दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जान्छ कि !



अघिल्लो हप्ताको आइतबार माघे सङ्क्रान्तिका दिन कसैले माघे सङ्क्रान्ति, कसैले माघीपर्व त कसैले आफ्नो चलन तथा संस्कृति अनुसार माघ महिनाको पर्व मनाइरहेका थिए । कोही–कोही माघीपर्व मनाउने तरखरमा थिए । विडम्बना नै मान्नुपर्दछ, सोही दिन काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा पर्न पुग्यो । दुर्घटनाको खबरले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली जनलाई भावविभोर बनायो । उक्त दिनको चाडलाई बाध्यतावश नेपाली जनजनले चाडपर्वको रुपमा नभएर एउटा दुःखद, भयावह तथा परिकल्पनाभन्दा बाहिरको दुखान्त घटनाको समाचार सुनेर र हेरेर बिताउनुप¥यो, जसले गर्दा अब प्रत्येक वर्ष आउने माघ १ गते माघे सङ्क्रान्ति वा माघीपर्वमा यो दुःखान्त परिघटना स्मरण गर्न प्रत्येक जन बाध्य हुनुपर्ने अवस्था सिर्जित हुन पुगेको छ ।

विमानमा सवार आजको दिनसम्म आइपुग्दा कोही जीवित रहेको समाचार सार्वजनिक हुन सकेको छैन । देशमा देखा परिरहेको विगतदेखि वर्तमानसम्मका हवाई दुर्घटनाको रुपलाई नियाल्दा यो मामिलालाई अर्थपूर्ण रुपमा सम्बोधन गर्ने सवालमा कुनै पनि दलको सरकार त्यति गम्भीर रुपमा लागिपरेको अनुभूति हुन सकेको छैन । दुर्घटनामा परेको यती एयरको विमान पोखरा विमानस्थलमा अवतरण हुन मात्र केही सेकेन्ड बाँकी रहँदा दुर्घटना हुन पुगेको छ । के समस्या आइपरेर दुर्घटना हुन पुग्यो ? सम्भवतः गठन भएको छानबिन समितिले दिएको प्रतिवेदनबाट जानकारी प्राप्त होला र सँगसँगै विमानमा भएका वा प्राप्त भएका अन्य दसी वा प्रमाणहरुले केही न केही सत्य जानकारी गराऊलान् ।

सामाजिक सञ्जालमा दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाज उडिरहेको अवस्थामा लाइभ भिडियो खिचिएको समाचार पनि सम्प्रेषण भएको छ, यदि त्यो लाइभ भिडियोमा सत्यता देखिन्छ भने अथवा उक्त लाइभ भिडियो दुर्घटनाग्रस्त हुन पुगेको यती एयरलाइन्सकै हो भने दुर्घटना हुनुपूर्व उक्त जहाज सकुशल आफ्नो गन्तव्यमा अगाडि बढिरहेको देखिन्छ । विमान अगाडि बढ्दाबढ्दैको अवस्थामा अचानक आगोको मुस्लो देखिन्छ र जहाजले पल्ट्याङ्बाजी खाँदै खोंचमा दुर्घटना हुन पुगेको देखिन्छ । दुर्घटना हुनु केही सेकेन्डअगाडिसम्म लाइभ खिच्ने व्यक्तिलगायत अन्य यात्रुहरु जहाजबाट देखिएका मनोरम दृश्यहरुमा रमाइरहेको पनि देखिन्छ भने जहाज दुर्घटनाको मुखमा पुगेर ढलपल गर्न लागेपछि यात्रुहरु अताल्लिएको स्वर प्रवाह भएको देखिन्छ ।

दुर्घटनामा परेको उक्त विमानले सोही दिनको पहिलो ट्रिप पनि काठमाडौं–पोखरा, पोखरा–काठमाडौं उडान भरेको समाचार पनि सार्वजनिक भएको छ तर पहिलो ट्रिपमा काठमाडौं–पोखरा वा पोखरा–काठमाडौं उडान भरेका यात्रुहरुको कुनै भनाइ भने यो आलेख तयार पारुन्जेल सार्वजनिक भएको छैन । पहिलो दुवैतर्फको उडानमा सहज बनेको विमान दोस्रो उडानमा ल्यान्ड गर्नै लागेको अवस्थामा असहज अवस्थामा कसरी पुग्न गयो र दुर्घटनामा प¥यो भन्नेबारे गहिरो अनुसन्धान हुन अनिवार्य छ । त्यसको लागि जनजनले खबरदारी गराइराख्नुपर्ने अवस्था पनि सँगसँगै सिर्जना भएको छ ।

