देउवाको ‘दम्भ’ र गगन-विश्वको ‘रोइलो’

0
Shares

रविले २०४६ सालपछिका राजनीतिक पदमा बसेका सम्पूर्ण नेताको सम्पत्ति छानबिन गर्ने भन्ने निर्णय गरेसँगै कांग्रेस सभापति देउवासमेत भित्रभित्रै थर्कमान भैरहेका थिए । त्यसैले उनी जसरी भए पनि वर्तमान सरकारलाई केही गुन लगाउन चाहन्थे । प्रचण्ड पनि ओली र देउवा दुवैको मद्दत पाएमा आफ्नो सरकार केही लामो समयसम्म जानेमा ढुक्क बने । यो मामलामा देउवाको दम्भ तथा गगन र विश्वको रोइलो हेर्नलायक थियो ।

अङ्क गणितले जे–जसो भनोस्, राजनीतिक चरित्रमा अहिले नेपाली कांग्रेस इतिहासकै सबैभन्दा कमजोर राजनीतिक पार्टी हो । सो पार्टीका महामन्त्री गगन थापाले विश्वासको मत लिने दिन नै ‘प्रतिपक्ष भनेको कस्तो हुनुपर्छ सो देखाउँछौं ?’ भनेको होइन र ! सोही दिन मुखमा माड लागेछ । कांग्रेसमा महामन्त्री यति निरीह छन् भने आम कार्यकर्ताको हालत के होला ? धन्न कांग्रेस संसदीय दलको बैठकको निर्णयमा फरक मत राख्नेहरू क्रमशः गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेल जम्मा पाँचजना रहेछन् तर तिनीहरूले पनि संसद्मा ह्वीप मानेर विश्वासको मत पक्षमै मतदान गरे ।

अस्तिसम्म कांग्रेसले सरकार ढाल्न राप्रपालाई उधारो प्रधानमन्त्री बाँडिरहेको थियो । केही सीप नलागेपछि यही सरकारलाई समर्थन गरेर मङ्गलबार त आफैँ ढलेछ । अब एमालेले प्रचण्डमाथि अनावश्यक दबाब पार्न थाल्यो भने प्रमुख प्रतिपक्षी दल एमाले हुनपुग्छ । राष्ट्रपतिका लागि कांग्रेसले च्याँखे थापिसकेपछि नेपाली राजनीतिमा ‘साइलेन्ट किलर’ भएर कांग्रेस सभापति शेरबहादुर देउवा नै देखिए । उनले बीपी कोइरालाको दर्शन बोकेको पार्टीलाई पत्नी आरजु राणा देउवाको ढिपीले छोपेर लान खोज्दा हाँसको चाल न कुखुराको चाल भयो । प्रचण्डको भर छैन, जता नि लाग्छन् । देउवाका अदृश्य सौदाबाजीका कुराहरू मन्त्री विस्तारदेखि राष्ट्रपति र सभामुख चुनावसम्म छताछुल्ल भैसक्ने छन् ।

यो मानेमा कांग्रेस आफ्नो मातहतमा सरकार बनाउन नपाएको रनाहामा तावाबाट उम्केर भुङ्ग्रोमा झ¥यो । उसले छँदाखाँदाको प्रमुख प्रतिपक्षको हक राष्ट्रिय पार्टीसमेत नभएका नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाको पोल्टामा हाल्दिएको तर नेमकिपा र राजमोका नेताहरू प्रतिपक्षी दल हुन यही संविधान बाधक बनेको देखियो । संविधानले सरकारमा नगएको र संसद्मा रहेको सबैभन्दा ठूलो तथा कुल खसेको मतको १० प्रतिशत मतसंख्या प्राप्त गरेको राष्ट्रिय पार्टी भनेर स्पष्टै किटेको छ । यो मानेमा अब प्रमुख प्रतिपक्षी दल र सोका नेता को हुने भन्ने विवाद आउने संसद् बैठकहरूमा भई सोको झगडा छिनोफानोका लागि सम्मानित सर्वोच्च अदालतमा नजाला भन्न सकिन्न ।

