नेपालमा हवाई क्षेत्रका चुनौती र दुर्घटनाको इतिहास



नेपालको हवाई क्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरुले बेला–बेलामा प्रतिवेदनहरु सार्वजनिक गरिरहेका छन् । हरेक वर्ष थपिने गरेका हवाई दुर्घटनाले नेपालको हवाई क्षेत्रलाई असुरक्षित मानिएको हो ।

गत आइतबार (माघ–१ गते) काठमाडौंबाट ७२ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज उडेको १८ मिनेटमा पोखरामा दुर्घटनाग्रस्त भएको छ । जसमा ७२ जनाकै मृत्यु भयो । मौसममा कुनै खराबी नहुँदा र विमानमा केही प्राविधिक गडबडीसमेत नहुँदा पनि भयानक दुर्घटनाले देश शोकमा डुबेको छ । नेपालमा विमान दुर्घटनाहरु कहिले र कसरी भएका थिए त भनेर हामीले यसपटक दुर्घटनाको इतिहास केलाउने प्रयास गरेका छौं ।

नेपालमा पहिलो विमान दुर्घटना वि.सं. २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा २ जनाको निधन भएको थियो । त्यस्तै वि.सं. २०१३ जेठ १३ मा अर्को दुर्घटना भयो । इन्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जनाको दुःखद निधन भएको थियो । त्यसपछि साना–ठूला दुर्घटनाहरु थपिँदै गए ।

सडक दुर्घटनाजस्तो विमान दुर्घटनामा यात्रीहरुलाई घाइते अवस्थामा उद्धार गरिएका उदाहरणहरु ज्यादै कम मात्रामा आउने भए पनि केही मात्रामा घाइते भएका घटनाहरु पनि नभएका होइनन् । हुन त कुनै पनि दुर्घटना राम्रो होइन । तर पनि विमान दुर्घटना आफैंमा एउटा कहाली लाग्दो अवस्था त हो नै, त्यसमा पनि पछिल्लो पाँच वर्षयता बर्सेनि झन्डै २ वटाको दरमा भएका विमान दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने अनुमान गर्न थालिएको छ ।

नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा ३० वर्षअगाडि वि.सं. २०४९ असोज १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ नेपालीसहित विमानमा सवार सबै १६७ जना यात्रीको दुःखद निधन भएको थियो ।

संयोग नै हो, पछिल्लोपटक भक्तपुरको मनोहरा फाँटमा भएको सीता एयरलाइन्सको विमान पनि ०६९ असोज १२ गते नै दुर्घटना भयो । वि.सं २०४८ मा रसुवाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पुगेको दुर्घटनाको रुपमा रहेको छ ।

विगत १७ वर्षयता नेपाली आकाशमा भएका विमान दुर्घटनालाई सर्सर्ती हेर्ने हो भने नेपाली आकाशमा वि.सं. २०६३ मा ताप्लेजुङमा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा २४ जनाले ज्यान गुमाए । हेलिकोप्टर दुर्घटनामा यो नै सबैभन्दा ठूलो दुर्घटना हो । यस दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ जनाको निधन भएको थियो ।

२०६५ साल असोज २२ गते सोलुखुम्बुको लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । त्यसै गरी २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंसिर २९ गते ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीले ज्यान गुमाउनुप¥यो । यस्तै विमान दुर्घटनाको शृङ्खला ०६८ असोज ८ गते पनि दोहोरियो । बुद्ध एयरको सेवा शुरुको १४ वर्षको इतिहासमा यो उसको पहिलो विमान दुर्घटना थियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै ०६८ सालकै कार्तिक १ गते नेपालगन्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना काठमाडौं उपत्यकाभित्रै मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको उपत्यकावासी र सम्पूर्ण नेपालीहरुको लागि अविष्मरणीय घटना हुन पुगेको छ ।

यसपछि पनि पटक–पटक विमान दुर्घटनाका शृङ्खला दोहोरिइरहे । यस्तै ०७० फागुन ४ मा भएको नेपाल वायु सेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलो चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जनाको निधन भएको थियो । ०७३ सालको साउन महिनामा ३ वटा विमान दुर्घटना भएका थिए ।

०७४ को जेठ महिनामा पनि नेपाली आकाशमा दुईवटा विमान दुर्घटना भएका थिए । जेठ १३ गते लुक्लामा गोमा एयरको कार्गो विमान दुर्घटना हुँदा चालक पारशकुमार राईको ज्यान गयो भने १७ गते बाजुरामा सेनाको जहाज खस्दा पाइलट कौशल गुरुङसहित २ जनाको निधन भयो ।

०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनको रुपमा लेखिएको छ । बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा त्रिभुवन विमानस्थलको रनवेमै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका ४ सदस्यसहित ७१ यात्री सवार थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जीवितै उद्धार गरिए पनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो । दुर्घटनामा मानवीय क्षतिको हिसाबले यो निकै नै ठूलो विमान दुर्घटना हो । त्यसलगत्तै अरु २ वटा विमान पनि दुर्घटनामा परेका थिए ।

