छात्रा मृत्यु प्रकरणले सिरहा तनावग्रस्त

0
Shares

काठमाडौं । 

सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्राको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । सो विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराले पानी भनेर स्प्रिट खाँदा शनिबार निधन भएको थियो ।

शुक्रबार अपरान्ह पानी तिर्खा लागेर विद्यालयको पानी राख्ने कोठामा पुगेकी महराले विद्यालयकी शिक्षिकासँग पानी माग्दा टेवलमा पानीको बोटल रहेकाले पानी खान निर्देशन दिएकी थिइन् ।

शिक्षिका अम्बिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । महिनावारी भएर पेट दुखेपछि छात्राले विद्यालयमा औषधि र पानी मागेकी थिइन् ।

टेबलमा रहेको बोटल खोलेर महराले पानी भनेर खाँदा ह्वाइट बोर्ड सफा गर्न राखिएको स्प्रिट खाँदा बिरामी परेकी महरालाई स्कुल प्रशासनले अस्पताल लैजानुको सट्टा घरबाट अभिभावक बोलाएर घर पठाएको थियो ।
अभिभावकले पनि आफ्नो छोरीलाई अस्पताल लैजानुको सट्टा घरमा नै लगेर राखेका थिए ।

शुक्रबार मध्यरातबाट छटपटाएकी महरालाई शनिबार मात्रै अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा महराको निधन भएपछि आइतबार बिहानदेखि विद्यार्थीले स्कुल तोडफोड गरेका थिए ।

स्कुलले लापरबाही गरेका कारण महराको मृत्यु भएको भन्दै विद्यार्थीले गरेको आन्दोलनमा स्थानीयले राजनीतिक रूप दिएपछि स्थिति तनावग्रस्त बन्दै गएको थियो ।आन्दोलनकारीले स्कुल बसमा आगजनी गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिनुभयो ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालय मिर्चैयामा समेत आक्रमण गर्दा ७ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेकोे एसपी तिमिल्सिनाले जानकारी दिनुभयो ।

एसपी तिमिल्सिनाले आन्दोलनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरी प्रहरीको सवारीसाधन र कारबाहीको लागि प्रहरी कार्यालयमा राखिएको गाडीमाथि समेत आक्रमण गरी क्षति पु-याएको उहाँले जानकारी दिनुभयो ।

अहिले स्थिति नियन्त्रणमा नै रहेको र घटनाको बारेमा छानबिन गर्न स्थानीय प्रशासनले समिति बनाउने तयारी गरेको छ । स्थानीय प्रशासनले राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका थिए । शव पोस्टमार्टमका लागि सिरहा अस्पतालमा लगिएको छ । शिक्षिकामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।