नेपाली बुद्धिजीवी र तिनीहरुले ध्यान दिनुपर्ने केही विषय

0
Shares

नेपाली बृहत् शब्दकोषका अनुसार बौद्धिक काम गरेर जीविका चलाउने व्यक्ति बुद्धिजीवी हुन् । यसबाट स्पष्ट हुन्छ कि बुद्धिजीवी मानसिक श्रममा संलग्न हुन्छन् ।

उत्कृष्ट बौद्धिक कामको लागि सम्बन्धित विषयको गहिरो र विशिष्ट ज्ञान तथा लामो कार्यानुभवको आवश्यकता पर्छ । तसर्थ, लामो कार्यानुभव तथा गहन अध्ययनले देदिप्यमान व्यक्तित्वले बुद्धिजीवीको गुरुत्व बहन गर्न सक्छ । धेरै समय अध्ययनमा बिताउनु, जटिल समस्याको सहज समाधानको उपाय खोज्न चिन्तनशील रहनु, विनापरख मुखको भरको कुरालाई नपत्याउनु बुद्धिजीवीका विशेषता हुन् ।

उदार हृदय र खुला दिमाग, सहज अङ्गिकारिता, कुनै विषय वा परिवेशप्रति गहिरो उत्सुकता र त्यसको गुत्थी पहिल्याउन एकलव्य निष्ठा, अलि बढी आत्मकेन्द्रिता, आत्मसंयम, मनोवेगको नियन्त्रण, सूचना प्रवाहमा कुशल, अरुका राम्रोलाई सहजै राम्रो मान्ने र आफ्ना विचार र दृष्टिकोणले अरुको पनि जित्न सक्ने गुणले बौद्धिकताको बोध गराउँछ । बुद्धिजीवी कहलाउन अलिकति आलोचनात्मक चेत, ब्रह्मले देखेको सत्यमा कुनै मानेमा सम्झौता नगर्ने दृढता तथा लोभलालचबाट अलि टाढै रहन सक्नुपर्छ ।

तथ्यको आधारमा सत्य खोज्नु बुद्धिजीवीको मुख्य धर्म हो । वास्तविक बुद्धिजीवीले सदैव सकारात्मक÷अग्रमामी परिवर्तनको संवाहक बन्ने हुटहुटी पालिरहेको हुन्छ । आफ्नो बोली, व्यवहार, कर्म, सरसङ्गत तथा सहकार्यमार्फत सामाजिक जागरणको अभियन्ता बन्ने ध्येय बुद्धिजीवीमा रहेको हुन्छ । हरक्षण घरपरिवार, छरछिमेक, समाज, देश र संसारकै अर्थपूर्ण सुधारको लागि प्रयत्नरत रहन्छ, बुद्धिजीवी । बुद्धिजीवीले आफ्नो र आफूजस्ताको ज्ञान, प्रतिभा र क्षमताको सहायताले समाजमा प्रचलित रीतिरिवाज तथा परम्परालाई तथ्यको कसीमा घोटेर अप्रासङ्गिक पक्षलाई त्याग्दै, त्याग्न लगाउँदै मानवोपयोगी प्रासङ्गिक पक्षलाई समुन्नत पार्दै सोको अनुशरण र संरक्षणमा बढी जोड दिन्छ ।

नियमित सत्सङ्ग, विचार, विमर्श, कार्यशाला, गोष्ठी आदिको माध्यमबाट आफ्ना विचार एवंं धारणा अरुमा सम्प्रेषण गर्ने र अरुका ज्ञान, सीप र अनुभवबाट आफू पनि दीक्षित हुने बाटो अवलम्बन नगरी बुद्धिजीवीको पगरी थेगिराख्न सम्भव हुँदैन । आँटका साथ कालो र सेतो, सङ्लो र धमिलो, जायज र नाजायज, जनोपयोगी र अनुपयोगीको दशगजामा उभिएर निसङ्कोचतापूर्वक सेतो, सङ्लो, जायज र जनोपयोगिताको पक्षपोषण नगर्ने व्यक्ति प्राज्ञिक प्रमाण–पत्रले पढेलेखेको भन्न सकिए तापनि बुद्धिजीवी हुनचाहिँ सम्भवतः असम्भव नै हुन्छ ।

