गीत संगीतमा अन्तर्राष्ट्रिय पहिचान



नेपालको भूगोल झैं नेपाली गीत संगीतमा पनि विविधता पाइन्छ । कुनै समय पूर्वमा पूर्वेली भाका, पश्चिममा देउडा, काठ क्षेत्रमा काठे गीत र काठमाडौंमा सुगम संगीत रुचाउने संगीतप्रेमीको जमात थियो ।

प्रविधिको विकाससँगै अब गीत संंगीत निश्चित स्थान र मानिसका बिच मात्र सीमित रहेन । अहिले पूर्वका गीत पश्चिमका स्रोतामाझ लोकप्रिय छन् भने पश्चिमका गीत पूर्वका स्रोताको मुखमा झुण्डिएको पाइन्छ । रेशम फिरिरिजस्ता गीत नेपालसँगै अन्य देशका विदेशी स्रोतामाझ लोकप्रिय छन् । राम्रो गीत संंगीत उत्पादन गर्न सके गीत संंगीतलाई भूगोल र स्रोताको उमेरले फरक पर्दैन भन्ने उदाहरणका रूपमा पछिल्लो समय राजनराज सिवाकोटीको संंगीत रहेको फूलबुट्टे सारी बोलको गीतलाई लिन सकिन्छ । शुरूमा मेल भर्सनमा गायक मार्मिक लामा र फिमेल भर्सनमा गायिका मिलन नेवारको स्वरमा रेकर्ड भएको यो गीतको लोकप्रियता बालबालिका र युवा पुस्तादेखि वृद्धावृद्धामाझ पनि निकै लोकप्रिय बन्यो । त्यसपछि सोही गीत ख्यातिप्राप्त गायक तथा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा लिजेन्ड्री भर्सनमा रेकर्ड भयो भने यसको चाईल्ड भर्सन पनि बजारमा छाउन पुग्यो । यही गीतलाई युगान्डाकी गायिका बियोन्सेले गाएपछि यो गीतको चर्चा अन्तर्राष्ट्रिय स्रोतामाझ पैmलिन पुग्यो । नेपाली गीत संगीत कहिले सफलता तथा कहिले जटिल अवस्था पार गरेर हालसम्म आएको छ । नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न चुनौतीलाई चिर्दै अबको लक्ष्य पहिचान गरी त्यसतर्फ उन्मुख हुन जरुरी देखिन्छ ।

लोकप्रिय संगीतकार सुरेश अधिकारी नेपाली संगीत जगत्को अबको लक्ष्य तीन विषयमा केन्द्रित हुनुपर्ने बताउँछन् । ‘पहिलो विषय भनेको नेपाली संगीत क्षेत्रको स्तरोन्नति हुनुपर्छ । त्यसका लागि हामीले संगीत विकास बोर्डको माग गरिरहेका छौं । संगीतको विकास र स्तर कायम गर्न र लोपोन्मुख हुन लागेका गीत संगीतको जगेर्नाका लागि कडा नियम बनाएर लागु गर्नुपर्ने हुन्छ । दोस्रो, अहिले संंगीत जगत डिजिटल युगमा प्रवेश गरेसँगै स्रस्टामैत्री बनाउनु पर्छ । लगानीकर्ता र स्रष्टा दुवैले बराबर बाँच्न पाउने व्यवस्था हुनुपर्छ । त्यसका लागि सर्भरको र डिजिटल टेक्नोलोजीको विकासमा सरकारको ध्यानाकर्षण गराईरहेका छौं । तेस्रोमा गीत संंगीतमा हुने प्रतिलिपि अधिकार ऐन रोयल्टीसँगै जोडीने भएकाले नयाँ बनाएर अथवा त्यसलाई परिमार्जन गरेर कडा रुपमा लागू गर्नु अबको लक्ष्य बनाइनु पर्छ’– उनको भनाइ छ ।

गायिका निशा देशार अबको पुस्ताले नेपाली लोक गीत संगीतलाई अघि बढाएर लोक गीत संगीतमा योगदान दिनुपर्ने बताउँछिन् । ‘हामी शास्त्रीय संंगीत भारतबाट शुरू भएको मान्छौं । तर, त्योभन्दा पहिले नै काठमाडौं र भक्तपुरजस्ता नेपालका शहरमा पनि शास्त्रीय संगीतको चलन थियो भन्ने सुनिरहेका हुन्छौं । संगीतसम्बन्धी यस्ता महत्वपूर्ण विषयमा अध्ययन र अनुसन्धनालाई अबको लक्ष्यको विषय बनाउनु पर्छ । हाम्रो नेपाली गीत संगीतको राम्रो पक्ष भनेको हामी लोक गीत संंगीतमा धनी छौं । कतिपय गीत संगीतको त अध्यन नै नभएकाले हामीले नसुनेका कयौं लोक गीत होलान् । लोक लयमा धेरै गीत निर्माण भएका छन् भने फिल्मी गीतमा पनि लोक लयको प्रयोग भएको पाइन्छ । अहिलेका नयाँ गायकगायिका, जस्ले शास्त्रीय संंगीत, हाम्रो लोक गीत संंगीत आदिका बारेमा अध्यन गर्नुभएको छ उहाँहरूले चाहिँ आफूले सिकेको र पढेको कुरालाई व्यवहारमा उतार्नुपर्छ र त्यस्ता गीत संंगीतमा योगदान दिनुपर्छ । यसरी हामीले हाम्रो नेपाली लोक गीतलाई पहिचान बनाएर अघि बढाउनु पर्छ । त्यस्तै, पछिल्लो समय संस्कृतिको जगेर्नाका लागि भन्दै मेला महोत्सव भईरहेका छन्, तर त्यहाँ कस्ता खालका कलाकारले कस्ता खालका प्रस्तुति दिई रहेका छन् भन्ने कुरा त सबैलाई थाहै छ । त्यस्ता कार्यक्रमले संगीत क्षेत्रको स्तर माथि उठ्छ की उठ्दैन भन्ने कुरा कार्यक्रम आयोजकले विचार गर्नुपर्ने हुन्छ’ –निशा भन्छिन् ।

