‘मुसा–बिरालाको खेल’ कहिलेसम्म ?

0
Shares

बिरालो कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेको चाहिँ प्रायः गरेर चार किसिमका बिरालाहरु हुन्छन् । तीमध्ये रंगको हिसाबले सामान्यतया पाइने बिरालाहरु खैरो, कालो र सेतो बिरालाहरु हुन् भने हिमालमा पाइने एक विशेष प्रकारको हिमाली बिरालो हो । सम्भवतः नेपाली जनजनले बुझेको बिरालाका प्रकार यिनै हुन् । यीमध्ये सबभन्दा डरलाग्दो बिरालो भनेको कालो ढाडे बिरालोलाई लिने गरिन्छ । केही मुसाहरु बिरालोलाई माया पनि गर्छन् र घृणा पनि गर्छन् । माया गर्ने मुसाहरु थोरै हुन्छन् तर थोरै मुसाहरु कुनै पनि बेला आफ्नै बलि दिन तयार भएर बसेका हुन्छन् । घृणा गर्ने मुसाहरु बिरालोको गन्ध थाहा पाउनेबित्तिकै दुलोमा लुक्न पुग्छन् । किनकि यी मुसाहरुलाई यो कुरा थाहा छ कि बिरालो जति सुधो देखिन्छ त्यति छँदै छैन । कुनै पनि बिरालोले मुसाबाट माया पाउने हो कि घृणा भन्ने कुरा बिरालोको व्यवहारबाट निर्धारित हुन्छ ।

बिरालोको पहिलो विशेषता वा उसले दिने गरेको प्राथमिकता भनेको सकेसम्म माया गरेको देखाउनु नै हो । आफ्नो टाउकोले मानवको गोडामा लुटुपुटु गर्दै फकाएर खानेकुरा माग्नु र आफ्नो पेट भर्नु । यति गर्दा पनि मानवको मन पग्लेन र उसलाई भोकै राख्ने प्रयास भयो भने उसले आफ्नो दोस्रो विकल्प अपनाइछाड्छ । त्यो भनेको प्रायः भान्छा–भान्छा चहारेर दूध, माछा, मासु जे छ त्यसलाई चोरेर खानु नै हुन्छ । देशमा रहेका मानवरुपी बिरालाहरुले थरी–थरीका उत्पातहरु मच्चाउने गर्दछन् । पछिल्लोपटक उत्पात मच्चाएर चर्चाको चुलीमा पुगेको विषय भनेको ६५ लाखे ल्यापटप हो । हो, आजभोलि पछिल्लो समयमा कुनै कार्यालयमा केही–केही ढाडे बिरालाहरुले ६५ लाखको ल्यापटप प्रयोग गरेको चर्चा चलेको छ । तथापि सबै जनजन के भन्छन् भने, यो सार्वजनिक भएको समाचार सत्यचाहिँ नहोस् भनेर कामना गरिरहेका छन् तर दृष्टिगोचर गर्दा चर्चा सत्यमै परिणत होला भन्ने प्रतिशत धेरै देखिन थालेको छ । यदि हो, ६५ लाखको ल्यापटप प्रयोग गरेको चर्चा सत्य निस्कियो भने त्यो कसरी प्राप्त भयो, गोडामा लुटुपुटु गर्दै प्राप्त भएको हो कि भान्छा–भान्छा चहारेर झ्याप पारेको हो, गतिलो अनुसन्धान हुन पुग्यो भने सत्यतथ्य निस्केला ।

राजनीतिक वृत्तका राजनीतिक व्यवसायायीहरुको कतै कमी छैन र राजनीति नछिरेको स्थान पनि कतै छैन । झन् जुन कार्यालयमा ६५ लाखे ल्यापटपको चर्चा चलिरहेको छ त्यहाँ त झन् राजनीति नछिर्ने भन्ने प्रश्नै भएन । साधु बिरालो खोज्दा–खोज्दा जनजन हत्तु भैसके । साधु बिरालो भनेर पत्यायो, पछि गएर ढाडे भएर निस्किहाल्ने । अपवादमा साधु बिरालाको रुपमा एकाध देखा पर्न सक्छन्, जसलाई औँलामा गन्न कुनै कठिन हुनेछैन । चलाख बिरालाहरुको जगजगी भएका ठाउँमा साधु बिरालोले म्याउँ पनि सुखसँग गर्न नपाउने रहेछ भन्छन् जनजनहरु ।

