चिसोले हिमाली क्षेत्रको जनजीवन प्रभावित

0
Shares

ताप्लेजुङ । 

चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रको जनजीवन प्रभावित बन्दै गएको छ । पछिल्लो हप्ता एक्कासि चिसो बढ्दा जनजीवन प्रभावित बनेको हो ।

घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बन्दै गएको छ । असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीको दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन् । समुद्र सतहदेखि ३ हजारभन्दा माथिका हिमाली बस्तीहरूमा चिसोले बढी सताएको छ ।

केही दिनयता निक्कै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताउनुभयो । बाक्लो हुस्सु लाग्ने र तुषारो पर्ने गरेकाले चिसो ह्वात्तै बढेको उहाँको कथन छ । हिउँ पर्न नसक्नु र बाक्लो हुस्सु लाग्नु तथा तुषारो मात्र पर्नाले चिसो निक्कै बढेको हो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा–७ ओलाङचुङ्गोला, ओलाङचुङ्गोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बन्दै गएको हो । याङ्मा ४ हजार २ सय मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो ।

उक्त हिमाली बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छोडेर न्यानो ठाउँ तथा शहरतिर गएका थिए । यति बेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् । पछिल्लो केही सातायता निक्कै चिसो बढेको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताउनुभयो । चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

हिउँ नपरेका कारण बढी चिसो भएको ओलाङचुङ्गोलाका तेन्जिङ वालुङ पनि बताउनुहुन्छ । हिउँ परेपछि मात्र मौसम खुलेर वातावरण सन्तुलित हुने र तुलनात्मक रूपमा चिसो कम हुने गर्दछ । चिसोले मानिसको दिनचर्यासँगै पशुचौपायालाई निक्कै समस्या पारिरहेको उहाँले बताउनुभयो ।

चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ । गत मंसिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न शहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ ।

यसरी बढ्दो चिसोले सिंगो जिल्लाकै जनजीवन प्रभावित बन्दै गइरहेको छ । तुलनात्मकरूपमा हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन बढी प्रभावित र कष्टकर बन्दै गएको हो । सदरमुकाम फुङ्लिङ बजारमा पनि निक्कै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ ।

मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायीले बताएका छन् । केही दिनदेखि मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ ।