जेष्ठ नागरिक तथा अपांगता भएका लाभग्राहीको लागि घरदैलो अभियान

224
Shares

खोटाङ । खोटाङको साकेला गाउँपालिकाले शारीरिक रूपमा अशक्त भई बैंकसम्म पुग्न नसक्ने लाभग्राहीको सहजताका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई बैंकको संयुक्त उआयोजनामा ९० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा (क) वर्गको अपांगता भएका लाभग्राहीहरू लाभान्वित भएका छन् ।

बैक तथा बैंकले सञ्चालन गर्ने शिविरहरूमा उपस्थित भएर खाता खोल्न तथा भत्ता रकम बुझ्न नसक्ने लाभग्राहीको घर–घरमै पुगेर बैंकिङ सेवा प्रवाह गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले जनाउनुभयो ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त अभियान सञ्चालन गरिएको हो । पाँच वडा रहेको गाउँपालिकाले प्रदान गरेको उक्त सेवाबाट हालसम्म विभिन्न टोलका ६० जनाभन्दा बढी लाभग्राहीले सेवा पाईसकेका छन् ।

अशक्त अवस्थाका नागरिकहरूको सेवामा गाउँपालिका प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको भनाई छ । यस्ता अभियानहरू आवश्यक परेको अवस्थामा निरन्तर गरिने अध्यक्ष राईले जनाउनुभयो ।

साकेलामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको संख्या चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्म १३ सय ३ जना पुगेका छन् । गाउँपालिकाले सम्पूर्ण लाभग्राहीहरुको सुविधाका लागि प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरसमेत सञ्चालन गर्दै आएको छ ।

यस्तै, जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले पनि सोही प्रकृतिको सेवा प्रवाह शुरू गरेको छ । नगरपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायतला सेवा सुरु गरेको हो ।