पुुष्कर दाइलाई खोजिरहेको छ दोलखा र यहाँको पत्रकारिताले



मृत्यु अकाट्य छ, मृत्युको विरोधी हैन म । तर मृत्यु नियमको खरो आलोचक र दह्रो विरोधी हुँ म ! मृत्युको किन हद छैन, सीमा र परिधि किन छैन ? यमराजलाई मन लाग्यो जो–कोहीलाई टपक्क टिपिहाल्नुपर्ने । यमराजलाई मन लाग्यो चित्रगुप्तले मृत्यु प्रमाणपत्रमा जहाँ, जुनसुकै बेला दस्तखत धस्काई हाल्नुपर्ने !

पुष्कर दाइ (पुष्करलाल श्रेष्ठ), कामना प्रकाशन समूहका संस्थापक । नेपालको व्यावसायिक मिडियाका भीष्म पितामह । के उहाँको मृत्यु स्वाभाविक थियो ? यमराजले उहाँलाई अन्याय गरेको हैन । चित्रगुप्तको दस्तखत आलोचित हुनुपर्दैन ?

मुलुकमा प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्र नै संस्थागत हुने प्रक्रियामा अगाडि बढिरहँदा अझै पनि मिडियाको व्यवसायीकरण भने अगाडि बढ्न सकेको छैन । कल्पना गरौं त आजभन्दा झन्डै ४० वर्षअघि २०४१ सालमै कामना प्रकाशन समूह बनाएर मिडियालाई व्यवसायीकरण गर्ने पुष्कर दाइको साहस र आँट कति उदाहरणीय छ । समयभन्दा अगाडि नै एउटा सकारात्मक अभियानमा सक्रिय पुष्कर दाइलाई विनाकारण, विनाउद्देश्य टपक्क टिपेर लाने यमराजको आलोचना किन नगर्ने, चित्रगुप्तको छानबिन र दस्तखतको आलोचना किन नगर्ने ?

पुष्कर दाइको आवश्यकता परिवारलाई थियो, कामना प्रकाशन समूहलाई थियो र त्यो भन्दा महत्वपूर्ण कुरा नेपालको मिडिया क्षेत्रलाई व्यवसायीकरण गर्न उहाँको आवश्यकता थियो । उहाँ देश–विदेश जहाँ पुग्नुभयो मिडियाकै चिन्तन गर्नुभयो, मिडियाकै चिन्ता गर्नुभयो, मिडियामै चासो दिनुभयो ।

पुष्कर दाइको सम्झना नेपालका हरेक मिडिया हाउसहरुले गरिरहेका छन् । र मेरो सम्झनामा, मेरो पत्रकारिता यात्रामा उहाँको सम्झना अमिट बनेर निरन्तर मेरो मार्गनिर्देशक बनिरहेको छ । म मेरो समाचारका हरेक शब्दहरुमा पुष्कर दाइलाई सम्झिरहेको हुन्छु । हरेक लेखका वाक्य र परिच्छेदहरुमा पुष्कर दाइलाई सम्झिरहेको हुन्छु । पत्रकार आचारसंहिता, व्यावसायिक धर्म र निडरतापूर्वकको निरन्तरतामा पुष्कर दाइलाई पछ्याइरहेको हुन्छु ।

मलाई याद छ, २०४४ सालको चैत्र महिना । एसएलसी परीक्षा सकेर फुर्सदिलो समय सदुपयोग गर्ने क्रममा फिल्मी म्यागेजिन ‘कामना’ पढ्ने अवसर पाएको थिएँ । कामनाको नियमित स्तम्भ ‘जसको उत्तर, उसकै हस्ताक्षर’ को लागि नायिका नविना श्रेष्ठलाई मैले सोधेको प्रश्न र २०४४ साल चैत्र महिनामा प्रकाशित वर्ष ४, अङ्क ४ को कामना फिल्मी पत्रिकामा उहाँको जवाफ नै मेरो पत्रकारिता यात्राको प्रस्थानविन्दु बनिदियो ।

पुष्कर दाइको कामना र नविना श्रेष्ठको जवाफले मलाई पत्रकारिताको यात्रामा घचेटिरह्यो । त्यसपछि गोरखापत्र दैनिक, जनमञ्च साप्ताहिकलगायतका केही पत्रिकाहरुमा सम्पादकलाई चिठी लेख्दै २०४६÷४७ सालतिर प्रकाशन भएको त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाको मुक्ति मासिकबाट मैले पत्रकारिताको शुरुवात गरेँ ।

मेरो पत्रकारिताको यात्रामा पुष्कर दाइको कामना, त्रिचन्द्र श्रेष्ठको मुक्ति मासिक र गिरिराजमणि पोखरेल तथा कपिल काफ्लेको अनौपचारिक प्रशिक्षण अन्तहीन अनुगृहित अवसर ठहरिएको छ ।

पत्रकारिताको शुरुवाती व्यावसायिक मेसोमा अचम्मको संयोग देखियो । मैले पुष्कर दाइकै सम्पादनमा प्रकाशित आजको समाचारपत्र दैनिक (हालको नेपाल समाचारपत्र दैनिक) बाट व्यावसायिक रुपमै पत्रकारिता शुरु गरेँ २०५२ सालको माघ महिनाबाट । नेपाल समाचारपत्रमा जोडिएपछि मैले पुष्कर दाइबाट अरु धेरै कुराहरु सिक्ने मौका पाएको छु । सालिनता, लेखन सीप, अनुशासन, निडरपन, तथ्य खोजी, सत्य संरक्षण धेरै कुरा पाएको छु ।