हवाई दुर्घटना मात्र होइन, देशमा सार्वजनिक यातायातको दुर्घटनाले पनि अकल्पनीय रूप लिन थालेका समाचारहरू बारम्बार सार्वजनिक भइरहेका छन् । साँच्चैै भन्ने हो भने प्रत्येक दिनजसोको समाचारमा दुर्घटनाको खबर नभएको विरलै हुन्छ । यातायात व्यवसायीहरूको अकर्मण्यता, पुराना गाडीहरूको प्रयोग अनि चालकको लापरबाही र हेलचेक्य्राइँ देशभर ट्राफिक व्यवस्थापनमा देखिएका कमजोरी र सरकारी नीतिहरुका कारण बढ्दै गइरहेको दुर्घटनाको कारण प्रत्येक यात्रु त्रसित अवस्थामा रहेर यात्रा गर्नुपर्ने अवस्थामा रहेका छन् । सीमित व्यक्तिहरुको चाहना र प्रयास अनि सकारात्मक सोचसँगै पीडितप्रतिको भावुकता र संवेदनाले मात्रै वर्तमान समस्या हल हुँदै हुँदैन । नागरिक र सेवाग्राहीको अठोट, चालकको यात्रुप्रतिको जिम्मेवारीबोध, प्रचलित कानुनमा आवश्यक संशोधन अनि त्यसको सही कार्यान्वयन नै हाल देखिएका यातायात क्षेत्रका समस्या समाधान र दुर्घटना न्यूनीकरणका लागि कोसेढुंगा साबित हुन सक्छन् ।

हवाईमार्ग होस् या स्थलमार्ग, यात्रु गन्तव्य स्थान नपुगेसम्म त्रसित भैरहनुपर्ने र यात्रुका परिवारजनहरू यात्रामा निस्केका आफ्ना परिवारका सदस्यहरू घरमा नआउन्जेल वा गन्तव्य स्थानमा पुगेको खबर नपाउन्जेल छट्पटीमा नै यात्रा अवधिको समय बिताउनुपर्ने बाध्यात्मक अवस्थाबाट गुज्रिरहनुपरेको छ । बेला–बेलामा भएका र हुने गरेका अकल्पनीय दुर्घटनाबाट हजारौंको संख्यामा जनजनको क्षति भइसकेको छ । यस्तो संवेदनशील विषयमा भने दुर्घटना भएका बखत समवेदना र दुर्घटनापश्चात् यसका सबै कारणको पहिचान गरी न्यूनीकरण गराउने ओठे प्रतिबद्धताबाहेक सरोकारवालाहरूको खासै महत्वपूर्ण भूमिका प्रदर्शन हुन सकेको छैन भन्ने जनजनको गुनासो सही छ । छोटो या लामो दूरीमा सार्वजनिक यातायातमार्फत यात्रामा निस्कने यात्रु र यात्रुका परिवारजनमा परिरहेको मनोवैज्ञानिक त्रासमा रत्तिभर पनि कमी आएको देखिँदैन । घना शहरहरुमा प्रायः भैरहने दुर्घटनाबाट ज्यान गुमाउने र त्यसबाट परिवारजनमा पर्न गएको पीडा बेग्लै छ ।

यो आलेख तयार पार्दै गर्दा पनि कैयौँ ठाउँमा दुईपाङ्ग्रेदेखि चारपाङ्ग्रे वा आठपाङ्ग्रे वा दशपाङ्ग्रेसम्मका गाडीहरुबाट प्रत्येक दिनजसो हुने गरेका दुर्घटनाको ग्राफलाई हेर्दा त्यसमा कतै कमी आएको देखिँदैन । विशेष गरी लामो दूरीको यात्रामा निस्कने परिवारका आफन्तहरू मुखले वा सामाजिक सञ्जालमा जतिसुकै सेफ ट्राभल भनेर लेखे पनि वा अशिर्वाद दिए पनि जबसम्म आफ्ना मान्छे गन्तव्यमा पुगेको खबर प्राप्त हुँदैन तबसम्म विशेष गरी यात्रुका आफन्तहरु पीडामा नै रहेका हुन्छन् । मनमा दुर्घटनाको त्रास पाल्दै आफ्ना जनलाई राम्रोसँग जानु र पुगेपछि खबर गरिहाल्नु भन्ने गर्नु र गन्तव्यमा पुगेको खबर कुर्नुबाहेक अन्य ढाडस र विश्वस्त हुने अवस्था नरहेको वर्तमान अवस्थाले इंगित गरिरहेकोमा पनि कतै विमति देखिँदैन ।

विभिन्न समयमा बलियो सरकारको उपस्थिति रहेको उद्घोष गर्दै आएका विभिन्न दलहरुका नेतृत्वहरुले यी र यस्ता विषयहरुलाई सदैव ओझेलमा नै पारेको अनुभूति हुँदै आएको छ । यो भनाइ अन्यथा हुँदो हो भने स्थल र हवाई दुर्घटना देशले बारम्बार भोगिहरहनुपर्ने थिएन । गतहप्ता पोखरामा भएको यती एयरलाइन्सको दुर्घटनाको कारणबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन भएको कुरा सार्वजनिक भएको छ । सरकार गठनले पनि पूर्णता पाइसकेको छ । सरकारमा रहेका सदस्यहरुको देशप्रतिको जिम्मेवारी बहन गर्ने कुरामा कुनै मोलाहिजा नराखिने बचनबद्धता सार्वजनिक भैसकेकोले गठित छानबिन आयोगले आफ्नो छानबिनमा कुनै कसर बाँकी नराखी निष्पक्ष छानबिन गरेर वास्तविकता जनजनसमक्ष पस्किन सक्नुपर्दछ ।

