शहीदको सपना र समाजको रुपान्तरण

0
Shares

हामी साताव्यापी शहीद सप्ताह मनाउँदै छौँ तर शहीदका सपनालाई लत्याउँदै छौँ । हाँसेर तिनले जीवन उत्सर्ग गरे तर हामी भने रोएर जिइरहेका छौँ, कतै स्वर्गका शहीदले देशको अवस्था थाहा पाए भने ती पनि त्यहीँ रुन्छन् होला । केमा छैन विकृति यहाँ ? राजनीतिले बिगारेको पाटो समाजको स्वरुप कुरुप बन्दै छ, मौलिकता हराएको छ, विदेशीले परेड खेल्न थालेका छन्, सिमानामा अतिक्रमण भएको छ, नाफाखोरहरुको जगजगी छ, शिक्षा, स्वास्थ्य बिचौलियाको हातमा छ, बजार अनियन्त्रित छ, दलहरुलाई देशको भन्दा निर्वाचनको हतारो, सरकार बनाउने र फाल्ने, दलीय भागवण्डा, आफन्तहरुलाई राजनीतिक रोजगारीको चटारो छ । निर्वाचन कसका लागि हो, निर्वाचित संस्था किन कोमामा गयो, ब्यूँतिएर संस्थाले एमसीसी र एसपीपी मात्रै ल्यायो कि वा ताजा जनादेश लिएर पनि उही प्रवृत्ति दोहोरिएको छ कि ? शहीदहरुले कुन आँखाले हेरेका छन् त ? हिजो अख्तियारको एउटा सानो भवन थियो बबरमहलमा, आज टङ्गालको आलिसान भवन अनि देशैभरि यसका संयन्त्रहरु छन् र यी यस्तै अन्य संयन्त्रहरुको ताँती नै छ र पनि ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले के देखायो, सबैलाई अवगतै छ । सुशासनको आदर्श खोइ त ? जिम्मेवारी र जवाफदेहिता कता हराइरहेको छ ? शहीदले लोकतन्त्र, गणतन्त्र, संघीयता ल्याए भनिन्छ तर तिनका परिवारले के पाए वा अरु दर्शक बनेका आमसर्वसाधारणले के पाए, एउटै भवनमा ५ वटा मन्त्रालयहरु अनि देशलाई चिराफारा गरेर भागवण्डामा, दलको निहित स्वार्थमा । ३ करोड जनता बस्ने दिल्ली कस्तो छ र ३ करोड नपुगेको यो देशको जनतालाई कति पीडा छ, देशको अवस्था कति जर्जर छ भनिरहनुपरोइन, देश दलदलमा फसेको छ, करको मारमा जनता पिल्सिएका छन्, व्यापारघाटा चुलिएको छ, नाना, खाना, छानाका लागि विदेशीको हात थाप्नुपरेको छ, नेताले बाँडेका सपनाहरुको आत्मरतिमा जनता भुलेका छन्, चुनावबाहेक देशमा नेताहरुले के गरे ? शहीदले त सोध्लान् नै, अशहीदहरुले पनि सोध्नुपर्ने बेला भएन ?