काठमाडौँको घरानिया परिवारको छोरा पुष्कर दाइले एउटा पत्रिकामा खेलकुद स्तम्भ लेख्दालेख्दै मिडियालाई व्यावसायिक रुपमा सञ्चालन गर्ने सोचमात्र गरेनन्, कामना प्रकाशन समूह बनाएर र देशकै पहिलो व्यावसायिक पत्रिका कामनाको प्रकाशन आरम्भ गरे । महाभारतको लडाइँमा भीष्म पितामहको सबैभन्दा धेरै चर्चा हुने गर्छ । भलै महाभारतमा कृष्ण, अर्जुन, युधिष्ठिर, दुर्योधन, कुन्ती आदिको भूमिकासमेत अहम् थियो ।

भीष्म पितामहले महाभारतमा जुन भूमिका निर्वाह गरे त्यसले सत्यलाई स्थापित गर्न र युद्धलाई मर्यादित बनाउन सक्यो । नेपालको पत्रकारिताको क्षेत्रमा पनि पुष्करलाल श्रेष्ठले जुन भूमिका खेले त्यसले मिडियालाई व्यावसायिक बनाउन, निष्पक्ष बनाउन र पत्रकारहरुलाई यो पेसामा निरन्तर लाग्न ठूलो प्रेरणा मिलेको छ । त्यसैले पुष्करलाल श्रेष्ठ नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिताको भीष्म पितामह बन्न सकेका छन् ।

पुष्करलाल श्रेष्ठले मिडियालाई व्यावसायिक रुपमा शुरुमात्र गरेनन्, मिडिया व्यवसायको सफलताको लागि आवश्यक पर्ने सूत्रहरु निष्पक्षता, निडरता र निरन्तरतालाई अवलम्बनसमेत गर्न सके । नेपालबाट प्रकाशन÷प्रसारण हुने हरेक मिडियालाई कुनै न कुनै राजनीतिक वादको आरोप लाग्ने गरेको छ ।

तर कामना प्रकाशन समूह र त्यसको प्रकाशन नेपाल समाचारपत्र दैनिक करिब–करिब वादको आरोपबाट मुक्त रहेको देखिन्छ । राजनीतिक समाचारलाई निष्पक्ष बनाउने, राजनीतिक या कुनै लाभदायी विषयलाई नभई खोज, अनुसन्धान र सकारात्मकतालाई मिसन बनाउने पुष्करलाल श्रेष्ठको अभियानकै कारण कामना प्रकाशन समूह र नेपाल समाचारपत्र दैनिक निष्पक्ष बन्न सकेको हो ।

अहिले केही मिडियाहरुले मिसन पत्रकारिता गरेको देखिन्छ तर त्यो मिसन मुलुक परिवर्तनको लागि, मुलुकको विकासको लागि र समग्रताको स्थायित्वको लागि नभई आफ्नो स्वार्थको लागि मात्र हुने गरेको छ । यस्तो मिसनले मिडिया उद्योगको प्रवद्र्धनमा हैन मिडिया उद्योगको ह्रासमा मात्र सहयोग पुग्न सक्छ ।

त्यसैले क्षणिक सफलता र वाहवाहीमा रमाउने व्यक्तिगत मिसनधारी मिडियाहरुले पुष्करलाल श्रेष्ठको मिडियाको व्यावसायिक शुरुवात र मिडिया व्यवसायलाई स्थापित गर्ने सूत्रहरुलाई अवलम्बन गर्नु जरुरी छ । पुष्करलाल श्रेष्ठको पत्रकारिता र मिडिया व्यवसाय सफल रह्यो र निरन्तर रह्यो । न चर्को प्रशंसा, न चर्को विरोध ।

मिडियाको व्यवसायीकरण मात्र हैन फिल्म उद्योगलाई व्यावसायिक बनाउन र दर्शकसम्म पुलको काम गर्नसमेत कामना प्रकाशन समूह र कामना फिल्मी म्यागेजिनको भूमिका उल्लेखनीय रहेको छ । मुस्किलले वर्षमा एक–दुईवटा फिल्म बन्ने त्यो समयमा पनि फिल्मी म्यागेजनबाट मिडियाको व्यवसायीकरण गर्ने पुष्करलाल श्रेष्ठको साहसले मिडिया व्यवसायसँगै नेपाली फिल्मको व्यवसायलाई समेत स्थापित गर्न सकेको देखिन्छ ।

पुष्कर दाइसँगका सम्झनाका पलहरु शब्दमा कोरिरहँदा एउटा प्रसंग भने सधैँ अधुरो लाग्छ । पुष्कर दाइलाई मैले दोलखा ल्याउन चाहेको थिएँ । उहाँ पनि दोलखा र विशेष गरी स्वदेशी लगानीमा निर्माण भैरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्थल लामाबगरसम्म पुग्न चाहनुहुन्थ्यो । तर त्यो अवसर कहिल्यै जुरेन ।

पुष्कर दाइलाई दोलखा ल्याएर मिडियाको व्यवसायीकरण, निष्पक्षता र निरन्तरताको विषयमा सानो बहस गर्ने मेरो अधुरो चाहनाले हरेक पल चिमोटिरहेको हुन्छ । अहिले पनि पुुष्कर दाइलाई खोजिरहेको छ दोलखाले, लामाबगरले, दोलखाको पत्रकारिताले । पुष्कर दाइको प्रतीक्षा अहिले पनि छ, अधुरो प्रतीक्षा !

प्रतिक्रिया दिनुहोस्