संचारकर्मी रामकृष्ण भण्डारीद्वारा लिखित ‘सत्ता संघर्ष’ पुस्तक बजारमा

0
Shares

काठमाडौं ।

संचारकर्मी रामकृष्ण भण्डारीद्धारा लिखित सत्ता संघर्ष नामक पुस्तक बजारमा आएको छ । शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक लोकापर्ण गरिएको छ ।

संसद भवन नयाँ वानेश्वरमा रहेको लोत्से हलमा आयोजित कार्यक्रममा उक्त पुस्तक नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, सांसद गरिमा शाह र राजनीतिक विश्लेषक डा. हरी शर्माले संयुक्त रुपमा लोकापर्ण गरेका थिए ।

कृतिमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छाैं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।

विसं २०४६ को राजनीतिक परिवर्तनदेखि २०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्ता संघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ । उक्त अवधिमा जेजति सरकार बने तिनको गठन, विघटन कसरी भयो, राजनीतिको मियोे कसरी अघि बढ्यो भन्ने विषय पुस्तकमा उल्लेख गरिएको छ ।

पुस्तकमा मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्काे घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गर्नुभएको छ ।

२०४६ सालको परिर्वतन पछि मुलुकमा के कस्ता राजनीतिक घटना घट्यो सत्ता प्राप्तीकालागि राजनीतिक दलहरुले के के गरे भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

नेपालमा सरकार बनाउन छिमेकी मुलुकहरुले के कस्ता हर्कत गर्ने गरेका छन भन्ने कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ । दलहरुकै कारण मुलुकमा लोकतन्त्र देखि गणतन्त्र सम्म आइपुग्दा स्थिर सरकार गठन हुन नसकेको दलका नेताहरुले मुलुकको हित भन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुंदा मुलुक पछाडि परेको कुरालाई लेखकले राम्रोसंग बर्णन गर्ने प्रयास गर्नु भएको छ ।

कृतिका लेखक भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार संकलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तकका आधार भएको बताउनुभयो । साङ्ग्रिला मिडिया ग्रुप प्रालि प्रकाशक रहेको उक्त पुस्तकको मूल्य ६ सय ७५ रहेको छ ।