संंगीतकार राजु सिंंह संंगीत क्षेत्रमा प्रवेश गर्नका लागि मापदण्डको व्यवस्था गर्न सके राम्रा गीत संगीत सिर्जना हुनेमा जोड दिन्छन्। ‘अहिले बिनामेहनत र साधना पनि संंंगीत क्षेत्रमा प्रवेश गर्नेको लहर चलिरहेको छ । गीत संंगीतको फिजिकल बजार छैन, पुराना संगीतकर्मीलाई डिजिटल प्लेटफर्मबारे त्यति जानकारी छैन । डिजिटल कम्पनीहरूले नयाँ पुराना दुवैखाले संगीतकर्मीलाई समेटेर लैजान सके पुराना स्रष्टाले पनि डिजिटल बजारको लाभ लिन सक्ने थिए । नेपाली गीत संंगीत संसारभर रहेका नेपालीमाझ पु¥याउनका लागि पनि लोक, पप, आधुनिक विधालाई चिरेर सबैलाई मर्ज गर्दै अन्र्तराष्ट्रिय जगतमा पनि मौलीक नेपाली संंगीत लानु अबको लक्ष्य हुनुपर्छ । विभिन्न समयमा संगीतकर्मीको प्रयास र लगनले यो स्थानसम्म आइपुगेको संगीत जगतलाई अभिभावकत्वको खाँचो छ र त्यो जरुरत सरकारी तवरबाट पुरा गर्ने गराउने लक्ष्य राख्नुपर्छ ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी पछिल्लो समय गीत संंगीत क्षेत्रमा बढिरहेको विकृतिलाई रोक्दै संगीत क्षेत्रको प्रगतिमा सबै संगीतकर्मी मिलेर लाग्नु नै अबको लक्ष्य हुनुपर्ने बताउँछन् । प्रतलिपि अधिकार ऐनमा बौद्धिक सम्पत्तिमा रचयिताको प्रतिलिपि अधिकार हुने र त्यसको आर्थिक अधिकार प्रोड्युसरको हुने भनिएको छ तर पारिश्रमिक लिएर गाउने गायकगायिकाले गुटबन्दी गरेर आफैं प्रतिलिपि अधिकारको धनी बन्न खोज्नाले असली प्रतिलिपि धनीको पहिचानमा समस्या देखिएको छ । केही गायकगायिका र विन्ध्यवासिनी म्युजिक कम्पनीको टसलपछि संगीत उत्पादक कम्पनीहरू पनि गीतसंगीतमा लगानी गर्न डराएका छन् । संगीत कम्पनी आफैंले लगानी गरेर गीत निकालिदिने अनि १२÷१३ वर्षपछि मुद्धा मामला पनि खेप्नुपर्ने अवस्था देखेपछि किन लगानी गर्ने भन्ने भएको छ । म्युजिक कम्नीले लगानी गरेका आफ्ना सयौं गीत नचल्दा चुप रहने गायकगायिका एउटा गीत चलेपछि कम्पनीविरुद्ध मुद्दा ममला गर्ने अनि तिनै लगानीकर्तालाई चोर भन्ने गर्छन् । यो अवस्थालाई सहज बनाउन सक्ने गायक गायिकाको संघ, संंगीतका तथा गीतकारका संघ संस्थाले भने सहजीकरणसम्म गर्न सकेका छैनन् । दोस्रो कुरा, पब्लिक फिगरमा गीत संंगीतको ज्ञानको कमीले यिनै पब्लिक फिगर तथा सेलिब्रेटीको मात्र गीत रहेछ भन्ने सूचना जनमानसमा पुग्ने कारण वास्तविक स्रष्टाको अधिकार हनन भएको छ । तेस्रो कुरा, पछिल्लो समय विभिन्न सांगीतिक कार्यक्रम तथा रियालिटी सोमा अनुमति बिना सित्तैमा गाउँदा त्यसका असली स्रष्टा भने मारमा परेका छन् । ‘संगीत क्षेत्रमा रहेका यस्ता खालको विकृतिलाई हटाउनु अबको लक्ष्य हुनुपर्छ’ –उनी भन्छन् ।