संसदीय राजनीतिमा प्रमखु प्रतिपक्षलाई आउने सरकार र प्रतिपक्षी दलका नेतालाई ‘वेटिङ प्रधानमन्त्री’ भनिन्छ । देउवाले आफूलाई सैद्धान्तिक रुपमा पाँच वर्ष अड्याउन सकेनन् । पत्नीको चाँडै मन्त्री हुने इच्छा वा अहिले प्रचण्डलाई विश्वासको मत दिएर नदीमा ढोक्सो थापिरहन पाए भोलि नजाने प्रचण्ड र ओलीमा कुनै न कुनै विग्रहका बीउ रोप्न पाउँदा कथम् फुटको बाली भित्र्याउन पाइन्थ्यो कि भन्ने भित्री मनमा लिप्सा रहन गएको छ । आखिर उनलाई ज्योतिषीले सातपल्ट प्रधानमन्त्री हुने भनेरै भविष्यवाणी गरेकै छन् ! यही पाँच वर्षभित्र एकचोटि भए भने त्यो छुद्दे पनि पुग्थ्यो । बरू राजमो नेता चित्रबहादुर केसीले हाकाहाकी संसद्मा भने– ‘आफूहरूले अहिलेको गठबन्धन सरकारलाई विश्वासको मत नदिने । संसद् प्रतिपक्षविहीन हुने दृश्य डरलाग्दो छ ।’ उनले अघि भने– ‘देशमा सांसद र मन्त्रीको कारखाना मात्रै खोलियो ।’ एक्लो सांसद रहेका केसीको यो लल्कार वास्तवमा नेता देउवा र कांग्रेस पार्टीतर्फ लक्षित थियो ।

नदेखिएको अर्को पाटो यसमा छुपेको छ । त्यो के भने, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई सभापति बन्दा होस् या संसदीय दलको नेतामा चुनिदा होस्, ठूलो गुन लाएका छन् । उनी यही मानव चोलामा राष्ट्रपति भएर आफ्नो प्राणान्त गर्न चाहन्छन् । प्रधानमन्त्री हुने उनले अब कुनै गुञ्जायस नदेखेपछि लटरपटर विचारका साथ देउवासँग आफूलाई राष्ट्रपतिको कुर्सी जसरी पनि मिलाइदिन भनेका छन् । देउवा एकपटक यही गठबन्धनभित्र खेल्न पनि पाइने र रामचन्द्रजीका कुरासमेत पु¥याउन सकिने भएकाले घुँडा धसेर लागेका हुन् ।

यस्तै परिघटनाहरू अनपेक्षितरूपमा नेपाली राजनीतिमा घटिरहने हुनाले राजनीतिलाई सम्भावनाको खेल भनिएको हो साथै राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्रु नहुने कुरा बताइएको हो । जबकि कुरोको चुरो त्यसो होइन । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुन्छन्, किन नहुनु । पद पाइने भन्नेबित्तिकै संसारका कुनै पार्टीहरू आफ्नो सिद्धान्तलाई धोती लाग्ने गरी विपक्षीको टाङमुनि छिर्दैनन् । जबकि अहिले कांग्रेस सभापति देउवाले कांग्रेसका होनहार युवा नेताहरूको रानजीतिक भविष्य नै कोल्याप्स हुने गरी सरकारलाई विश्वासको मत दिए र संविधानतः प्रतिपक्षी दलमा पनि बस्ने भने । यो उनको लिँडेढिपी हो ।

कांग्रेसकै पूर्वसांसद राधेश्याम अधिकारीले साफासाफ भनेका छन्– ‘विश्वासको मत दिएपछि अब कांग्रेस प्रतिपक्ष रहेन ।’ यही विचार जोडतोडले संवैधानिक कानुनका ज्ञाता तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले समेत उठाए– ‘कांग्रेसलाई अब प्रतिपक्षमा बस्न यो संविधानले दिँदैन ।’ कुरो यो सही हो भने फेरि नराम्रो गरी देउवाकै पालामा कांग्रेस धर्मसङ्कटमा प¥यो । यसको छिनोफानो अब कसले र कसरी गर्ने, त्यो आउँदा दिनमा घट्ने राजनीतिक घटनाहरूले नै गर्नेछन् ।

