स्कुलको खाजामा अब कोदोको हलुवा

0
Shares

हेटौंडा।

हेटौंडासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्कुले विद्यार्थीले अब विद्यालयमै कोदो र फापरका परिकार खान पाउने भएका छन् । उक्त पालिकाका ३९ विद्यालयका करिब ६ हजार विद्यार्थीले दिवा खाजामा त्यस्ता परिकार खान पाउने भएका हुन् ।

पालिकाले विद्यालयको दिवाखाजामा स्थानीय रैथाने बालीका परिकार समावेश गर्ने निर्णय गरेपछि उनीहरुले विद्यालयको टिफिन टाइममा कोदोको हलुवा, निमकिन, बिस्कुट, कपकेक, बटरकेक, प्यानकेक, कुकिज, पिज्जा, पाउरोटी, दुनोट, ममजस्ता २१ प्रकारका परिकार खान पाउने भएका छन् ।
स्थानीय रैथाने बाली प्रवद्र्धनमा लागेको पालिकाले हप्ताको एक दिन पलिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा दिवाखाजाका रुपमा स्थानीयस्तरमा उब्जने रैथाने बालीका परिकार खुवाउने निर्णय पालिकाले गरेको हो ।

कार्यपालिका बैठकले पालिकाका विद्यालयमा प्रत्येक बिहीबार विद्यार्थीलाई स्थानीय एवम् रैथाने बालीका परिकार दिवाखाजाका रुपमा समावेश गर्ने निर्णय गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।

पालिका स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीलाई महत्व दिएर त्यसको संरक्षण र सम्वद्र्धनमा लागेको छ । स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजना ल्याएर काम गरिरहेका कारण हाल स्थानीयस्तरमा रैथाने बालीको उत्पादन बृद्धि भएको पालिका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले बताउनुहुन्छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष घोषणा गरिएको छ । ‘खाद्य, पोषण, सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणका लागि कोदोजन्य बाली’ नारासाथ २०२३ लाई कोदोजन्य बाली वर्ष मनाउन थालिएको हो । यस सन्दर्भमा नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र हरिहरभवन श्रीमहल, ललितपुरको आयोजनामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको नेपालमा औपचारिकरुपमा शुरु भएको छ ।

कार्यक्रममा स्थानीय तहले कोदोजन्य बाली प्रवद्र्धनका लागि सञ्चालन गरिरहेका प्रयासबारे मकवानपुरगढी पालिकाका कृषि अधिकृत चौधरीले प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले कोदोजन्य आहार स्वस्थ्य जीवनको आहार भएको भन्दै पोषिलो, स्वादिलो, गुणस्तर र स्वस्थ्य रहेकोे पञ्चगुण तत्वले भरिपूर्ण रैथाने बाली लोप हु“दै गएकोले यसलाई प्रवद्र्धन गर्नु जरुरी भएको औंल्याउनुभयो ।

चौधरीले पालिकामा ३ सय हेक्टरमा कोदो खेती हु“दै आएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रफलबाट ३ सय ६० मेट्रिकटन कोदो उत्पादन हुँदै आएको छ । सरकारबाट रैथाने बाली प्रवद्र्धनमा गरेको योगदानले बालीको क्षेत्र विस्तार भएको छ । बा“झो जमिनमा खनजोत गरेर खेती गरे प्रतिहेक्टर ९ सय रुपिया“ प्रोत्साहन दिने गरिएको छ ।

मकवानपुरगढीमा कोदोका विभिन्न परिकार प्रदर्शन गर्दै आएको छ । तालिमपश्चात् तयार पारिएका विभिन्न परिकार प्रदर्शनीमा राख्ने गरिएको हो । पालिका कृषि विकास शाखाले दिने गरेका तालिममा कोदोको हलुवा, निमकिन, बिस्कुट, कपकेक, बटरकेक, प्यानकेक, कुकिज, पिज्जा, पाउरोटी, दुनोट, ममजस्ता २१ प्रकारका परिकार बनाइएको थियो । तालिममा वडाहरुका टोल, होमस्टे, खाजाघरका सञ्चालक र कृषि प्राविधिकको सहभागिता रहने गरेको छ । मकवानपुरगढीका सबै वडामा कोदो राम्रो उब्जनी हुन्छ । यसलाई प्राथमिकतासाथ पालिकाले पनि अनुदानको व्यवस्था गरेको छ ।

मकवानपुरगढी गाउ“पालिका वडा नम्बर–४, कालीखोलामा कोदो संकलन तथा प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । अपांग तथा विपन्न सहकारी संस्था र मकवानपुरगढी गाउँपालिकाको लागत साझेदारीमा कोदो संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको हो ।

कोदो पौष्टिक हिसाबले महत्वपूर्ण बाली भएको र यसको बजार माग क्रमशः वृद्धि हु“दै गएकाले कृषकहरु कोदो उत्पादनमा लाग्नुपर्ने पालिका अध्यक्ष दोर्जे लामा बताउनुहुन्छ । उहाँले सहकारीमार्फत् कोदो संकलन र पिठोलाई प्याकेजिङ गरी बजारीकरण गर्न पालिकाले सहयोग गर्ने बताउनुभयो ।
पालिकाले रैथाने बाली कोदो र फापरको न्यूनतम् समर्थन मूल्य निर्धारण गरेको छ । कोदोेको न्यूनतम् समर्थन मूल्य प्रतिकेजी ४५ रुपिया“ र फापरको प्रतिकेजी ८० रुपिया“ निर्धारण गरिएको हो ।