गायक तथा संगीतकार शम्भूजित बाँस्कोटा नेपाली गीत संगीतको संरक्षण तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउनु अबको लक्ष्य रहेको बताउँछन् । ‘संगीत जगतका राम्रा कुरालाई परख गरेर र विकृतिलाई परास्त गर्दै लानुपर्छ । चुनौतीका साथै हामीमा सम्भावना र राम्रा कुरा पनि धेरै छन् । हाम्रो आफ्नोपन मौलिकता संंस्कृति राम्रो छ । त्यही कारण पनि बाहिरी देशको फिल्मको गीतमा समेत नेपाली टोपी लगाएर अभिनय गरेको देख्न सकिन्छ । संगीतमा नयाँ तथा पुराना स्रष्टाको संंरक्षकत्वमा कमी देखिएकाले त्यसमा सरकारले सहयोग गर्नुपर्ने देखिन्छ । नेपाली संंगीतले बजार विस्तार गर्दै गर्दा नेपाली मौलिक गीत, लोक दोहोरी गीत, नेपाली चलचित्र गीत भनेको के हो भनेर अन्तर्राष्ट्रिय जगतमा थप चिनाउनका लागि योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ । पुराना स्रष्टाले संगीतमा लाइब्रेरी खडा गरिसक्नु भएको छ । अब नयाँ पुस्ताले त्यसबाट सिकेर अझै राम्रो गर्दै जानुपर्ने बेला आएको छ ।’

त्यस्तै, गीतकार बद्री पाण्डे गीत संंगीत क्षेत्रमा सौखिन संगीतकर्मीको प्रवेशका कारण गीत संगीतको स्तरमा कमी आएको बताउँछन् । व्यावसायिक रूपमा भन्दा पनि नाम र सम्मानका लागि भए पनि लगानी गरौं भन्ने सोखका कारण गायक, गायिका गीतकार, संगीतकारहरूले लगानी गरेका कारण केही मात्रामा मात्र व्यावसायिक गीत संगीतको सिर्जना भएका छन् । केही मात्रामा राम्रा गीत संगीत बनेका पनि छन् । यति धेरै गीत संगीत बजारमा आए तापनि नारायण गोपाल, गोपाल योञ्जनको बेलामा जस्तो स्तरीय गीत संगीत भने निर्माण हुन मुस्किल भइरहेको छ । अधिकांश लगानीकर्तामा नाम, मान सम्मान कमाउने सोख छ । तर, त्योअनुसारको मेहनत भने देखिँदैन । प्रतिलिपि अधिकार ऐनअन्र्तगत अन्य भौतिक सम्पत्तिजस्तै बौद्धिक सम्पत्तिको पनि संंरक्षण गर्ने र त्यो वापत रोयल्टी प्राप्त गर्ने नियम छन् । तर, ती सबै कागजमा मात्र सीमित भएजस्तो देखिन्छ । सर्जकहरूमा पनि आफ्नो सम्पत्ती संंरक्षण गर्ने र आय आर्जन गर्नेभन्दा पनि विभिन्न प्लेटफर्ममा आफ्नो गीत बजेको सुनेर रमाउने जमात छ । अब विभिन्न कार्यक्रम, सार्वजनिक सवारी साधन, होटल रेस्टुरेन्ट आदिमा गीत संंगीत प्रयोग गरेवापत रोयल्टीको दायरामा ल्याउनु अबको लक्ष्य हुनुपर्छ ।

गायिका देविका बन्दना विभिन्न समयमा स्रोताको रुचिअनुसारका गीत संगीत चल्ने गरे पनि नेपाली गीत संंगीतको पहिचान भनेको लोक गीत भएकाले यसलाई जगेर्ना गर्नुपर्ने बताउँछिन् । ‘गीत संंगीत चल्ने भनेको स्रोताकै रुचिअनुसार हो । जस्तै पछिल्लो समय मेलोडी गीत सुन्ने माहोल फेरि फर्किएको छ । हाम्रो सम्पत्ति र पहिचान भनेको नेपाली लोक गीत हो। हाम्रा गीतमा कहीँ न कहीँ लोक लय जोडिई नै हाल्छ । यस कारण अबको लक्ष्य भनेको कसरी लोक गीत संगीतलाई अझ पहिचानको रूपमा अगाडि लाने भन्ने हुनुपर्छ । अहिले लोक गीतस्वरूप चेन्ज गरेर निकाल्ने गरेको पनि पाइन्छ । तर, यस्ता गीतलाई चेन्ज गरेर गाउनु राम्रो भने होइन । जसले यस्ता गीतको मौलिकतामा परिवर्तन ल्याउँछ । अबको लक्ष्य मौलिक गीत संंगीतलाई पहिचान र जगेर्ना गर्ने तथा गीत संंगीतको स्तरोन्नतिका लागि हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्