इतिहासले देखाए अनुसार ०७५ जेठ २ गते मकालु एयरको कार्गो विमान सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको केहिबेरमै दुर्घटनामा परेको थियो । यस दुर्घटनामा चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको निधन भयो । पछि सोही वर्ष मंसिरमा पनि विमान दुर्घटना भएको थियो ।

पछिल्लोपटक ०७५ फागुन १५ गते पनि हवाई दुर्घटना भएको थियो । एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको फुङलिङको तारेढुंगा भीरमा दुर्घटना भएको हो । सो दुर्घटनामा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

गत ०७९ जेठ १५ मा पनि नेपाली हवाई क्षेत्रमा दुःखद घटना भएको थियो । तारा एयरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भोलिपल्ट दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना रहेको सो जहाज दुर्घटना भएको हो ।

विगतमा भएका विमान दुर्घटनाका इतिहास केलाउने हो भने यस शृङ्खलाले ०७९ सालमा पनि निरन्तरता पाएको छ । भर्खरै मात्र थपिएको सहित नेपालमा ९८ वटा विमान दुर्घटना भएका छन् । यद्यपि मानवीय क्षति भएको हिसाबले हेर्ने हो भने यो ५३ औं दुर्घटना हो । नेपालमा हवाई यात्राको शुरुवात वि.सं. २००६ देखि अहिलेसम्म ९ सय ५१ जनाभन्दा बढीले यसकै कारण ज्यान गुमाएका छन् । नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरु हुने गरेका भए पनि पछिल्ला दिनहरुमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधिक कारणलगायतबाट एकपछि अर्को दुर्घटना थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

यी त केही मुख्य दुर्घटनाहरु भए । सानातिना दुर्घटनाहरु त कति भए कति, लेखाजोखा नै छैन । यसरी पटक–पटक नेपाली आकाशमा विमान दुर्घटना दोहोरिने शृङ्खलाले नेपाली हवाई क्षेत्रप्रति नै प्रश्नहरु उठ्न थालेका छन् । के साँच्चै नै नेपाली आकाश असुरक्षित नै छ त भन्ने प्रश्न यति बेला चुनौतीका रुपमा उभिएको छ ।

यसरी बढ्दै गइरहेको हवाई दुर्घटनालाई न्यूनीकरण गर्न सरकार र नागरिक उड्ययन प्राधिकरणले खासै पहल गरेको देखिँदैन । यसमा उनीहरुको व्यवस्थापनकै कमजोरी मुख्य दोषी पाइएको छ । दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदनलाई थन्क्याएर राख्ने कार्यले पनि विमान दुर्घटना बढाएको छ । प्रतिवेदनले औँल्याएका कुरामा सतर्कता अपनाउने र आगामी दिनमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने धेरै हदसम्म यस्ता दुर्घटना रोक्न सकिने विज्ञहरु बताउँछन् ।

हुन त अन्तर्राष्ट्रिय निकायबाट नेपालको एकमात्र ठूलो र बाह्य देशसँगको सम्पर्क बढाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उपत्यकावरिपरि भएका जंगल र त्यहाँ रहेका विभिन्न ३० प्रजातिका चराहरुका कारण असुरक्षित भएको निष्कर्ष निकालिसकिएको छ । त्यसमा पनि राजधानीमा दिनहुँ थुप्रिने गरेको फोहोरका कारण चील, बाज, गिद्ध, हुचिललगायतका चराहरु बढ्दै गएको र यिनीहरुकै कारण दुर्घटना हुने गरेको पनि प्रस्ट छ । नेपालको भौगोलिक अवस्था र मौसम खराबीजस्ता कारण पनि हवाई यात्राका मुख्य चुनौतीहरु हुन् । पुराना र धेरै वर्ष प्रयोगमा आइसकेका विमानहरुलाई समय–समयमा मर्मत नगरिँदा पनि दुर्घटना बढ्दै गएको तथ्यलाई पनि नकार्न सकिँदैन । दक्ष प्राविधिक र चालकहरुको अभावले पनि यस्तो त्रास बढाएको छ ।

यी र यस्तै विषयहरुलाई ध्यानमा राखेर सम्बन्धित निकायले काम गर्दै जाने हो भने आगामी दिनहरुमा पक्कै पनि यस्ता कहाली लाग्दा हवाई दुर्घटनाहरुलाई केही हदसम्म रोक्न सकिनेछ । यसरी चुनौतीपूर्ण रुपमा दुर्घटनाहरु बढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला, त्यो भने प्रतीक्षाकै विषय बनेको छ । [email protected]

प्रतिक्रिया दिनुहोस्