बिरालामध्ये कालो बिरालोलाई प्रायः अपसुगनको रुपमा लिइने गर्दछन् हाम्रा पुस्ताहरु । कतिपय हाम्रा पुस्ताका जनजनहरु साइत पारेर कतै बाटोमा हिँडिरहेको बेला बीचबाटोबाट खैरो वा सेतो बिरालोले बाटो काट्यो भने आज काम नबन्ने भयो भन्दै गनगन गरी आफ्नो गन्तव्यतिर लाग्ने गर्दछन् । यदि कालो बिरालोले बाटो काट्यो भने त कतिपय जन घरै फर्की आएर आफ्नो ओछ्यानमा डङ्ग्रङ्ग लड्दै सारा जहाज डुबेजस्तो गरी बरबाद भयो, आज कालो बिरालोले बाटो काट्यो भन्दै आफ्ना परिवारका सदस्यहरुसँग रोइलो गर्ने गर्दछन् । बिरालोमध्ये झन् भाले बिरालो त उधुम बदमास हुन्छ । आफ्नो सन्तानलाई पनि बाँकी राख्दैन । हो, यो ६५ लाखे ल्यापटपको कथा पनि त्यस्तै हुनुपर्छ भन्छन् जानकारहरु । कति हामीजस्ता बबुराहरु त ६५ लाखको ल्यापटपलाई छुन, चलाउन त परै जाओस्, दर्शन मात्र पाए पनि धन्य हुने अवस्थामा पुगेका छौँ भनेर सगर्व घोषणा गर्न रत्तिभर पनि संकोच मान्नुपर्दैन ।

दलभित्रका कालो खालका भाले बिरालाहरु साखुल्ले हुन खप्पिस छन्, यो ६५ लाखे ल्यापटपको विषयलाई कुनै पनि बेला इन्तु न चिन्तु बनाइदिए भने आश्चर्य मान्नुपर्दैन भन्ने आशंका सबैमा छ । नभन्दै अन्य विषयहरुलाई चर्चाको शिखरमा पु¥याउँदा कतै यो विषयलाई पनि अन्य यस्तै खालका विषयहरुलाई ओझेलमा पारेजस्तै ओझेलमा पार्न खोजिएको त होइन भन्न थालिएको छ । यो विषयमा अहिले चाइँचुइँ कतै छैन । हुन त करोड, अर्ब र खर्बमा खेल्ने र खेलाउने खेलाडीहरुको अगाडि केही लाखेहरुको के अस्तित्व रहन्छ र ? तथापि लाखेलाखे थुप्रै जोड्दा नै करोड र अर्ब पुग्ने हो । मानवरुपी काले बिरालो झन् यति धुर्त छ कि जुनसुकै दलको सरकार होस्, त्यसको भान्छामा पुगेर भान्छेलाई पट्याइहाल्ने क्षमता राख्दछ । उसलाई के थाहा छ भने, भान्छा परिवर्तन गर्दा यदाकदा भान्छामा भान्छे भेटिएन भने पनि उसलाई खानाको समस्याले कतै पिरोल्दैन । भान्छामा भान्छे नभेटिनु त काले बिरालोको लागि झन् स्वर्ग हो । छानी–छानी विभिन्न माछा, मासुलगायत आपूmलाई मन पर्ने विभिन्न मिष्ठान्नहरु ग्रहण गर्ने सुअवसर हो काले बिरालोलाई । भन्छामा भान्छे भेटिएन भने काले बिरालोले भन्छेलाई धन्यवाद दिने गर्दछ, किनकि भन्छामा भएको सबै लट्टिपट्टी पारेर सुधो बिरालोलाई दोष थोपार्ने अवसर मिल्छ काले बिरालोलाई ।

काले बिरालोहरुबीच पनि पाँच वर्षमा एकचोटि तँ ठूलो कि म ठूलो भन्ने होडबाजी चल्ने गर्दछ । मुसाहरुले आपैmँलाई खाने जन्तु हो भन्ने थाहा पाउँदापाउँदै पनि काले बिरालोलाई छान्न बाध्य हुन्छन् र त्यसमा मुसाहरु अभ्यस्त पनि भैसकेका छन् । काले बिरालोहरु यति चलाख छन्, जहिले मुसाहरुबाट छानिने बेला हुन्छ सबै काले बिरालाले अबदेखि तिमी मुसाहरुलाई नखाने कसम खान्छौं भनेर विश्वास दिलाउँछन् । कुनै–कुनै बेला नयाँ जातका काले बिरालाहरुको समेत खोजेर भए पनि प्रवेश गराइन्छ । मुसाहरुले नयाँ बिरालो प्रवेश ग¥यो भन्ने जानकारी पाए भने त झन् उफ्री–उफ्री नवप्रवेशी काले बिरालाहरुलाई छान्छन् । यसपालि बिरालो छान्ने प्रतियोगितामा केही मुसाहरुले यसै गरी छानिटोपलेका छन् । अझ ढाडे बिरालोभन्दा घरपालुवा बिराली बढी खतरा हुन्छ भन्छन् जानकारहरु । कतिपय ढाडे बिरालोहरुले घरपालुवा बिरालीको लहैलहैमा लागेर आफ्नो दाह्रा र नङ्ग्रा आपैmँले झिकेर दराजमा थन्काएर राखेका छन् ।

