भारतमा बस दुर्घटना : तीन नेपालीसहित चारको मृत्यु

0
Shares

कैलाली ।

भारतको लखनउ नजिक बस दुर्घटना हुँदा तीन नेपालीसहित चार जनाको मृत्यु भएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आइतबार राति लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने  टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।

अहिले दुर्घटनामा परेकाहरुको आफन्त भारततर्फ जाँदै गरेको प्रजिअ थापाले जानकारी दिए । बसमा सवार अन्य केही घाइते भएका छन् । उक्त बस अर्को बससँग ठोक्किएर दुर्घटना भएको सोही बसमा यात्रारत टीकापुरका भुपेन्द्र साउदले जानकारी दिएका छन् ।

भारतको गुजरात, सुरतलगायतका स्थान जान आउन टीकापुरबाट भारतीय नम्बर प्लेटका बसहरु सञ्चालन हुने गरेका छन् । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लाग्दा दर्जनौँ रेल सेवा तथा हवाई उडान प्रभावित हुँदै आएका छन् । भिजिबिलिटी कम हुँदा सडक तथा हवाई यातायात प्रभावित भएको खबर भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गरेका छन् ।