बाराका उखु किसानलाई दालभातको चिन्ता

0
Shares

बारा । 

कलैया उपमहानगरपालिका–१६ श्रीपुरका ६५ वर्षीय किसान वासुदेव राम यति बेला परिवारको हातमुख कसरी जोड्ने होला भन्ने चिन्ताले पिरोलिन थाल्नुभएको छ । अर्काको जग्गाभाडामा लिएर लगाएको उखुमा रोग लागेर सुकेपछि अब उहाँलाई वर्षभरि के खाएर बाँच्ने होला भन्ने चिन्ताले सताउन थालेको हो ।

‘उखु बेचौंला र त्यही पैसा खर्चेर यो वर्ष नाति÷नातिनाको बिहेवारी पनि गरौंला भन्ने सोचेको थिएँ’, बाराको रिलायन्स सुगर मिल्सको गेटमा भेटिएका रामले भन्नुभयो– ‘तर अब अरू काम त कता हो कता परिवारको हातमुख कसरी जोड्ने हो भन्ने चिन्ताले पो सताउन थालेको छ ।’ खेती गरेर १६ जनाको परिवार पाल्दै आएका रामले कलैयाका जग्गाधनी सत्यनारायण अग्रवालसँग वार्षिक प्रतिकठ्ठा २ मन धान दिने दिने सर्तमा १ बिघा जमिन भाडामा लिएर यो वर्ष सीओएस ०२३८ जातको उखु खेती गर्नुभएको थियो । ‘एउटा लाँक्रो पनि बेच्न पाइएन, सबै सुकेर नष्ट भएको छ’ –उहाँले भन्नुभयो ।

श्रीपुरका रामजस्तै बाराका ४ हजार किसान यति बेला समस्याको एउटै भुमरीमा छन् । स्थानीय रिलायन्स सुगर एन्ड केमिकल कारखानाले दिएको सीओएस ०२३८ जातको बिउ खरिद गरेर रोपेको उखु काट्ने बेला नहुँदै सुकेर खेतमै मरेपछि किसानहरू मर्कामा परेका हुन् ।

रोग लागेर यो वर्ष जिल्लामा करिब १० हजार हेक्टर क्षेत्रको उखुमा क्षति पुगेको बताइएको छ ।‘कारखानाका प्रविधिकले अन्य जातिभन्दा बढी उब्जनी हुन्छ भनेर खेती गर्न लगाए’, जितपुरसिमरा उपमहानगरपालिका–१८ का राजेन्द्रप्रसाद यादवले भन्नुभयो– ‘अहिले काट्ने बेला नहुँदै सुकेर मरेपछि किसानको बिल्लीबाठ भएको छ ।’

उहाँले पनि नगदेबालीका रूपमा रहेको उखुमा क्षति पुगेपछि गाउँमा भोकमरी लाग्ने बताउनुभयो । ‘किसान क्षतिपूर्तिको आशामा छन्, तर क्षतिपूर्ति दिने बारेमा कसैले पनि चासो देखाएका छैनन्’ –यादवले भन्नुभयो । यादवले किसानलाई कारखाना र सरकारले पनि क्षतिपूर्ति र राहत दिनुपर्ने बताउनुभयो ।

उखु खेती गर्ने किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कारखाना र जिल्ला प्रशासन कार्यालय बाराले चासो नदेखाएको उखु किसान संघर्ष समितिका संयोजक इन्द्रदेव कुशवाहाले बताउनुभयो । ‘खान नपाएर किसान मर्ने अवस्था आयो, तर कसैले पनि वास्ता गरेका छैनन्’, उहाँले भन्नुभयो– ‘यस्तै हो भने अब फेरि किसान आन्दोलनमा उत्रिनेछन ।’ कारखानाले सीओएस ०२३८ जातको उखु लगाउन बाध्य पारेको र त्यसको क्षतिपूर्ति पनि कारखानाले नै दिनुपर्ने संयोजक कुशवाहाको भनाइ छ ।

खेतमा उखु सुक्न थालेपछि किसानले गत साउनबाट नै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएर कारखानासँग क्षतिपूर्तिको माग गर्दै आएका थिए । तर, लामो समयसम्म बेवास्ता भएपछि उनीहरूले गत मंसिर २४ गतेबाट २ दिनसम्म कलैया–पिलुवा सडक अवरुद्ध पनि पारेका थिए । आन्दोलनपछि जिल्ला प्रशासन कार्यालयमा क्षतिपूर्तिको बारे भएको त्रिपक्षीय छलफलमा पनि कुनै सहमति हुन नसकेको र त्यसपछि कुनै संवाद हुन सकेको छैन । कारखाना पक्षले किसानलाई क्षतिपूर्ति दिन नसक्ने बताएपछि छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो ।

‘क्षतिपूर्ति दिन कारखाना तयार भएन, हामीसँग पनि अब आन्दोलनको विकल्प छैन भनेर छलफलबाट बाहिरिएका हौं’ –संघर्ष समितिका संयोजक कुशवाहले जानकारी दिनुभयो ।स्थानीय प्रजातिको भन्दा बढी चिनी उत्पादन हुने देखिएपछि कारखानाले २०७५ सालबाट यो नयाँ प्रजातिको उखुको बिउ भारतबाट मगाएर किसानलाई सिफारिस गरेको थियो । अन्य प्रजातिबाट भन्दा प्रतिक्विन्टल झन्डै ६ केजी बढी चिनी उत्पादन हुने बताइएको थियो । शुरूको २ वर्ष उत्पादन राम्रै भए पनि गत वर्षबाट उखुमा समस्या देखिएको किसानहरूले बताएका छन् ।

कारखानाका बारा जिल्ला इन्चार्ज रामकुमार चौधरीले किसानकै त्रुटिले उखुमा रोग लागेकाले क्षतिपूर्ति दिन नसकिने बताउनुभएको छ । ‘प्राविधिकले दिएको सल्लाहविपरीत खेती गरेकाले पनि रोग लागेको हो’, उहाँले भन्नुभयो– ‘आवश्यक कीटनाशक, मलखाद केही प्रयोग नगरी मनलाग्दी गरेका छन्, यस्तो अवस्थामा कारखानाले क्षतिपूर्ति दिन सक्दैन ।


यो वर्ष सीओएस ०२३८ जातको उखुमा रोग लागेर ४ हजारभन्दा बढी किसानको उखु खेतीमा क्षति भएको इन्चार्ज चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिको यकिन विवरण प्राप्त भइनसकेको भए पनि बारा र पर्सामा यो वर्ष ४ हजार ८ सय हेक्टर क्षेत्रमा लगाइएको उखुमध्ये करिब २५÷३० प्रतिशतसम्म रेडरड रोगले नष्ट भएको छ । चौधरीले यो रोगको उपचार सम्भव नभएकाले आगामी सिजनका लागि नयाँ जातको उखुको बिउ अनुदानमा सहयोग गर्ने जानकारी दिनुभयो ।