विद्धान्हरुले भनेका छन्– मानिस स्वयंमा ईश्वरको अनुग्रह हो । तिमीहरु सबै दिव्यात्मा रुप हौ, तिमीहरु जान्न चाहन्छौ, के तिमीहरुलाई पनि स्वामीको शक्ति प्राप्त हुनसक्छ ? अवश्य सक्छ, मेरो अनुकरण गर, तिमीलाई पनि सबै क्षमता सुलभ हुनेछ । यो शक्ति तिमीभित्र मौजुद छ, फरक यति छ कि तिमीलाई यो थाहा छैन, सत्य साई बाबाको भनाइ हो यो । उनको यो स्वचिन्तन र स्वाध्यायबाट यो थाहा हुनसक्छ भने वैदिक चिन्तनको थलो नेपाली भूमिमा जन्म प्राप्ति मात्रै पनि गौरवको विषय हो, कारण यो देश जनकको हो, जानकीको हो, बुद्धको हो, पशुपतिको हो तर अहिले पशुपतिमै रडाको छ, व्यापारीकरण छ, पर्यटन भन्दै गर्दा आकाश असुरक्षित छ, रिसोर्टहरुमा आफन्तको भीड छ, धरापमा गैँडाहरु परेका छन्, मानौँ धरापमै धेरै मानिस शहीद भएका हुन् यहाँ । सत्यताबाट आफूलाई चिनेर लोक कल्याण हुनसक्छ, विवेक चूडामणिको भनाइ हो यो । संगत अनुसार नै व्यक्ति वा वस्तुमा परिवर्तन आउँछ, भतृहरिको कथन हो यो । घरपरिवार आपसी सद्भाव र प्रेम, शुद्धता र विश्वास, वृद्धलाई श्रद्धा र किशोरलाई सम्मान भएको ठाउँ राम्रो हुन्छ, महात्मा बुद्धले भनेको हो । संसारमा जति मानिस छन् ती कसैको पनि औंठाको छाप एक–अर्कासँग नमिलेझैँ बानी व्यहोरा पनि मिल्दैन, तथापि हामी एक–अर्काका परिपूरक भएर समाजलाई स्वस्थ बनाउनुपर्छ, सबैको हित हुने कार्यमा लाग्नुपर्छ । कारण सबै प्राणी मरणशील छन् । रोगी मानिसका लागि प्रेमपूर्वक व्यवहार र एउटा मीठो बोलीवचन पनि सय डाक्टरभन्दा ठूलो हुन्छ, ब्रह्म चैतन्यको भनाइ छ । समाज र ईश्वर दुवैप्रति प्रेम राख्न शरीर स्वस्थ भनौँ निरोगी हुनुपर्छ । हाम्रो शरीरमा लाग्ने धेरै रोगहरु आप्mनै कारणले लाग्ने गर्छन्, बाह्य कारण पनि छन्, प्रदूषण, खोइ त निराकरण ? हाम्रो विज्ञान कति असफल छ, पोखरामा ७२ जनालाई एकै चिहान बनायो, सामान्य भाइरल रुघाखोकीले समेत विश्वमा लाखौँको जीवन समाप्त त भएकै हो । अहिले पनि चीन यसमा लड्दै छ, अन्यत्र पनि सावधान हुन जरुरी छ ।

हो रोग सबैतिर छ, तर एकपटक देशले देवकोटाजस्ता स्वास्थ्यमन्त्री पनि पाएको हो, अहिले डा. रुइतले पुरस्कारमा देशको नाक ठड्याएका छन् । महावीर पुन, कुलमानहरु पनि छन् । हर्क, रवि, हमाल, बालेनहरु पनि देखिएका छन् तर सत्ताको चास्नीमै रमाए भने देश फेरि उही समस्याको जालोभित्र छिर्ने हो । विज्ञ, योग्य व्यक्तिलाई माथिल्लो सदनमा ल्याउन सकिने प्रावधान छ तर दलको भागवण्डा नै जरुरी छ त्यसमा पनि । हिजोआज मधुमेह, रक्तचापजस्ता नसर्ने कडा र सर्ने रोगहरु पनि धेरै देखिएका छन्, हाम्रो देशले न स्वास्थ्य वा शिक्षाक्षेत्रमै फड्को मार्न सकेको छ, विकासका नाममा आधा वर्षमा १४ प्रतिशत पूँजीगत खर्च भएको छ तर चालू खर्च बेहिसाब छ । मानव पूँजी रोगग्रस्त हुनु र भएको उर्बर जनशक्ति विदेश पोखिनु भनेको देश पनि रोगी हुनु हो । हाम्रो बजार कस्तो छ, आप्mनो उत्पादन के छ, हामीले स्वस्थ हावा पाएका छौँ कि छैनौँ, यो हेर्ने अभिभावक भनिएको र शहीदको नाम लिइरहने सरकारले हो । बजारमूल्य कस्तो छ, आपैmँले वितरण गरेको पेट्रोलियम पदार्थमा कति नाफा राखिएको छ, कसले हेर्ने त ? हिजोआजको खाना कस्तो–कस्तो छ ? यी कार्यमा चेतना दिने काम दलको हो कि, होइन । नयाँ गाडी चढ्ने र सडकैभरि उफ्रने मात्रै दलको काम हो त ?

