बाल मनोविज्ञानमा व्यापार



कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन रोक लगाएर सरकारले सकारात्मक कदम चालेको धारणा आम नागरिकले व्यक्त गर्दैआएका छन् । कक्षा १ मा प्रवेश परीक्षा लिँदा अनुत्तीर्ण भएका विद्यार्थी र अभिभावकमा मानसिक तनाव हुने अवस्थाबाट रोक्न गरेको यस कदमले अभिभावकलाई राहत मिलेको त छ नै साथमा कलिला विद्यार्थीले पनि कोमल मुटुलाई छियाछिया पार्दै आफू असफल भएको अनुभूत गर्नु नपर्ने भएको छ ।

उपत्यकाका एकाध विद्यालयले प्रवेश परीक्षाको नाममा लाखौं रुपियाँ संकलन गर्ने र बल्ल विद्यालय चिन्न खोजेका साना बालबालिकामाथि परीक्षाको बोझ बोकाउने गरेका थिए । प्रवेश परीक्षाअघि ट्युसन पढाउने र किताब बिक्री गर्ने काम रोकिएपछि अभिभावक खुसी भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा १ मा प्रवेश परीक्षा नलिन निर्देशन दिएको थियो । सो निर्देशनको आधारमा जिल्ला शिक्षा समन्वय एकाइले स्थानीय तहमार्फत् सबै विद्यालयलाई कक्षा १ मा प्रवेश परीक्षा लिन रोक लगाएको छ । अघिल्लो वर्ष अभिभावक महासंघ लगायत संस्थाले कक्षा १ मा प्रवेश परीक्षा दिएर ६ वर्षको बच्चालाई मानसिक तनाव दिएको भन्दै प्रवेश परीक्षा नलिन आग्रह गरेका थिए । सोही आग्रहको आधारमा केन्द्रले प्रवेश परीक्षा नलिने निर्देशन जारी गरेको थियो । शिशु कक्षामा पढेको अनुभव र बच्चाको आचरणको आधारमा भर्ना लिने व्यवस्था गर्नुपर्ने अवस्थामा अनाहकमा प्रवेश परीक्षा लिन थालेपछि साना बालबालिकालाई मानसिक यातना थोपरिएको थियो । हुन पनि कुनैपनि प्रभावशाली र प्रतिष्ठित मुलुकमा कक्षा १ मा प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेको पाइँदैन । नेपालमा भने आफूलाई विशेष ठान्ने केही विद्यालयले आर्थिक उपार्जन गर्न प्रवेश परीक्षा लिने गरेका थिए । वर्षौंदेखिको यो परम्परा हटाउन हरेक वर्ष अभिभावक महासंघ लगायत संगठन तथा निकायले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराएका थिए ।

केन्द्रले प्रवेश परीक्षा लिने व्यवस्थाको अन्त्य गरेपछि सबै सरोकारवाला निकायले खुसी व्यक्त गरेका छन् । निजी विद्यालयको छाता संगठन प्याब्सनले कक्षा १ मा प्रवेश परीक्षा लिने विषय गलत भएको टिप्पणी गरेको छ । कक्षा १ मा भर्ना मापदण्ड तयार गरी सोही मापदण्ड अनुसार विद्यार्थी भर्नागर्नु उत्तम हुन्छ । स्थानीय तहले पनि सबै विद्यालयमा प्रवेश परीक्षा लिने विषयलाई नियन्त्रण गर्नुपर्छ । भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्वन गर्न लगाउन सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय र सहजीकरण गर्नु आवश्यक छ । होइन भने नाम चलेका भनिएका ठूला विद्यालयले प्रवेश परीक्षाको नाममा मनोमानी गर्ने बाटो फेरि खुल्नसक्छ । यसको लागि स्थानीय निकाय चनाखो हुनु आवश्यक छ । कक्षा १ मा प्रवेश परीक्षालाई निस्तेज पार्नु आम नागरिकको कर्तब्य पनि हो । यसमा स्थानीय तहको मुख्य भूमिका हुने भएकोले दबाब त्यहीं दिनुपर्छ । होइन भने सरकारले निर्देशन दिने अनि स्थानीय तहको आडमा कक्षा १ मा प्रवेश परीक्षा लिएर बच्चाको मानसिक असर पार्ने काम तत्काल बन्द गर्नुपर्छ । बाल मनोविज्ञानमा व्यापार गर्नु भविष्यका कर्णधारमाथि आघात पु¥याउनु हो ।

प्रतिक्रिया दिनुहोस्