सडकका सबै पार्किङ खाली गराइने

0
Shares

काठमाडौं । 

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रका सबै सडकमा भएको पार्किङ खाली गर्ने भएको छ । दरबारमार्गको सःशुल्क पार्किङ हटाएसँगै कामपा प्रहरीले सो तयारी गरेको हो ।

कामपा प्रहरीले हिजो सोमबार रविभवन–कलंकी क्षेत्रको सडक पार्किङ र फुटपाथ खाली गराएको छ । आज मंगलबारबाट कालीमाटीदेखि बल्खु हँुदै कुलेश्वरसम्मको सडक पार्किङ हटाउने भएको छ ।

कमपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले बालाजु, कोटेश्वरलगायत मुख्य सडकक्षेत्रको सडकमा राखिएको पार्किङ खाली गर्ने जानकारी दिनुभयो । यसअघि दरबारमार्ग, बागबजार, बानेश्वर, पुतलीसडकलगायत दर्जनभन्दा बढी क्षेत्रको सडकमा राखिएको पार्किङ हटाइसकेको छ । महानगरले दरबारमर्गको पार्किङ खाली गराएपछि सःशुल्क पार्किङ रहेको न्युरोड क्षेत्रको हटाउने तयारी गरेको छ । त्यसका लागि विकल्पको खोजी भइरहेको महानगरले जनाएको छ ।

कामपाका प्रवक्ता नवीन मानन्धरले राजधानीमा अस्तव्यस्त पार्किङ नियन्त्रण गर्न र सडकमा पार्किङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राजधानीको सडक पार्किङ हटाउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो–‘दरबारमार्गको पार्किङ हटाएका छांै, अब न्युरोडको सबै क्षेत्रको पार्किङ हटाउन लागेका छाै‌ं ।’ कामपाले सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत स्मार्ट पार्किङको नाममा न्युरोड र दरबारमार्गमा पार्किङ व्यवस्थापन गर्ने जिम्मा निजी कम्पनीलाई दिएको थियो ।

‘पार्किङ शुल्कबापत चर्को रकम तिर्नुपरेको भन्दै कामपामा गुनासो आएपछि सडकको पार्किङ हटाउने अभियान शुरू गरेका हौं’ –कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो । दरबारमार्गको स्मार्ट पार्किङ हटाएपछि व्यवसायी र ठेकेदार कम्पनीले कामपालाई पार्किङ व्यवस्थापन गर्न माग गर्दै चर्को दबाब दिइरहेका छन् । ‘जस्तोसुकै दबाब आए पनि दरबारमार्गको सौन्दर्यता कायम राख्न सडकमा पुनः पार्किङ गर्ने विषयमा कुनै निर्णय गर्न सकिँदैन’ –प्रवक्ता मानन्धरले स्पष्ट पार्नुभयो । महानगरले करिब एक साताअघि दरबारमार्गको सडक पार्किङ हटाएको थियो ।
न्युरोडक्षेत्रको पार्किङ खाली गर्ने विषयमा विषयमा आन्तरिक तयारी गरिरहेको छ । न्युरोडमा खिचापोखरी, विशालबजार धर्मपथलगायत क्षेत्रमा स्मार्ट पार्किङ सञ्चालमा छ ।नगर प्रमुख पाण्डेले दरबारमार्ग क्षेत्रका ठूला भवनमा रहेका बेसमेन्टमा पार्किङको व्यवस्था गरेलगत्तै सडक पार्किङ हटाएको जानकारी दिनुभयो । ‘घण्टे पार्किङको नाममा लाखौं रुपियाँ उठाएको गुनासो आउन थालेपछि सार्वजनिक क्षेत्रमा सःशुल्क रूपमा राखिएका सबै पार्किङ हटाउन लागेका हौं’ –पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

कामपाले न्युरोड, पुतलीसडक, बागबजार, बालाजु, बानेश्वर, कोटेश्वर, सोह्रखुट्टे, दरबारमार्ग, माछापोखरी, कलंकी, कालिमाटी, कुलेश्वर, चाबहिल, गौशाला, पुरानो बानेश्वरलगायत व्यापारिक क्षेत्रमा रहेको ठूला भवनको बेसमेन्टमा पार्किङ गर्न मिल्ने गरी सडकको पार्किङ हटाउन शुरू गरेको छ ।
यसअघि कामपाका प्रमुख बालेन्द्र साहले राजधानीको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न सबै निकायलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशनको आधारमा महानगर प्रहरीले राजधानीको ठूला भवनको पार्किङ गर्न मिल्ने गरी वेसमेन्टको तथ्यांक संकलन गरेसँगै सडक पेटीमा राखिएको पार्किङ खाली गराएको हो ।

बाटोमा पार्किङ गरेका सवारीसाधन नियन्त्रण गर्दा महानगरले एक हजार रुपियाँ जरिवाना गर्ने गरेको छ । ‘हामीले दैनिक सडकमा पार्किङ गरिएका सवारी करिब ५ सयको हाराहारीमा कारबाही गर्ने गरेका छौं’–कामपा प्रहरी प्रमुख पाण्डेले भन्नुभयो । सवारी चालकले बेसमेन्टमा सवारी राख्ने बानी बसाल्नकै लागि कारबाही प्रक्रियाअघि बढाएको कामपाको भनाइ छ ।