भविष्य असुरक्षातर्फ



नेपालीको भविष्य भवितव्य र कर्तव्य दुवै कारणले त्यति सुरक्षित लाग्दैन भन्नुपर्दा दुखको अनुभूति हुन्छ । आफ्नै मुलुकमा उज्ज्वल भविष्य नदेखेर रोजगारीका लागि विदेश जाने नेपालीले सामान्य कारणले ज्यान गुमाउनुपरेको घटना आम भएको छ । यसलाई भवितव्यकै रुपमा लिनेगरिएको छ । तुलनात्मक रुपमा छिमेकी भारत होस् वा नेपालीको श्रम खपत गर्ने अन्य कुनै मुलुक, त्यो मातृभूमि नेपाल बराबरको सुरक्षित छैन ।

पछिल्लो समाचारअनुसार भारतमा अपहरणमा परेका दुई नेपाली युवकको हत्या भएको छ । दुई साताअघि भारत पुगेका जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र १३ का २२ वर्षीय विष्णु साहको अपहरणपछि हत्या भएको छ । नेपालीका लागि पासपोर्ट, भिसाजस्ता कागजात केही नचाहिने भारत जति सुरक्षित, व्यवस्थित, अनुशासित र सभ्य भयो त्यति नै नेपाली लाभान्वित हुने अवस्था छ ।

तर दुर्भाग्य नै भन्नुपर्छ अनेक प्रकारका सामाजिक विकृति त्यहीं छन् । सानो रकमका लागि व्यक्तिको ज्यान लिने, महिलामाथि हिंसा गर्ने, अपहरणजस्ता ज्यादति दोहोरिइरहने भारतमा नेपालीले श्रमका लागि जानै नपरे हुन्थ्यो भन्ने भावना आम नेपालीमा देखिन्छ । तर पासपोर्ट बनाउन र भिसा लगाउनसम्म नसक्ने र पहुँचका दृष्टिले अत्यन्त कमजोर नेपालीका लागि पहिलो गन्तव्य भारत नै भएको छ । बेरोजगारीका कारण अनेक विवशता स्वीकार्न बाध्य युवा र तीनका परिवारको संख्या सानो छैन ।

वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका अनुसार २०६४ देखि हालसम्म विदेशमा ज्यान गुमाएका मध्ये झण्डै ७ हजार युवाका परिवारले क्षतिपूर्ति पाएका छन् । सरकारले विगत १० वर्षमा वैदेशिक रोजगरीका क्रममा मृत्यु भएका ६ हजार ७ सय ९० जना कामदारका परिवारलाई आर्थिक सहायता रकम वितरण गरेको देखिन्छ । यस अवधिमा मृतक महिला कामदारको संख्या १ सय ५० र पुरुषको ६ हजार ६ सय ३९ छ । अवैधानिक रुपमा विदेश पुगेर मृत्युवरण गरेका कामदारका परिवारले सरकारबाट कुनै क्षतिपूर्ति पाउँदैनन् ।

एक दशकको अवधिमा वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग भएर फर्किएका १ हजार २ सय २ जनाले क्षतिपूर्ति पाएका छन् । यस अवधिमा मलेसियामा मात्र ज्यान गुमाएका २ हजार १ सय ५२ जना मृतक कामदारका परिवारलाई क्षतिपूर्ति दिइएको छ । साउदीबाट कफिनमा फर्किएका १ हजार ६ सय ३७, कतारबाट १ हजार १ सय ९९, यूएईबाट ४ सय ८५ र कुवेतबाट मृत अवस्थामा फर्किएका १ सय ८६ जनाका परिवारलाई पनि राहत रकम उपलब्ध गराइएको बताइन्छ । यस्तै, बहराइनबाट ७७, दक्षिण कोरियाबाट ७४, लेबनानबाट २० र श्रीलंकाबाट ज्यान गुमाएर फर्किएका २ जनाको परिवारले पनि क्षतिपूर्ति बुझेको उल्लेख छ ।

विदेशी भूमिमा घरेलु हिंसादेखि कठोर श्रमसम्मले नेपालीको ज्यान लिएका समाचार सुन्न हामीले बाध्य हुनुपरेको छ । आपराधिक गतिविधिमा नेपाल त्यति बद्नाम छैन जति श्रमका लालि बढी मात्रामा नेपाली नागरिकले प्राथमिकतामा राख्ने छिमेकी मुलुक भारत, खाडी तथा अरब मुलुक देखिन्छन् । यस समस्याको समाधानका लागि नेपाललाई नै आर्थिक रुपले समृद्ध बनाउन सरकार–जनता जुट्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्