जुनसुकै दलको सरकारले जुनसुकै विषयमा गठन गरिएको र गरिने समितिले दिएको प्रतिवेदनको वैधता अनि त्यसको कार्यन्वयनको तह र अवस्था के हुने भनेर जनजनले बारम्बार उठाइरहेका प्रश्नहरूलाई यो सरकारले प्रतिवेदन लेखनको मात्रै झारा टराइ काम गरेर अबचाहिँ निरुत्तर बस्ने छैन भन्ने जनजनले आशा गरेका छन् । गाँठी कुरोचाहिँ के हो भने, गठित समिति र समितिले दिएको प्रतिवेदनको औचित्य एवं कार्यान्वयनको सवालमा सही उत्तर र त्यसको सही प्रयोग अनि कार्यान्वयनमार्फत सही दिशा समाएको जनजनलाई अनुभूति नभएसम्म गठित कुनै पनि विषयको कुनै पनि समितिमा जनजनले विश्वास गर्न गाह्रो हुन्छ । यो यथार्थतालाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिनै पर्दछ ।

इमानदारीपूर्वक भन्ने हो भने, सरकारले चाह्यो भने स्थलमार्ग वा हवाईमार्गमा हुनसक्ने दुर्घटनाहरु न्यूनीकरणको लागि खासै ठूलो मेहनत गर्नैै पर्दैन । मात्र जान–अन्जानमा देखा पर्न सक्ने केही स्वार्थ तत्वहरुका स्वार्थमा बन्देज लगाउने अनि स्थल र हवाई ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन वर्तमानमा विकसित भएका विभिन्न खाले सुरक्षित तथा दुर्घटना भइहालेमा तत्काल उद्धारको व्यवस्थापनलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिरहनुपर्छ । यसो गर्ने हो भने एकातिर उसै दुर्घटना न्यूनीकरणमा सघाउ पुग्छ, अर्कोतिर सम्बन्धित सरोकार पक्षको काबुबाहिरको परिस्थिति सृजना हुन गई दुर्घटना हुन पुगेमा पनि तत्काल हुन जाने उद्धार कार्यले कम मात्र क्षति व्यहोर्नुपर्ने हुन्छ ।

सार्वजनिक सवारीको हकमा संयोग वा विशेष परिस्थिति सिर्जना हुन गई दुर्घटना हुनेबाहेक अन्य अवस्थामा दुर्घटनाको दरलाई न्यूनीकरण गर्न खासै त्यति गाह्रो पनि देखिँदैन । देशमा भएका सार्वजनिक यातायातका दुर्घटनाको दरलाई हेर्दा प्रतिशतको आधारमा चालकको लापरबाही र हेलचेक्य्राइँको दर उच्च प्रतिशतमा देखिन्छ । एउटा सत्य कुरा के हो भने, योग्यता र क्षमताविना कोही केही काम गर्न निस्कन्छ भने त्यहाँ लापरबाहीको सम्भावना बढी हुन्छ । वास्तवमा हाम्रो देशको कानुनले कुनै पनि व्यक्तिलाई चालक अनुमति प्राप्त गर्न कुनै शैक्षिक योग्यताको अनिवार्यता देखाएको छैन । यातायात व्यवस्था ऐंन २०४९ लाई हेर्ने हो भने, ऐनको दफा ४५ ले चालक अनुमतिपत्र प्राप्त नगरी सवारीसाधन चलाउन बन्देज गरेको छ । अन्य केही दफाहरूमा चालक अनुमति प्राप्तको लागि निश्चित उमेर पुगेको हुनुपर्ने र केही निश्चित रोगहरू नलागेको हुनुपर्नेबाहेक अन्य कुनै पनि शैक्षिक योग्यता निर्धारण गरेको पाइँदैन । चालकको सिटमा बसिसकेपछि चालकको यात्रुप्रतिको जिम्मेवारी के हो भन्ने समेत ज्ञान नभएका चालकहरूको लापरबाहीको कारण दुर्घटनाको वृद्धिदरमा सघाउ पुग्न गएको छ ।

यो कुरालाई मध्यनजर गरी वर्तमान कानुनमा चालक अनुमतिपत्र प्राप्तिको लागि निश्चित शैक्षिक योग्यताको आवश्यकता राख्नै पर्दछ । अहिलेसम्म शैक्षिक योग्यताविना चालक अनुमति प्राप्त गरेका चालकहरूका हकमा यात्रुप्रतिको जिम्मेवारीबोध हुने र आवश्यक अन्य शिक्षाको प्रबन्ध मिलाउनै पर्दछ । निश्चित अवधिभित्र तोकिएको शिक्षा लिनै पर्ने नीति ल्याई कार्यान्वयनमा ल्याइनु आवश्यक छ । त्यसको लागि घुम्ती शिक्षा परिचालित गरिनुपर्दछ । अर्थात् सार्वजनिक यातायात छुट्ने स्थानहरूमा घुम्ती शिक्षा सञ्चालन गरिएमा त्यो पनि एउटा प्रभावकारी कदम ठहरिन सक्छ ।   (लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्