काठमाडौं । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र संसद्को रक्षाका लागि सरकारलाई कांग्रेसले विश्वासको मत दिने बताएका छन् । आज (मंगलबार) बानेश्वरस्थित संसद् भवनमा जारी बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
देउवाले भने, ‘सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वासका साथै मुलुकमा विद्यमान चुनौतिको सामाना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ ।’
‘प्रतिनिधि सभाको हिजो बसेको पहिलो बैठकमा नेकपा (एमाले)का अध्यक्ष तथा वर्तमान सत्ता गठबन्धनका समेत नेताको सम्वोधन माथि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले संविधानको पूर्णकालिन संसदको व्यवस्थाको विपरित फेरि पनि संसद् विघटन गर्न सकिने कुरा जोडदार रुपमा दोर्होयाउनु भएको छ । संविधानको पालना र रक्षाका लागि हिजोका दिनमा वर्तमान प्रधानमन्त्री सहित हामी एक ठाउँमा उभिएका थियौ । सम्माननीय सर्वोच्च अदालतले पनि संविधानको व्यवस्था अनुरुप विघटित संसदको पुर्नस्थापना गरेको थियो । आज फेरि बर्तमान सत्ता गठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्षमा संविधानको रक्षाका लागि खरो रुपमा उभिने चुनौती हाम्रो सामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीको लागि पनि यो परिक्षणको घडी हो,’ देउवाले भने ।
प्रतिक्रिया