संसारमा संसदीय लोकतन्त्रमा सिद्धान्त र कार्यशैली एकापसमा छेउटुप्पो नमिल्ने दुई पृथक् धारका पार्टीहरू कहिल्यै एक हुन सक्दैनन् । विकसित देशका अभ्यासहरूले यही देखाएका छन् तर नेपालमा विशिष्ट अवस्था आएकाले यो नयाँ प्रयोग हो भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओलीले समेत भने । उनको कुरो काट्ने हिम्मत अहिले संसद् र संसद्बाहिर आफ्नै दलका नेता र अन्य दलका नेताहरूले समेत सक्दैनन् । एक हिसाबले अब देश ओलीको ढिपी उन्मुख विचारतिर लतारिएको छ भन्दै राजनीतिक पण्डितहरू निधार खु्रम्च्याएर पक्ष–विपक्षमा अन्त्यहीन बहस गरिरहेका छन् ।

कुरामा कुरा चल्दा एउटा सन्दर्भ यहाँनेर जोड्न सकिन्छ । चालीसको दशकमा पञ्चायतको अन्त्यका लागि जनआन्दोलन हुँदै गर्दा सूर्यबहादुर थापाको वरिपरि नेपालको राजनीति घुमेको थियो । यद्यपि प्रधानमन्त्रीको कुर्सीमा मरिचमान सिंह थिए तर राजनीतिका ‘किङ मेकर’ सूर्यबहादुर थापा हुन्थे । उनैले राजदरबारभित्रका राजाका प्रमुख संवाद सचिवालयका अदृश्य शक्ति केन्द्रलाई ‘भूमिगत गिरोह’ भनेर लल्कारे । पञ्चायतपछि पचासको दशकमा गिरिजाप्रसाद कोइरालाको हंकीडंकी शुरु भई सो दशक गिरिजाकै पेरिफेरीमा राजनीति दाइँ गर्न लाग्यो । छाठीको दशकमा प्रचण्डको इर्दगिर्दमा घुमेको नेपाली राजनीतिले सत्तरीको दशकमा भने ओलीको प्रतिछाया पछ्याइरहेको देखिन्छ । यस मानेमा यतिखेर ओली सर्वशक्तिमान् राजनीतिज्ञका रुपमा स्थापित देखिएका छन् ।

हुन त उनका पार्टीका उनीपछिका दोस्रा, तेस्रा र चौथा पुस्तासमेत भनिने नेताहरूले उनलाई देवत्वकरण गर्दै ‘राजनेता’को विवादास्पद पगरी गुताइदिए । अहिले सत्ताकेन्द्रित राजनीति गर्नेहरूका बाहुल्यता भएका बेला यो समयमा नेपाली राजनीतिमा राजनेता छैनन् र बल गरेर जसलाई यो पगरी गुताइदिए पनि तिनले सोको भार थेग्न सक्ने छैनन् । ओलीले जुन बेला चुच्चे नक्सालाई संसद्बाट एक ढिक्का हुने गरी पारित गरेर त्यही अडान बर्करार राखिरहेका भए हो उनी साँच्चै राजनेताको तहमा उक्लिन सक्थे तर उनको त्यो स्पाति अडान भारतीय जाजुसको बालुवाटारमा मध्यरातमा भएको भेटसँगै एकाएक दन्त्य कथाको नीरमा चोबलिएको स्यालझैँ वास्तविकता देखिन पुग्यो । त्यहीँबाटै उनको राजनीतिक छवि आम नागरिकका दृष्टिकोणमा स्खलित हुँदै–हुँदै गएको छ ।

पञ्चायतमा चारपटक र बहुदलमा दुईपटक गरी ६ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्न पुगेका सूर्यबहादुर थापालाई पत्रकार विजयकुमारले नेपाली राजनीतिका ‘मिखाइल गोर्भाचोभ’ उपमा दिएथे । सत्तालाई पुतली नचाएझैँ नचाउने तर मरेको एक दशकमै बिर्सिइने राजनीतिज्ञ हुनुभन्दा नेताको वैचारिक अडान र असल व्यवहारले मरेपछि पनि शताब्दीऔंसम्म बाँचिरहने नेतालाई चाहिँ राजनेताका रुपमा समाजले गुणदोषका आधारमा पछिसम्म सम्झिने हुन्छ तर अहिले त कस्तो खतरा समय आयो भने पार्टीका मान्छेले देउताझैँ पूजेको उसको नेतालाई अर्को पार्टीका नेता÷कार्यकर्ताले दानवझैँ व्यवहार गर्छन् र पो फसाद पर्छ ।