नबुभ्mदा मानव आपैmँ राक्षस हो, बुभ्mदा ऊ देवता पनि, मानवले मानवमाथि हतियार उठाउँदा ऊ मुर्ख हो, जनावर हो, पापी हो भन्नुपर्छ, हिंस्रक र हत्यारो त हुँदै हो । धर्मकर्म गर्दा धार्मिक हो, धार्मिक भनेर जोगी नै हुनुपर्ने होइन, गेरु नै लाउनुपर्ने होइन, मन्दिर धाउनुपर्र्ने होइन, जनरक्षा नै धर्म हो । एक युवतीलाई ९ जनाले सामूहिक बलात्कार गर्ने समाजमा जनरक्षा कहाँ भयो त ? शरीर त स्वयं मन्दिर हो, भोगी मात्र हुँदा मानिस पशुतुल्य हुन्छ, सचेत दलपात्रहरुले किन सिकाएनन् यी कुरा ? न्यास भनेको कर्मप्रतिको निष्ठा हो, सुकर्मको परिणाम राम्रो हुन्छ, शुभ कर्मप्रतिको निष्ठा हुनु नै संन्यासी हो, तपस्वी हो, ज्ञानी हो, ऋषि हो, अरुले आएर ऋषिमन भनेर गए, यहाँ किन सिसी लिएर युवती भेट्न गएको त ? शहीदले के भने ? संस्कार खोइ त ? पछिल्लो राजनीतिक परिवर्तनपछि हामीमा भएको मौलिक संस्कृति, संस्कार पनि सबै हराएको छ । समाज निर्दयी भयो, विदेशीको इशारामा धर्म नै हरायो । विज्ञानले असन्तोषी हुनु भने पनि विनाश धेरै निम्तियो । विज्ञानको दुरुपयोग गर्दा मानिस हिंस्रक बन्छ । अहिंस्रक हुन त विवेकी नै हुनुपर्छ, विज्ञान र ज्ञानको सदुपयोेग नै गर्नुपर्छ । दुष्ट बुद्धिले उपकारी होइन्न, बलात्कारी, अत्याचारी, दुराचारी, भ्रष्ट र पतीतको औषधि नै हुन्न । इमानदार व्यक्तिलाई कानुन नै चाहिँदैन, कानुन एक डोको बनाउने, पालना नगर्ने कस्तो संस्कृति छ हाम्रो । असल समाजको निर्माण गर्न नैतिक कानुन जरुरी छ, यो त सिलेबसबाटै हटाइसकेको अवस्था छ यहाँ । मनले शुभ संकल्प, सदाचार, सत् विचार, कल्याणकारी चिन्तन लिई ईष्र्या, क्रोध, आवेग, तनाव, वैमनस्यताबाट टाढा रहेमा मानिसले सर्वत्र विजय प्राप्त गर्न सक्छ । त्यसैले नेतृत्व लिँदा देश उँभो लाग्छ नत्र पर्ने खाल्डोमै हो, उत्रनै नसक्ने गरी ।

