संघीयता खारेजीका पक्षधर नै सभामुख

0
Shares

हेटौंडा।

बागमती प्रदेशसभामा सभामुखमा राप्रपाका भुवनकुमार पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । शुक्रबार प्रदेशसभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको छ ।
सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा सत्तारुढ दलहरुका तर्फबाट उम्मेदवार पाठक विजयी हुनुभयो । नवनिर्वाचित सभामुख पाठक राप्रपाका समानुपातिक सांसद हुनुहुन्छ ।

संघीयता खारेजी, हिन्दुराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको मुख्य एजेण्डा बोकेको पार्टीमा आफ्नो उर्वर समय व्यतीत गर्नुभएका पाठकले अब प्रदेशसभालाई प्रभावकारी बनाउन समन्वयकारी भूमिका खेल्नुपर्ने अवस्था आएको छ ।

उहाँ पाठकलाई प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गर्नुभएको थियो । नेपाली काँग्रेसका उम्मेदवार शिवराज अधिकारीले ३६ मत प्राप्त गर्दा नेमकिपाकी सृजना सैंजुले ३ मत प्राप्त गर्नुभयो ।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाका अनुसार १ सय १० सदस्यीय प्रदेशसभाको मतदानमा ज्येष्ठ सदस्यबाहेक १ सय ९ सदस्यले सहभागिता जनाएका थिए । बैठकमा उपस्थितमध्ये पाठकले सभामुखका लागि गरेको प्रस्तावको पक्षमा ६२ मत, विपक्षमा ४९ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । गठबन्धनका पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता (मन्त्री) जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्थ्यो ।

अधिकारीले सभामुखका लागि गरेको प्रस्तावको पक्षमा ३६ मत, विपक्षमा ६५ मत र मत दिन्न भन्ने पक्षमा ७ मत परेको थियो । उहाँको प्रस्तावकमा कुन्दन काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्थ्यो । अर्की उम्मेदवार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सैंजुले सभामुखका लागि गरेको प्रस्तावको पक्षमा ३ मत, विपक्षमा ६५ मत परेको थियो । उहाँको प्रस्तावकमा गीता काफ्ले र समर्थकमा सुरेन्द्रराज गोसाईं हुनुहुन्थ्यो । दुवै उम्मेदवार अस्वीकृत भएपछिको मतदान प्रक्रियाबाट पाठक सभामुख निर्वाचित हुनुभएको थियो । सभामुखमा चयन हुन ५५ मत चाहिन्छ ।

सभामुख पाठकले शुक्रबार दिउँसो ३ बजे शपथ लिनुभएको छ । सभामुख पाठकलाई बागमती प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराउनुभएको हो । शपथग्रहण कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, बिना विभागीय मन्त्री उद्धव थापा, प्रदेशसभा सदस्यहरु, प्रदेश सरकारका सचिवहरु लगायतको आतिथ्यता थियो ।

राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभाग प्रमुख भएर काम गरिसक्नुभएका पाठक हाल अन्तर्राष्ट्रिय विभाग प्रमुख पनि हुनुहुन्छ । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको बेला उहाँ शिक्षा सहायक मन्त्री भए पनि जननिर्वाचित थलोमा पुगेको पहिलो हो ।

भूमिकामा परिवर्तन

सभामुख निर्वाचितपछि उहाँले प्रदेशमा पारदर्शिता, तटस्थता र निष्पक्षतालाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रदेशका सबै जातजाति, भाषाभाषीको समेत सहभागिता प्रदेशमा हुने गरी काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । राजनीतिक दलका रुपमा रहेको भूमिकामा परिवर्तन आएको भन्दै उहाँले नयाँ जिम्मेवारीसँगै राजनीतिभन्दा माथि उठ्न प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो–सरकार र संसद्मा मेरो विशेष चासो हुनेछ । प्रदेशसभाका सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्नेछु । बागमती, केन्द्रीय राजधानीसँगै जोडिएकाले प्रदेशका सबै जातजाति, भाषाभाषीको समेत सहभागिता हुने गरी काम गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।
पाठकले आफू पूर्ण तटस्थतासाथ आफ्नो भूमिका निर्वाह गर्ने भन्दै प्रदेशसभा सबै राजनीतिक दलको साझा थलो रहेकाले कुनै पक्ष वा विपक्षीमा नलागी राजनीतिभन्दा माथि उठेर काम गर्ने दाबी गर्नुभयो ।

पाउने सुविधा

प्रदेशसभाका सभामुखले पुस १४ गतेदेखि तलब र भत्ताहरु पाउनेछन् । प्रदेशसभा सचिवालयका अनुसार सभामुखले मासिक ६१ हजार ४ सय ८० रुपियाँ पारिश्रमिक पाउने, प्रदेशसभा बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत प्रतिदिन १ हजार पाउने व्यवस्था छ ।
निजी सचिवालय कर्मचारी सुविधामा सभामुखले उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, कार्यालय सहयोगी १ जना र हलुका सवारीचालक २ जना पाउने व्यवस्था रहेको सचिवालयले बताएको छ ।

अतिथि सत्कारमा सभामुखले १० हजार रुपियाँ, निजी सचिवालय बन्दोबस्त सुविधामा २ हजार रुपियाँ, सरकारी आवास, सवारीसाधन १ वटासहित सवारी इन्धन प्रतिमहिना १ सय ५० लिटर र त्रैमासिक मोबिल १० लिटर पाउने व्यवस्था छ ।

सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) सुविधामा सभामुखले ५ हजार, धारा, बिजुली सुविधा बिलअनुसार, दैनिक तथा भ्रमण खर्च सुविधामा प्रदेशसभाको काममा नेपालभित्र भ्रमण गर्दा २ हजार ५ सय रुपियाँ तथा विदेश भ्रमण गर्दा २ सय अमेरिकी डलर दैनिक भ्रमण भत्ता तथा १० लाख रुपियाँ बराबर यात्रा बीमा प्रिमियम पाउने व्यवस्था छ ।

चाडपर्व खर्चमा धर्म/संस्कृति अनुसार मनाइने चाडपर्व मनाउनका लागि वर्षको एक पटक एक महिनाको पारिश्रमिक बराबर रकम पाउने व्यवस्था रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।