विश्वेश्वर प्रसाद कोइराला भारत-नेपाल फाउन्डेसन (बीपीकेएफ) : एक झलक

0
Shares

काठमाडौं । विश्वेश्वर प्रसाद कोइराला भारत– नेपाल फाउन्डेसन (बीपीकेएफ) ले गत वर्ष आफ्नो स्थापनाको तीन दशक पूरा गरेको छ । सन् १९९१ मा स्थापना भएको यस फाउन्डेसनको औपचारिक उद्घाटन सन् १९९२ अक्टोबर २१ मा नेपालका तत्कालीन प्रधानमन्त्री स्व. श्री गिरिजाप्रसाद कोइरालाको उपस्थितिमा भारतका तत्कालीन प्रधानमन्त्री स्व. श्री नरसिंह रावले गर्नुभएको थियो ।

बीपीकेएफले स्थापना कालदेखि नै भारत र नेपालबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई आधुनिक समयमा थप प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । दुई देशबीच आपसी समझदारी र जनस्तरमा सहकार्य अभिवृद्धि गर्ने उद्देश्य राखेको यो फाउन्डेसनले दुई देशबीच विविध क्षेत्रका ज्ञान र व्यावसायिक सीपको आदानप्रदान तथा विज्ञहरूको भ्रमण आदानप्रदानलाई सहयोग गर्दै आएको छ ।

फाउन्डेसनले शैक्षिक आदानप्रदान, शोधकार्य, महत्वपूर्ण प्रकाशनहरूको अनुवाद र प्रकाशन, व्यावसायिक तालिम प्रदान, सांस्कृतिक आदानप्रदान र द्विपक्षीय हितका विषयमा गोष्ठी तथा अन्तरक्रियाहरूको आयोजना गर्ने, समसामयिक विषयमा प्रवचन दिन भारतीय विद्वानहरूलाई नेपालमा निमन्त्रणा गर्नेजस्ता कार्यलाई प्राथमिकता दिएको छ ।

‘माटो जोगाऔं’ अभियान (सेप्टेम्बर २०२२)

बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले सन् २०२२ को सेप्टेम्बरमा ‘माटो जोगाऔं’ अभियानलाई सहयोग गरेको थियो । उक्त अवसरमा आयोजित एक समारोहमा भारतका सद्गुरुले स्थापना गर्नुभएको ईशा संस्कृतिले शास्त्रीय नृत्य प्रस्तुत गरेको थियो ।

देहरादुन, भारतको गुराँस संस्कृतिक कला केन्द्रद्वारा नृत्य प्रस्तुत गरिँदै (अप्रिल २०१३)

देहरादुन, भारतको गुराँस सांस्कृतिक कला केन्द्रका २३ जना गोर्खालीको समूहले सन् २०१३ को अप्रिलमा नेपालका विभिन्न शहरमा गोर्खाली लोक नृत्य तथा संगीत प्रस्तुत गरेको थियो । ‘हाम्रो संस्कृति, हाम्रो गौरव’ नाराका साथ बुटवल, पोखरा, काठमाडौं र पाटनमा सांस्कृतिक साँझको आयोजना गरिएको थियो ।

‘आर्टिस्ट रेसिडेन्सी क्याम्प’ (अप्रिल २०१४)

सन् २०१४ को अप्रिलमा काठमाडौंस्थित भारतीय दूतावासको इन्डिया हाउस ‘आर्टिस्ट रेसिडेन्सी क्याम्प’ को आयोजना गरिएको थियो । भारतका ६ जना ख्यातिप्राप्त कलाकारहरू लक्ष्मण ऐले, नागेश गौड, आनन्द पान्चाल, असितकुमार पटनायक, सुदिप रोय, रमेश गोरजाला र मेघा अग्रवालको सहभागिता रहेको उक्त क्याम्पमा सबैले दुई–दुईवटा पेन्टिङ तयार पारेका थिए । ती पेन्टिङहरू अप्रिल २८ देखि मे १ तारिखसम्म पाटन संग्रहालयमा प्रदर्शनीमा राखिएको थियो ।

