स्याङ्जाको मुहार फेर्ने राजमार्ग स्तरोन्नतिको प्रस्ताव

0
Shares

स्याङ्जा । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्मको सडक १० मिटर चौडा कायम गर्नेगरी स्तरोन्नती गर्ने प्रस्ताव भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायता कार्यान्वयन महाशाखाद्वारा स्याङ्जाका विभिन्न स्थानमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सो को जानकारी गराईएको हो ।

विभागका कन्सल्टेन्ट निरीना खड्गीका अनुसार, ‘सिद्धार्थ राजमार्ग (बुटवल—पोखरा) सडक खण्ड २ लेन क्यारिज वे ७ मिटर र सडकका दायाँबायाँ (दुवैतर्फ) १ दशमलब ५ मीटर शोल्डरसहित कालोपत्रे गरिनेछ । सडकको स्तरोन्नती गरि चौडाई १० मिटर कायम हुनेछ ।’

विभागले बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोकसम्म झण्डैं १ सय ६० किलोमिटर सडक स्तरोन्नति आयोजनाको बारेमा प्रत्यक्ष प्रभावित पालिकामा वातावरणीय प्रभाव मूल्यांकनका बारेमा सार्वजनिक सुनुवाई गर्दे आएको छ । बुटवल उपमहानगरपालिकाबाट माघ ६ गतेदेखि शुरू भएको सुनुवाई कार्यक्रम स्याङ्जामा आइपुगेको हो । यस राजमार्ग अन्तर्गत एक÷एक महानगर र उपमहानगरपालिका सहित ५ नगरपालिका र ५ गाउँपालिकागरी १२ वटा पालिका प्रत्यक्ष प्रभावित क्षेत्र रहेका छन् ।

पहाड र तराईका भू–भाग समेटिएको यस राजमार्ग बिस्तारमा २ हजार ८ सय ८६ रुख काट्नुपर्ने र २ हजार १ सय १० व्यक्तिका घर र २ सय वटा संस्थागत संरचनामा क्षति पुग्ने विभागले जनाएको छ ।

यसैगरी, प्रभावित ब्यक्तिका लागि मुआब्जा र क्षतिपूर्तिको ब्यवस्था, भूउपयोगमा परिवर्तन, भूक्षय, माटो, पानी, ध्वनी, वन विनाश, घर टहरामा क्षति, सामाजिक जनजीवनमा प्रभाव, पानीका मुहान, खानी, वनस्पति, पुल, खोला आदि लगायतको असरका बारेमा स्थानीयका गुनासो एवं सुझाव थिए । गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगर प्रमुख कृष्ण खाँण, भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्य र पुतलीबजार नगर प्रमुख तुलसीराम रेग्मीले दीर्घकालिन योजना अनुरूप सय बर्षका लागि हुनेगरी सडक विस्तार गर्न सुझाव दिनुभयो ।

विकाससँगै विनास पनि जोडिएकाले कम विनासमा धेरै विकास हुनेगरी प्रभावित ब्यक्तिलाई उचित मुआब्जा र क्षतिपूर्तिसहित सडक निर्माण गर्नुपर्ने नगर प्रमुखहरुको भनाइ छ । भीरकोटका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भन्नुभयो, ‘खानेपानी, वनजंगल, जीवजन्तु लगायत वातावरणीय प्रभावको मूल्यांकन गर्दै वातावरणमैत्री सडक निर्माण गर्नुपर्छ । हाम्रा कारणले दीर्घकालिन नकारात्मक असर नपरोस् ।’ जिल्लाका विभिन्न स्थानहरूमा भएको सुनुवाई कार्यक्रममा बोल्ने वक्ताहरूले सिद्धार्थ राजमार्ग १० मिटरभन्दा बढी विस्तारको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

साँघुरो राजमार्गका कारण स्याङ्जाले आर्थिक, सामाजिक एवं औद्योगिक क्षेत्रमा विकास गर्न नसकेको भन्दै विभागको प्रस्तावले आफूलाई उत्साही बनाए पनि १० मिटर मात्रै चौडा गराउनाले फेरी समस्या आउन सक्ने स्थानीय नारायण प्रसाद कोइरालाले बताउनुभयो ।

सडक ऐन २०३१ अनुसार राजमार्गको केन्द्रविन्दुबाट दायाँबायाँ दुवैतर्फ २५÷२५ मिटर सडक मापदण्ड तोकिएको छ । तर, सिद्धार्थ राजमार्गमा भने फरकफरक मापदण्ड लागू गरिएको छ ।