निर्माण कम्पनीको ढिलासुस्तीले विमानस्थलको भवन अल्पत्र, हिउँदेयाम र वर्षातमा यात्रुलाई सास्ती

0
Shares

मुगु । निर्माण कम्पनीको ढिलासुस्तीले रारा विमानस्थलको ट्रस–टर्मिनल भवन अल्पत्र परेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा सो विमानस्थलको उक्त भवनको निर्माणकार्यमा ढिलाई हुँदा अल्पत्र परेको हो ।

भवन निर्माणको जिम्मा पाएको ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनको ढिलाईका कारण भवन निर्माणको कार्य अल्पत्र परेको छ । समयमै निर्माण नहुँदा जिल्ला र जिल्ला बाहिरबाट आउने हवाई यात्रुहरूले सास्ती भोग्नु परेको छ ।

आधुनिक ट्रस–टर्मिनल भवन निर्माण सम्झौता अवधि रद्द भईसक्दा पनि सम्बन्धित निकायले मौनता साधेको स्थानीयको आरोप छ । भवन निर्माण गर्न २०७६ साल असोज १६ मा सम्झौता गरिएको थियो ।

सम्झौता भएको ३० महिनाभित्रै निर्माणकार्य सम्पन्न गर्ने भनिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले ८ करोड ६५ लाख ९ हजार ९९४ रुपियाँको लागतमा काम सम्पन्न गर्ने गरी जिम्मा लिएको छ ।

नागरिक उड्डयन प्राधिकरण एरोड्म इन्जिनियरिङ विभागका इन्जिनियर महेश नेपालीका अनुसार विमानस्थलको भवन निर्माणका लागि कम्पनीलाई ताकेता गरिएको बताउनुभयो । हालसम्म आयोजनाको ६० प्रतिशत काम मात्र भएको उहाँ बताउनुहुन्छ ।

रारा नागरिक उड्डयन कार्यालय ताल्चाका कार्यालय प्रमुख रामोन भट्टराई निर्माण कम्पनीले समयमै काम नसक्दा पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर काम गर्नु परेको बताउनुहुन्छ ।

‘निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरिदिँदा सामान्य हावा लाग्दासमेत हल्लिने काठको भवन र टहरामै जोखिम मोलेर काम गरिरहेका छौँ, उहाँले भन्नुभयो ।

रारा विमानस्थलमा समयमै टर्मिनल भवन सम्पन्न नहुँदा आउजाउ गर्ने हवाई यात्रुलाई घामपानी र हावाहुरी लागेमा ओत लाग्नेसम्म ठाउँ नहुँदा सास्ती व्यहोर्नु परेको रारा विमानस्थलमा होटल सञ्चालन गर्दै आएका सञ्चालक तिलक मल्ल बताउनुहुन्छ ।

ओमबुद्ध इन्टरनेस्नल कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्का भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा अवरोध उत्पन्न हुँदा काम ढिला भएको बताउनुहुन्छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको लागि म्याद थपिएको तर उक्त अवधिमा पनि काम सकिने सम्भावना नरहेको भन्दै जनतालाई दुःख दिने गरी कुरा टार्ने गरेका छन् ।

स्थानीय मणिचन्द्र भामले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई ताकेता नगर्नु सम्बन्धित निकायको कमजोरी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सेवाग्राहीले प्रत्यक्ष मार खेप्दै आएका छन् । तर सम्बन्धित निकायले लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्नुपर्नेमा मौन छ ।’

२०६० सालदेखि काठको टहरा र कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको रारा विमानस्थलमा २०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्गमा कालोपत्र गरेपनि मुख्य संवेदनशील टावर र टर्मिनल भवन नबन्दा समस्या भएको छ ।

टर्मिनल भवन निर्माणकार्यमा भयको ढिला सुस्तिले रारा विमानस्थलमा हुने उडान समेत अनियमित हुने गरेको स्थानीयको आरोप छ ।