नवलपरासीका किसानहरूको भारत भ्रमण

नवलपरासीको मेनुका कृषि तथा पशुपंक्षी फार्मका १० नेपाली कृषकहरूले सन् २०१६ मा भारतमा अवलोकन भ्रमण गरेका थिए । उनीहरूले कर्नालको नेसनल डेरी रिसर्च इन्स्टिच्युट र परम्परागत सहकारी संस्थाहरू, हरिद्वारको गौशाला, आनन्दको अमुल डेरी, एनडीडीबी र आईआरएमए र पटनाको सुधा डेरीको अवलोकन गरेका थिए ।

‘कर्म योग’ नेपालीमा अनुवाद (फेब्रुअरी २०२०)

बीपीकेएफको सहयोगमा सन् २०२० को फेब्रुअरीमा स्वामी विवेकानन्दका प्रवचनहरू समेटिएको पुस्तक ‘कर्म योग’ को नेपालीमा अनुवाद गरिएको थियो । उक्त पुस्तक सन् १८९६ मा प्रकाशित भएको थियो ।

विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलता तालिम (मार्च २०१६)

बीपीकेएफले काठमाडौंको किंग्स कलेजको सहयोगमा धरान कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूलाई सामाजिक उद्यमशीलताको तालिम दिएको थियो । धरानमा आयोजित उक्त तालिममा झण्डै ६० विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

व्यावसायिक गोष्ठी ः भारत–नेपाल व्यावसायिक सम्भावना (अगस्ट २०१९)

बीपीकेएफले आयोजना गरेको ‘नेपाल–भारत व्यापार र व्यवसायका सम्भावना’ विषयक गोष्ठीमा नेपालका ठूला व्यावसायिक घरानाका साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, गोल्छा हाउस, चौधरी समूह, दुगड समूहको सक्रिय सहभागिता थियो । उक्त गोष्ठीमा नेपाल–भारत व्यापार व्यवसायका मुख्य मुद्दाहरूमा व्यापक छलफल भएको थियो ।

पण्डित जसराज म्युजिकल कन्सर्ट (मार्च २०१५)

काठमाडौंको सैनिक मुख्यालयस्थित सभाहलमा शास्त्रीय संगीत प्रस्तुत गर्दै पण्डित जसराज ।

विराटनगरमा ‘कल्चरल नगरी’ कार्यक्रम (मे २०१६)

नेपालका विभिन्न स्थान र समुदायका स्थानीय संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजित ‘कल्चरल नगरी’ मा स्थानीय सांस्कृतिक संघसंस्थाहरूले आ–आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा गायन, नृत्य र नाटक प्रदर्शन गर्नुका साथै नेपाली, मैथिली, सन्थाली र राजवंशी भाषामा कविता वाचन गरिएको थियो ।

कत्थकांश ः अ नाइट टू वीस (जुलाई २०१६)

दुई देशबीचको समान सांस्कृतिक सम्पदा झल्काउने गरी भारतीय शास्त्रीय नृत्य कत्थक प्रस्तुत गर्दै नेपाली नर्तक नृत्यांगनाहरू ।

काठमाडौं–वाराणसी सांगीतिक सन्ध्या (जुलाई २०१६)

काठमाडौं र वाराणसीबीचको भगिनी सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले सन् २०१६ को जुलाईमा वाराणसी घरानाका चार भारतीय शास्त्रीय संगीतकारहरूलाई काठमाडौंमा बोलाएर सांगीतिक सन्ध्याको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतका सितारवादक श्रवणी विश्वास, हवाइन गितारवादक सञ्जय वर्मा, तबलावादक रजनीश तिवारी र गायक राम शंकरसँगै नेपाली म्युजिक ब्यान्ड सुरसुधा र नेपाली गायक डा. विष्णु पौडेलका साथै गायक तथा सरोदवादक मोहनसुन्दर श्रेष्ठको प्रस्तुति रहेको थियो ।

