कहिलेसम्म जलिरहन्छन् प्रेमप्रसादहरू ?

0
Shares

काठमाडौं । इलामका प्रेमप्रसाद आर्चायले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि आफूले आफैंलाई आगो लगाएर आत्महत्या गरेपछि अहिले सर्वत्र चासो व्यक्त गर्न थालिएको छ ।

आफ्नो जीवन कहानी र आफूले भोगेका दुःखका बारेमा लामो लेख लेखेर सामाजिक सञ्जालमा पोस्ट गरेको २ घण्टापछि उनले संसद् भवनअगाडि नै आएर आत्मदाह गर्ने निर्णय गरेको देखिन्छ ।

नेपालमा केही गर्छु भन्नेहरूले कस्तो पीडा भोग्नु पर्दछ भन्ने उदाहरणसहित आफ्ना भोगाइहरू र व्यवसाय गर्ने क्रममा भोगेको पीडा, ठूला भनिएका व्यापारीबाट पाएको दुःखसमेत पोखेर आत्मदाह गरेका आचार्यलाई अहिले सान्त्वना दिनेहरूको भीड लागेको छ भने उनको जीवन समाप्त भएपछि सहयोग गर्नेहरूको भीड लगनपछिको पोतेको के काम भनेझैं भएको छ ।

आत्मदाह गर्नुअघि उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेको व्यक्तिगत खातामा पैसा जम्मा गर्नेको भीड लागेको देखिन्छ । तर, किन आर्चायले आत्मदाहको बाटो रोजे भन्ने विषयमा समाजमा जसरी छलफल हुनुपर्ने थियो, त्यो हुन सकेको छैन ।

विदेशमा रहेका नेपालीहरूले उनको परिवारलाई सहयोग गर्न कम्तीमा २० हजार डलर उठाउने अभियान शुरू गरेको घोषणा गरेका छन् । अहिले विभिन्न मिडियामा सहयोग गर्नेहरूको नाम छापिन थालेको छ भने कतिपयले ‘जलेर मर्नु र मरेर जल्नुमा फरक छ सरकार’ जस्ता टिप्पणी गर्दै आफ्नो अनुहार सामाजिक सञ्जालमा भाइरल गराउने होडबाजी नै चलेको छ । किन आचार्यले आत्मदाह गरे ? उनलाई कसकसले धोका दिए भन्ने विषयमा खासै चर्चा नभए पनि राज्यलाई एकोहोरो दोषारोपण गर्ने र समाजको सहानुभूति लिनेहरूको भीड देखिन्छ ।

सामाजिक सञ्जालमा पुष्प अधिकारीले लेख्नुभएको छ– ‘आर्चायले उठाएको विषय सम्बोधन गर्न सकिए मात्रै उनलाई न्याय हुन्छ, पैसा उठाएर केही हुने छैन ।’

आर्चायले मुलुकमा नाम चलेका व्यवसायीबाट प्रताडित भएको खबर सार्वजनिक गर्नुभएको छ । त्यस्ता व्यवसायीमाथि कारबाही गरी अन्य व्यवसायीले पनि आत्मदाह गर्नुपर्ने अवस्था आउन नदिने गरी सरकारले योजना बनाउनुपर्ने अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता अपर्णा धितालले उल्लेख गर्नुभएको छ ।

कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा बुधबार बिहान आर्चायको निधन भएको समाचार बाहिरिएपछि अस्पतालमा बढेको भीडले के सन्देश दिन खाजेको हो, यो पनि सोचनीय विषय भएको छ ।

आर्चायको निधनपछि अस्पताल पुग्नुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आर्चायले उठाएको विषयमा छानबिन गर्ने आश्वासन मृतकका परिवारलाई दिनुभएको छ । उहाँले आर्चायलाई अत्याचार गर्नेमाथि छानबिन गर्ने पनि बताउनुभएको छ ।

चौतर्फी रूपमा आर्चायले उठाएको विषय सम्बोधन गर्न दबाब परेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्चायले उठाएको विषयमा छानबिन गर्ने निर्णय गरेको छ ।

आचार्यले मृत्युअघि सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

आकस्मिक बसेको मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो– ‘आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यस सम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार गर्न निर्देशन दिइएको छ ।’ उहाँले आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी मन्त्रिपरिषद्ले गृह मन्त्रालयलाई दिएको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद् भवनअगाडि दिउँसै आगो लगाएर आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा महामन्त्री शर्माले लेख्नुभएको छ– ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ ! दुखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’

नीति बदलिएर नपुगेको भन्दै थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र होड जरुरी रहेको भन्दै उहाँले लेख्नुभएको छ– ‘नीति बदलिएर पुगेन, थिति बसाल्दै नियति बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । आत्मदाहको ऐनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन ।’