६५ करोड ठगी गर्ने शाहविरुद्ध अमेरिकी नागरिकद्वारा नेपालमा उजुरी


काठमाडौं  ।

अमेरिकाबाट अवैध रूपमा रकम नेपाल भित्र्याएको अभियोगमा पक्राउ परेका पृथ्वीबहादुर शाहविरुद्ध अमेरिकी नागरिकले नेपालमा उजुरी गरेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका शाहले अमेरिकामा रहँदा विभिन्न व्यक्ति तथा संस्थालाई ठगी गरी रकम आफ्नो खातामा जम्मा गरी उक्त रकम नेपाल भित्र्याएको पुष्टि भएको ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदीले जानकारी दिनुभयो ।

अमेरिकामा अवैध रूपमा संकलन गरिएको ६५ करोड रुपियाँ नेपाल ल्याउन तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई प्रयोग गरेका शाहले उक्त रकम नेपाल ल्याउन सफल भएका थिए । उक्त रकमको विषयलाई लिएर तत्कालीन अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच लामो समयसम्म टकराव चलेको थियो ।

नेपालका विभिन्न बैंकमा जम्मा भएको उक्त रकममध्ये शाहले ३० करोडभन्दा बढी रकम निकाल्न सफल भएका थिए । मुलुकमा सरकार परिवर्तन हुनासाथ सीआईवीले शाहसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा शाहका मतियार विजयविक्रम शाह, चक्रबहादुर खत्री, अनुप खड्का, रुक्माङ्गद काफ्ले र रंगबहादुर साउद रहेका छन् ।

सीआईबीका प्रमुख सुवेदीका अनुसार उनीहरूविरुद्ध संगठित अपराध, कीर्ते जालसाजीलगायतका विभिन्न मुद्दामा अनुसन्धान भइरहेको र ठगीको रकम ६५ करोडभन्दा बढी रहेको अनुमान गरेर अनुसन्धान गरिरहेका छौं । नेपाल प्रहरीले शाहसहित उनका मतियारलाई पक्राउ गरेपछि ३ जना अमेरिकी नागरिकले आफूलाई शाहको समूहले ठगी गरेको भन्दै उजुरी पठाएको एआईजी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

पुस २२ गते पक्राउ गरेका शाहसहित ६ जनाले विभिन्न नामका कम्पनी खडा गरी अमेरिकन नागरिकको बंैकमा रहेको पैसा आफ्नो कम्पनीको खातामा जम्मा गरेर उक्त रकम नेपाल पठाएको अनुसन्धानको क्रममा देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । शाहले ठगी गरेर अहिलेसम्म ४६ लाख अमेरिकी डलर, ३ करोड नेपाली र १२ हजार पाउन्ड स्टर्लिङ नेपालमा भित्र्याएको देखिएको र उक्त रकम अझै बढ्न सक्ने अनुसन्धानको क्रममा देखिएको ब्युरोले जनाएको छ ।

अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम आउन थालेपछि वित्तीय शुद्धीकरणको अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्कले नेपालस्थित फाइनान्सियल इन्भेस्टिगेसन युनिटलाई पत्राचार गरेपछि उक्त रहस्य बिस्तारै बाहिर आउन थालेको छ ।

राजनीतिक शक्तिको दुरूपयोग गरेर बच्दै आएका शाह सरकार परिवर्तन हुनासाथ पक्राउ परेका छन् । लामो समय अमेरिकामा बसेका शाहसहितको टोलीले ५० जनाभन्दा बढी अमेरिकी नागरिकलाई ठगी गरेको सीआईबीको अनुसन्धानले देखाएको छ ।

शाहले रकम ल्याउन फर्जी कागजात प्रयोग गरेर रकम नेपाल ल्याएको देखिएको छ । शाहको समूहले ठगी गरेको भए उजुरी गर्न नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी नागरिकलाई आग्रह गरिएको ब्युरोले जनाएको छ ।‘अवैध रूपमा नेपाल भित्रिएको रकम निकाल्नसमेत उनीहरूले नक्कली कागजात बनाएको देखिन्छ’, ब्युरोका एआईजी सुवेदीले भन्नुभयो– ‘अमेरिकाबाट ठगीको रकम सिद्धार्थ बैंक, ग्लोबल आईएमई, सेन्चुरी कमर्सियल, सनराइज, कुमारी, एनसीसी र एनएमबीलगायत ११ वटा बैंकबाट रकम निकालिएको छ ।’

उक्त रकम शाहको स्वामित्वमा रहेका कम्पनी हन्टिङ रिजर्व, १४ पिक, कैलाश एक्जिम, वल्र्ड फस्ट जब प्लेसमेन्ट, माउन्टेन अपार्टमेन्ट र वल्र्ड फस्ट होलिडेलगायतका खातामा जम्मा भएको छ । कतिपय कम्पनी कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नै नभएको र दर्ता भएका पनि उद्देश्यअनुसार सञ्चालनमा नरहेको ब्युरोको अनुसन्धानले देखाएको छ । अवैध भारतीय रुपियाँको कारोबार गरेको आरोपमा सीआईबीले शाहलाई २०७२ सालमा पक्राउ गरेको थियो । त्यस बेला राजनीतिक पहुँचका आधारमा छुटेका थिए ।