बुद्धिजीवीको प्रसङ्ग कोट्याउँदा नेपालका पुराना प्रायः सबै राजनीतिक दलहरुले ऊनीहरुले आस्था राख्ने दर्शन तथा सिद्धान्तसँग सहमत हुने पढेलेखेका व्यक्तिहरुलाई भेला पारेर सोही अनुसारको नाम जुराएर अनेक जनवर्गीय जनसङ्गठनहरुमध्ये एकको रुपमा परिचालित गर्दै आइरहेका छन् । दलीय झुकावको आधारमा मात्र बुद्धिजीवीहरुको वर्गीकरण हुनु उपयुक्त-अनुपयुक्त भनेर बहस गर्न सकिए तापनि नेपालको वर्तमान सन्दर्भमा यस्तो वर्गीकरण रहेको तथ्यसत्य हो । दलीय बन्धनबाट स्वतन्त्र वा दलीय आबद्धता भएका भए तापनि बुद्धिजीवीमा न्याय, समानता, सत्यको पक्षमा उभिने प्रज्ञा र विवेक हुनुचाहिँ अपरिहार्य हुन्छ । व्यक्तिगत स्वार्थका लागि विवेक बन्धक राखेर वा नेतृत्वको बेतुकको बोलीमा लोली मिलाएर मात्रचाहिँ किमार्थ बुद्धिजीवी हुन सकिँदैन ।

नेपालमा अहिले स्वतन्त्र वा दलमा आबद्ध स्वनामधन्य बुद्धिजीवीहरु छ्यास्छयास्ती छन् । बुद्धिजीवीहरुको उपस्थिति बढ्दै जाँदा सभ्य र सुसंस्कृत व्यक्ति, समाज र देशको लागि पटक्कै नसुहाउने बेथिति, अन्याय, अत्यार, व्यभिचार तथा कुशासन आदि घट्दै जानुपर्नेमा यसको ठीक विपरीतको अवस्था देखिँदो छ ।

यसले स्पष्ट सङ्केत गर्छ कि नेपालका बुद्धिजीवीहरुले आफ्नो स्वत्वलाई ध्यानमा राखेर सो अनुसारको काममा ध्यान दिएनन् । राज्यले पनि गणेशभक्तिमा लीन बुद्धिजीवीहरुलाई मात्र हेरेर ऊनीहरुको क्षमता, औकात र प्रतिभालाई बिकाउ वस्तुभन्दा परतिर अरुथोक केही ठानेन । दाल, भात, डुकुभन्दा पर पनि हाम्रो केही कर्तव्य र दायित्व छ भन्ने सम्झेर बुद्धिजीवीहरु जबसम्म त्यसतर्फ अग्रसर हुँदैनन् तबसम्म राजनीतिले बुद्धिजीवीहरुलाई सेप्य्राएर राख्ने निश्चित छ ।

अतः अब नेपालका बुद्धिजीवीहरुले एकल वा सामूहिक प्रयासमा वि.सं. २०४६ देखि वि.सं.२०७९ सम्म आइपुग्दा पनि अझै अपेक्षा अनुसारको राजनीतिक स्थायित्व किन स्थापित हुन सकेन, दलभित्रको अन्तर्पार्टी प्रजातन्त्र दिनानुदिन किन सङ्कुचित हुँदै गैरहेछ, आफूलाई राजनेताको कोटीमा राख्ने दलका शीर्षस्थ नेताहरु नीति, विचार र कार्यक्रमलाई पारि किनारामा नै छाडेर किन सुन्नै नसकिने पाँडेगाली वा राजनीतिक प्रहसनमा रमाइरहेका छन्, कूटनीतिक÷परराष्ट्र मामलामा असंलग्नता र पञ्चशीलको सिद्धान्तबाट विचलन हुन किन खोजिँदै छ भन्ने कुरामा सत्यतथ्य पर्गेल्नुपर्ने बेला आएको छ ।

