सरकारमा नयाँ अनुहारको बाहुल्य

0
Shares

काठमाडौं । मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा नयाँ अनुहारहरूको बाहुल्य रहेको पाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व सरकारले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै मंगलबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गर्नुभएको हो । यसअघि गत पुस ११ गते पहिलोपटक मन्त्रीमण्डल विस्तार गरिएको थियो ।

मन्त्रीमण्डलको विस्तारसँगै प्रधानमन्त्री, ४ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री गरी सरकारमा सामेल हुनेको संख्या २३ पुगेको छ । सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । यस्तै, माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् ।

सत्ता हाँक्ने प्रधानमन्त्री ‘प्रचण्ड’ को टिममा नयाँ अनुहारका बढी रहेका छन् । अहिलेको सरकारमा मन्त्री र राज्यमन्त्रीमध्ये १५ जना पहिलोपटक मन्त्री भएका हुन् । सत्ता साझेदार दल सबैले सरकारमा पठाउन नयाँ अनुहारका व्यक्तिहरूलाई प्राथमिकता दिएको पाइएको छ । विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा संलग्न मन्त्रीहरूलाई सोहीअनुरूप जिम्मेवारी दिइएको छ ।

यसअघि नेकपा (एमाले) बाट अर्थमन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारीसहित नारायणकाजी श्रेष्ठ र गृह मन्त्रालयको जिम्मेवारीसहित रवि लामिछाने उपप्रधानमन्त्री रहेको थियो । सरकार विस्तारसँगै अहिले उपप्रधानमन्त्रीको लर्कोमा राप्रपाका राजेन्द्र लिङ्देन पनि थपिनुभएको छ । उहाँलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । उहाँ उपप्रधानमन्त्रीको वरीयतामा सबैभन्दा कान्छो हुनुहुन्छ । पहिलोमा विष्णु पौडेल, दोस्रोमा नारायणकाजी श्रेष्ठ र तेस्रोमा रवि लामिछाने हुनुहुन्छ ।

नयाँ अनुहारहरू उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने (रास्वपा), उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन (राप्रपा) परराष्ट्रमन्त्री विमला पौडेल राई (नेकपा एमाले), शिक्षामन्त्री शिशिर खनाल (रास्वपा), श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (नेकपा एमाले), कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रवबहादुर प्रधान (राप्रपा), संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती (माओवादी केन्द्र) र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी (माओवादी केन्द्र) रहनुभएको छ ।

त्यस्तै, पहिलोपटक मन्त्री बन्नेको सूचीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी (नेकपा एमाले), रक्षामन्त्री हरिप्रसाद उप्रेती (नेकपा एमाले), भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई (नेकपा एमाले), खानेपानी मन्त्री अब्दुल खान (जनमत पार्टी) स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की (रास्वपा), संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली (माओवादी केन्द्र), ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री दीपकबहादुर सिंह (नेकपा एमाले) रहनुभएको छ ।

पुराना अनुहारहरूमा सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्मा (माओवादी केन्द्र) शहरी विकासमन्त्री विक्रम पाण्डे (राप्रपा), कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी शाह (नेकपा एमाले), उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी (नेकपा एमाले), महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी (नेकपा एमाले) रहनुभएको छ ।

नयाँ उपप्रधानमन्त्रीसहित मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण र राज्यमन्त्रीहरूले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शपथ ग्रहण गरेपछि मंगलबार पदभार ग्रहण गर्नुभएको थियो ।

वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ‘प्रचण्ड’ ले सम्हाल्नुभएको छ । सरकारलाई समर्थन गरेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई दिन यी दुई मन्त्रालय राखिएको बुझिएको छ । तर, जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरू सरकारमा जाने वा नजाने टुंगो लगाउनुभएको छैन ।

नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर यो सरकार बनेको हो । यसले गर्दा गठबन्धनका दलहरूलाई मिलाएर हिँड्नुपर्ने बाध्यता प्रधानमन्त्री प्रचण्ड’ लाई रहेकाले आ–आफ्नो दलको नेतृत्व गरेर सरकारमा सहभागी हुने प्रत्येकलाई उपप्रधानमन्त्री बनाइएको हो ।

गत पुस १० गते आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने सातमध्ये पाँच दल सरकारमा सहभागी भएका छन् । जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन् ।