कर्म गर फलको आशा नगर, फल स्वतः आउँछ, गीताको वचन हो यो अर्थात् कर्म गर फलाशी नहोेऊ । आफ्नो देशलाई दुर्बल र रोगी बनाएर सधैँ गनगन गर्नु अनि दयाको भिक्षा माग्नुजस्तो ठूलो पाप अर्को छैन । तिमी मलाई आफ्नो संगत भन, म तिमीलाई तिमी के हो भनी बताउनेछु, सत्य साइबाबाकै भनाइलाई कोट्याउँदा यो स्पष्ट हुन्छ । लोभले धर्म र प्रतिष्ठा दुवै नष्ट गर्दछ, महाभारतको भनाइ हो यो । अनुभवविनाको कोरा शाब्दिक ज्ञान अन्धो हुन्छ, अनुभव नै साँचो गुरु हो, विवेकानन्दको भनाइ हो यो । धर्मको काम नै जगत्को प्रतिष्ठा बढाउनु हो, ऋग्वेदले भनेकोे छ । जसले आफ्नो देशका जनताप्रति माया दर्शाउँछ, त्यसका सन्तान बढ्छन् र धेरैले कल्याणको अनुभव पनि गर्दछन्, विदुरनीतिले प्रस्ट्याएको छ । ठूला शहरहरुमा धूर्त, ठग र वेश्यालय बढ्नेछन्, गरिबहरु धनीमानीबाट लुटिनेछन्, महात्मा गान्धीले भनेका छन् । भोजनको प्रभाव मस्तिष्कमा पर्छ । त्यसैले सात्विक भोजन गर्नुपर्छ, प्लेटोले उहिल्यै भनेका थिए । आहार शुद्ध भएपछि मन शुद्ध हुन्छ, मन शुद्ध भएपछि स्मृति शुद्ध हुन्छ, छान्दग्योपनिषद्ले त्यो भन्दा पहिले भनेकोे थियो । परोपकार नै पुण्य हो, परपीडन पाप हो भन्ने वेदव्याव्यासको उक्ति छ । मर्नु फेरि जन्मनु हो भन्ने शहीद शुक्रराज शास्त्रीको भनाइ छ । र, आत्मा एउटा चेतनतत्व हो, जसले रहनका लागि आश्रय लिन्छ र एउटा शरीरबाट अर्को शरीरमा जान्छ । भौतिक शरीर आत्मालाई धारण गर्न विवश हुन्छ भन्ने गेटेको भनाइ छ । मायाले नछोएको चैतन्य नै ईश्वर हो भन्ने वेदान्त वाक्यले हामीलाई सदैव देश सेवा गर्न प्रेरित गर्छ ।

कुरा गरेको भरमा कोही मानिस ठूलो हुन सक्तैन । वाल्मीकि रामायणको उक्तिदेखि खराब मानिसलाई सुधार्ने मुख्य औषधि दया र प्रेम हो भन्ने गान्धीको विचार, श्रद्धा, विश्वास र उत्साहको साथ काम गरे अवश्य सफल भइन्छ भन्ने साइबाबाको भनाइ छ । आपूmलाई इमानदार बनाऊ, पक्कै पनि संसारमा एउटा खराब मानिस कम हुन्छ मन्ने थोमस कारलायको भनाइ छ। हामीले मनन गर्न सके असल समाज निर्माणमा कठिनाइ छैन । इमानदार र बौद्धिक व्यक्तित्वहरुलाई समेटेर देशव्यापी रुपमा सैद्धान्तिक र व्यावहारिक रुपमा चरित्र निर्माणको बहस जरुरी छ, हाम्रो देशमा । अहिले सबैतिर धरापै धराप खडा भएको छ । मुलुकको विकास निर्माण, उन्नति र प्रगति पनि अल्मलिएको छ । लोभ र स्वार्थको फोहोरी खेलबाट बाहिर नआएसम्म नेपाल र नेपालीको प्रगति शून्य नै हुन्छ, भविष्य पनि अन्धकार नै । यस्ता विषयमा गरिने व्यवहारपरस्त कार्यहरुले समाज सुधार हुन्छ । बस्, शहीदको सम्झना त्यसैमा हुन्छ, केवल फोटोमा माला लगाइदिएर के हुन्छ ?