यसै गरी उनीहरुले पञ्चायती शासनमा कलकारखाना, उद्योग, व्यवसाय चल्न सक्ने तर बहुदलीय तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा ती चल्न किन नसक्ने, दिन–प्रतिदिन राजनीतिक सेवा कम र व्यवसाय बढी किन बन्दै छ, लोक सेवा आयोग पास गरेर सरकारी सेवामा आएको कर्मचारी परीक्षणकाल नै सकिन नपाई किन आर्थिक अनियमिततामा निर्लिप्त हुन्छ, राज्यदोहन लाज र सरमको विषय नबनेर किन पुरुषार्थको विषय बनिरहेछ, पुँजीगत खर्च हल्लिँदै नहल्लिने र चालू खर्च बेलगाम कुद्ने किन भैरहेछ भन्ने कुरामा पनि ध्यान दिनुपर्ने देखिन्छ ।

त्यस्तै बुद्धिजीवीहरुले आयात र निर्यातबीचको भ्वाङ झन्–झन् ठूलो किन हुँदै छ, अन्तर्राष्ट्रिय लुच्चा, फटाहाहरुको लागि यो देश स्वर्णभूमि हुनुको कारण के हो, स्थानीय सरकारसँगसँगै सिंहदरबारको मात्रा पनि उछिनेर वडावडा, टोलटोलमा भ्रष्टाचार बुर्कुसी मार्दै किन आइरहेछ, सर्वसुलभ हुनुपर्ने शिक्षा र स्वास्थ्य किन यतिसाह्रो महँगो र दुर्लभ भैरहेछ, राष्ट्रप्रेमको कुरा गर्दा नाक खुम्च्याउँदै पछिल्लो पुस्ता जतिसक्यो छिटो देश छाड्न किन हतार गर्छ, शक्ति सन्तुलन र पृथकीकरणको मूल्य, मान्यता कुल्चेर राजनीति सबैतिर दाह्रा गाड्न किन उद्यत् छ भन्नेतर्फ पनि खोजी गर्नुपर्छ ।

यसै गरी पञ्चायत कालसमेत तैबिसेक स्वायत्त रहेको त्रिभुवन विश्वविद्यालय अहिले सबैभन्दा बढी भागबन्डा र अकर्मण्यताको केन्द्र किन बनिरहेछ, उद्योगपति, व्यवसायी, पेसाकर्मीहरु, सेवानिवृत्त उच्चपदस्थ ‘राष्ट्रसेवकहरु’, सञ्चारकर्मीलगायत सबै–सबैको आकर्षणको केन्द्र राजनीति किन बनिरहेछ, आसपासकाहरु असल छिमेकी बन्न छाडेर हाम्रो मुटु, कलेजो उधिन्न किन मरिमेटिरहेका छन्, संविधान, कानुनले तोकेको ३३ प्रतिशत जसोतसो पु¥याए पनि महिलाहरुलाई थप अवसर दिन दलहरु किन हिच्किचाइरहेका छन् जस्ता कुरामा पनि ध्यान पुग्नै पर्छ ।

त्यसै गरी संविधानको मर्म र भावना विपरीत निर्वाचनको क्षणमा बढी नै मात्रामा दलहरु किन अप्राकृतिक गठबन्धनको अभ्यास गरिरहेका छन्, जित्नकै लागि मात्र किन एउटा दलको नेता अर्काे दलको चिन्ह लिएर आफ्नो उचाइ घटाइरहेको छ, निर्वाचनमा गठबन्धन एउटासँग र सरकार बनाउन अप्रत्याशितरुपले गठबन्धन अर्कै दलसँग किन भैरहेछ आदि विषयका सम्बन्धमा सत्यतथ्य र अन्तर्य पर्गेल्दै यस्ता कामका सबल र निर्बल पक्ष खोतलेर नेपाली बुद्धिजीवीहरुले निर्भीक भई कलम चलाउन ढिला गर्न नहुने भैसकेको छ । यो काममा जति विलम्ब भयो उति नेपाल कुशासनको गर्तमा भासिँदै जाने र बुद्धिजीवीहरुको सान्दर्भिकता पनि हराउँदै जाने निश्चित छ ।
(लेखक थापा इन्द्रेश्वर क्याम्पस, काभ्रे, पनौतीका सञ्चालक समितिका सदस्य हुनुहुन्छ ।)