रामायण सर्किट आर्ट कार्यशाला (अगस्ट २०१६)

भारतको अयोध्या र नेपालको जनकपुरबीचको भगिनी सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१६ को अगस्टमा आयोजना गरिएको ‘रामायण सर्किट आर्ट कार्यशाला’मा ५ जना भारतीय र ७ जना नेपाली कलाकारहरूको सहभागिता रहेको थियो ।

नेपालमा उत्तर प्रदेश महोत्सव (जनवरी २०१७)

काठमाडौंस्थित भारतीय दूतावास र बीपीकेएफको आयोजनामा फेडरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र एसियन पेन्टस्को सहयोगमा उत्तर प्रदेश महोत्सवको आयोजना गरिएको थियो । उक्त महोत्सवमा उस्ताद बिस्मिल्लाह खानको परिवारले सेहनाईवादन प्रस्तुत गरेको थियो । केही दिनसम्म चलेको उक्त महोत्सवमा टेक्सटायल प्रदर्शनी, सीमापार वार्ता, फूलको होली र कत्थक नृत्य प्रस्तुत गरिएको थियो ।

मेघा आर्ट फेस्टिबल (२०१७)

प्रत्येक तीन वर्षमा आयोजना गरिने मेघा आर्ट फेस्टिबलको तेस्रो संस्करण काठमाडौंमा आयोजना भएको थियो । २६ राष्ट्रका ७० कलाकारहरूको सहभागिता रहेको उक्त महोत्सव बीपीकेएफ, सिद्धार्थ आर्टस फाउन्डेसन र विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा आयोजना गरेका थिए । उक्त महोत्सव १७ दिनसम्म चलेको थियो ।

उस्ताद जाकिर हुसेन कन्सर्ट (नोभेम्बर २०१८)

नेपाल– भारतबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठको अवसरमा काठमाडौंस्थित भारतीय दूतावास परिसरमा भारतका प्रख्यात तबलावादक पद्मभूषण उस्ताद जाकिर हुसेनको कन्सर्ट आयोजना गरियो । उस्ताद हुसेनले १७ वर्षको अन्तरालपछि सन् २०१८ को नोभेम्बरमा नेपालमा कन्सर्ट गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस–म्युजिकल कन्सर्ट (मार्च २०१९)

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर भारतीय महिला संघ काठमाडौंले बीपीकेएफको सहयोगमा भारतीय दूतावास परिसरमा विश्वविख्यात भायोलिनवादक डा. एल सुब्रमन्यम र प्रख्यात गायिका कविता कृष्णामूर्ति सुब्रमन्यमको परोपकार म्युजिक कन्सर्ट आयोजना गरेको थियो ।

पण्डित हरिप्रसाद चौरसिया (अगस्ट २०१९)

भारतको ७३ औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय दूतावासले बीपीकेएफको सहयोगमा सुप्रसिद्ध बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको एकल म्युजिकल कन्सर्टको आयोजना गरेको थियो । कन्सर्ट काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको थियो ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवस (डिसेम्बर २०२२)

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बीपीकेएफले अपाङ्गता संरक्षण नेपाललाई ९ सयभन्दा बढी दृष्टिविहीनले प्रयोग गर्ने सेतो छडी प्रदान गरेको थियो ।

कोभिड–१९ महामारी र कोभिशिल्ड खोपको प्रभावकारिताबारे अन्तरक्रिया (फेब्रुअरी २०२१)

बीपीकेएफले स्वास्थ्य पत्रकार मञ्चसँगको सहकार्यमा कोभिड–१९ महामारी र कोभिशिल्ड खोपको प्रभावकारिताबारे अन्तरक्रियाको आयोजना गरेको थियो ।