवक्ता पौडेलले बताउनुभयो । सो दिन उम्मेदवार मनोनयन पत्रको दर्ताको सूची प्रकाशित गर्ने, फागुन १४ गते उम्मेदवारका विरोधमा उजुरी दिने र सोही दिन र फागुन १५ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । फागुन १५ गते उम्मेदवारको नामावली प्रकाशन, फागुण १६ गते उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशित गर्ने छ ।

उपराष्ट्रपति निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, सोही दिन उम्मेदवारको सूची प्रकाशन गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिने दिन तोकिएको छ । फागुन २८ गते उम्मेदवार उपर उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारको नामावली फिर्ता लिने र अन्तिम नामावली प्रकाशित हुनेछ ।

राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचन आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच र पाँचजना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्तिले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने भएमा बन्दसूचीबाट नाम फिर्ता लिनुपर्ने पनि आयोगले जनाएको छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदान केन्द्र काठमाडौंमा बनाउने भएको छ । संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गर्ने आयोगले जनाएको छ ।

निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक प्रावधान रहेको छ । कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ । त्यसमा कुल मतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् । मतगणनाका लागि संघीय सांसद् र प्रदेश सांसदको मतभार कायम गरिदिने छ । विगतमा संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको थियो ।

संविधानको भाग ६ को उपधारा ५ अनुसार कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस मतदानमा कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार आगामी ५ वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् । राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने व्यवस्था रहेकाले राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको जानकारी सरकारलाई दिएपछि सोसम्बन्धी सूचना नेपाल राजपत्र प्रकाशित हुनेछ । आयोगले सोका लागि मुख्यसचिवमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र लेखी पठाउने पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । आयोगले सोही पत्रमा नै सरकारले निर्वाचनको लागि गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने व्यहोरा पनि खुलाएर पठाउनेछ ।