यो मूल्याङ्कनको कसीमा हेर्दा बहुदल प्राप्तिपछिको समयमा आ–आफ्नो दलका एक–एकवटा नेताभन्दा ती दलभित्रका अन्य दोस्रो या तेस्रो पुस्ताका कुनै नेताहरू स्ेटटमेनसिप याने राजनेताको पगरी गुत्नलायक निस्केनन् भन्दा हुन्छ । कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईले सादगी र विचारको राजनीतिलाई अघि बढाएकाले बेलाबेला उनको सम्झना असल नेताका रुपमा हुने गर्छ । त्यसपछिका नेताहरूमध्ये बितेका र बाँचेका नेताहरूमा यिनीचाहिँ चिरकालपर्यन्त सम्झनलायक छन् है भनेर भन्न सकिने अवस्था अहिलेसम्म कसैले कायम गर्न नसकेकै हो ।

अहिले भैरहेजस्तो संसदीय प्रणालीका अवगुणहरूले अबको शासन प्रणालीको विकल्प राष्ट्रपतीय सरकार नै हो भन्ने देखायो । यसो हेरेका खण्डमा संसदीय प्रणालीका अवगुणहरू अस्थिर सरकार, दलीय स्वार्थ एवम् गुट–उपगुट हाबी हुने, अस्वस्थ प्रतिस्पर्धा, कमजोर कर्मचारीतन्त्र र सबै दलको विचार समेट्न नसकिने जस्ता अवगुणहरू रहेका छन् । चुनावताका ‘नो नट एगेन’ भनेर आकाश नै खसाल्छौं भन्नेजस्ता आशयका कुरा बोल्ने युवानेता रवि लामिछानेहरूसमेत अहिलेको सिस्टममै शनैःशनैः ‘ग्याल्बनाइज्ड’ हुन पुगे । यो उनीहरूको रहर हो या बाध्यता त्यो पछिल्ला राजनीतिक घटनाहरूले बताउँदै जालान् तर अहिले उनीहरूले फोहोरी संसदीय भासमा राजनीति गरेर घघडान भएका ओली, देउवा, प्रचण्ड र माधवसँग सत्ता साझेदारीका बिजनेसहरूमा गिभ एन्ड टेक गर्दैै गर्दा बँचेर गर्नुपर्नेछ । नत्र यी पुराना पार्टीका मुखियाहरूले रविजस्ता अनुभव लिन बाँकी आलाकाँचाहरूको काँधमा बन्दुक राखेर आफू ‘राजनीतिक हबल्दार’ भएको फाइदा नउठाऊलान् भन्न सकिन्न !

राजनीतिक बजारमा रविले २०४६ सालपछिका राजनीतिक पदमा बसेका सम्पूर्ण नेताको सम्पत्ति छानबिन गर्ने भन्ने निर्णय गरेसँगै कांग्रेस सभापति देउवासमेत भित्रभित्रै थर्कमान भैरहेका थिए । त्यसैले उनी जसरी भए पनि वर्तमान सरकारलाई केही गुन लगाउन चाहन्थे । प्रचण्ड पनि ओली र देउवा दुवैको मद्दत पाएमा आफ्नो सरकार केही लामो समयसम्म जानेमा ढुक्क बने । यो मामलामा देउवाको दम्भ तथा गगन र विश्वको रोइलो हेर्नलायक थियो । विश्वप्रकाशले विम्बात्मक रुपले अश्रुपुरित भावमा भने– ‘घरजम भएको बेला मन भाँडियो तर डिभोर्सपछि प्रेम पलायो ।’ यी शब्दमा कम्ती पीडा छैनन् । देउवाको दम्भले कांग्रेस पहिलो मत प्राप्त गर्ने पार्टीबाट चिप्लिँदै प्रतिपक्ष नभएको अवस्था छ । यो अवस्थालाई चिर्न कांग्रेसभित्रका जुझारू युवाहरूले विशेष महाधिवेशनको आह्वान गरी जतिसक्दो चाँडो नेतृत्वको विकल्प खोज्नुपर्छ अनि मात्र राष्ट्रिय राजनीतिमा केही तरङ्ग आउन सक्छ ।