कहिलेकाँही रंग र वर्ग नमिले पनि विभिन्न रंगका बिरालाहरुले एकता गर्ने गरेका छन् । यसपालि त झन् नयाँ बिरालाहरुसमेत जोडिएर अभूतपूर्व एकताको प्रदर्शन गरिएको छ । मुसाहरुलाई फकाई–फुल्याई तिमीहरुलाई हामी खाँदैनौँ भन्दै भ्रम छरेर थरीथरीका बिरालाहरु थरीथरीका भान्छाहरुमा पुगिसकेका छन् । केही मुसाहरुलाई पनि लोभ्याउन शुरु भैसकेको छ । बिरालाले आफ्नो भकारीको केही धान मुसाहरुलाई छर्ने जमर्को पनि शुरु गरिसकेको छ भन्छन् जानकारहरु । केही विश्वासिला मुसाहरु जो आपूmलाई बिरालोले खाँदैन भनेर ढुक्कसँग लागिपरिरहेका छन् र तिनीहरुले आफ्नो भागमा परेका धानको गेडा चपाउन शुरु गरिसकेका छन् । पैँसट्ठी लाखे ल्यापटपको कथा पनि कतै यस्तै धानको दाना त होइन !

बिरालारुपी राजनीतिक व्यवसायीहरुले जुन रंगको बिरालो नामाकरण गरेर न्वारान गरिएको भए तापनि कुनै पनि कालखण्डमा आफ्नो ज्यान अर्पण गर्ने मुसाहरुको अभिमतलाई कदर गर्ने जमर्को नै गर्दैनन् । मानवरुपी बिरालाहरुको सत्ता प्राप्ति यस्तो विषय बन्न पुग्यो कि सत्ता प्राप्ति नहुन्जेलसम्मको लागि मात्र मुसाको समस्या सम्बोधन गर्ने नाममा मुसाहरुलाई उराल्ने र उचाल्ने कार्य गर्ने अनि जुनसुकै बिरालोले सत्ता प्राप्ति गरे पनि आफ्नै नजिकका मुसाहरुलाई देखावटी माया गर्ने र आपूmलाई अप्ठ्यारो पर्नासाथ त्यसलाई नै खाइदिने गरेका छन् । देशमा रहेका साना–ठूला जति पनि दलीय बिरालाहरु छन् तिनीहरुका मूल उद्देश्य मुसाहरुलाई मार्ने नै हो । मुसाहरु नखाने बाचा त मुसाहरुलाई झुक्याउने परिपञ्च मात्रै हो । पटक–पटक केही मुसाहरुले थरीथरीका बिरालाहरुलाई सचेत गराएकै हुन् । तर बिरालाहरु कहिल्यै सुध्रिनै चाहेनन्, त्यति मात्रै होइन, बिरालाहरुका भीडमा को ढाडे बिरालो बन्ने प्रतिस्पर्धा गर्ने क्रम दिनानुदिन बढ्दै गयो । कतिपय त आपूm ढाडे बिरालो बन्न नपाएको झोकमा वा मुसाकै सहयोगबाट ढाडे बिरालोबाट खैरे बिरालोमा झारिदिएपछि आक्रोशपूर्ण शैलीमा अन्य ढाडे बिरालाहरुलाई सत्तोसराप गर्न थालेको जगजाहेर छ ।

वि.सं. २०४६ मा भएको आन्दोलनपश्चात् देशका भएका दलहरुमा थोरै मात्र ढाडे बिरालोहरुको पहँुच थियो वा रजगज थियो । त्यति बेलै मुसाहरुले ढाडे बिरालोहरुको पहिचान गरी ढाडे बिरालोहरुको ढाडै खुस्काइदिएको भए अहिले ढाडेहरुको रोइलो सुनिरहनुपर्ने थिएन । अहिले पनि विदेशी ढाडेहरु डरलाग्दोरुपमा प्रस्तुत हुने गरेको चर्चा चलेको छ । हेर्दा माया गरेर गोडामा लडिबडी खेल्दै मनोरञ्जन दिने खालको तर भित्री मनसाय दुलोमा लुकेको मुसालाई समेत खोस्रेर भए पनि ल्याउने र सिध्याउने खेल सदियौँदेखि चल्दै आएको हो । यो बिरालो र मुसाको खेलको अन्त्य कहिले र कसले गर्ला ? अभैm गर्भमा नै छ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)